८ वैशाख २०८१ शनिबार
राजनीति

सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म बन्द गरौँः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रश्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन्।  

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज (मंगलबार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताएका हुन्।

उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताए। उनले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताए। महामन्त्री शर्माले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रश्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताए। उनले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रश्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताउनु भयो। महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पारे। उनले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाए। उनले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा आफू विश्वस्त रहेको पनि बताए। उनले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रश्तावित गर्नेमा विश्वस्त हुन आग्रह गरे।  

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ। उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन्। कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा शुरु भएको हो। उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन्। यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ। उहाँको सम्मानजनक बहिर्गमन हुनेछ। यदी उहाँले जनजातीबाट प्रकाशमान सिंह, प्रतिष्पर्धी डा। शेखर कोईराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधी, बिपीको छोरालाई दिन्छु भनेर डा। शशांक कोईराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन्। प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजि छ, त्यो भन्दा धेरै खोजि देशलाई अभिभावकको छ।’

महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताए। उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताए। उनले अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आएपनि नेपाली काँग्रेसले शंकाको रुपमा नहेरेको बताए। उनले नेकपा (माओवादी केन्द्र) ले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने बताए।  

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पारे। उनले श्रमीकको बीमा अभियानका नाममा राष्ट्रव्यापी बीमा अभियान चलाउन जरुरी रहेको बताए।  

प्रकाशित: ५ पुस २०७९ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App