coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

४२८५ जनाको धरौटी जफत

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन्।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १ हजार ७७२ पुरुष र १८९ महिलासहित १ हजार ९६१ तथा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक अन्यसहित २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी ७६.०४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत सदर मतको १० प्रतिशतभन्दा कम पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदा १० हजार र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदा ५ हजार रूपैयाँ धरौटी राख्नुपर्ने कानुनी व्यवस्था छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा कुल धरौटी रकममा ५० प्रतिशत छुट हुन्छ।

प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १६५ सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी २ हजार ४११ र सातवटै प्रदेशसभाका ३३० सिटका लागि ३ हजार २२४ जनाले उम्मेदवारी दिएका थिए।

समानुपातिक निर्वाचनतर्फ कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरे दलले राखेको धरौटी रकम जफत हुन्छ। प्रमुख आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूची पेस गरेका ४७ मध्ये ४० वटा दल र प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा ३०, मधेसमा २६, वाग्मतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ वटा दलको धरौटी रकम जफत भएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ। यो व्यवस्थाबमोजिम यसपटक सातवटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचनतर्फ कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी प्राप्त गर्ने दलबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। यो व्यवस्थाअनुसार प्रदेश १ मा ६, मधेसमा १०, वाग्मतीमा सात, गण्डकीमा सात, लुम्बिनीमा १०, कर्णालीमा ६ र सुदूरपश्चिममा ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्रदेशसभामा सिट पाएका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताए। प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ४ लाख ८७ हजार ९ सय ५८ मत सदर भएको छ।

त्यस्तै प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) जनाले मतदान गरेकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको आयोगले जनाएको छ। प्रतिनिधिासभा समानुपातिकतर्फ बदर मत ५.०९ प्रतिशत छ।

त्यस्तै प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १ करोड १० लाख ३४ हजार ५ सय (६१.३६ प्रतिशत) ले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएको छ। प्रदेशसभा प्रत्यक्षतर्फ बदर मत ४.०७ प्रतिशत छ। प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ १ करोड १० लाख २८ हजार ३ सय ७६ (६१.३१ प्रतिशत) जना मतदानमा सहभागी भएका थिए। जसमध्ये १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ। प्रदेशसभा समानुपातिकतर्फ ६.५५ प्रतिशत मत बदर भएको छ।

आयोगको प्रतिवेदनअनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० गरी ८ सय २५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ १ सय ८४ पुरुष (६६.९० प्रतिशत) र ९१ महिला (३३.१० प्रतिशत) तथा प्रदेशसभातर्फ ३ सय ५० पुरुष (६३.६४ प्रतिशत) र २ सय महिला (३६.३६ प्रतिशत) निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्ष निर्वाचनमा ६१ वटा र समानुपातिकमा ४७ वटा दल सहभागी भएको आयोगले जनाएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ सय २५ महिला र २ हजार १ सय ८६ पुरुष गरी २ हजार ४ सय ११ जना उम्मेदवार थिए। प्रतिनिधिसभा समानुपातिकतर्फ १ हजार १ सय ८७ महिला र १ हजार १२ पुरुष गरी २ हजार १ सय ९९ उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।

त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचनमा २ सय ८० महिला, २ हजार ९ सय ४३ पुरुष र एक अन्य गरी ३ हजार २ सय २४ जना उम्मेदवार थिए। प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ १ हजार ५ सय ११ महिला र २ हजार १ सय ९७ पुरुष गरी ३ हजार ७ सय ८ उम्मेदवारको अन्तिम बन्दसूची कायम भएको थियो। प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ११ हजार ५ सय ४२ जना उम्मेदवार थिए।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता नामावलीमा सूचीकृत थिए। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकामध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा ५ लाख ५० हजार मतदाता थिए। निर्वाचनका लागि देशभरका १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएका थिए। अस्थायी मतदातालाई प्रतिनिधिसभा समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको थियो। यसका लागि १ सय ४१ अस्थायी मतदानस्थल कायम गरिएका थिए।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम निर्वाचनको अन्तिम नतिजा प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सात प्रदेशका प्रमुखहरूलाई बुझाउने कार्यक्रम तय भएको आयोगले जनाएको छ। निर्वाचित सदस्यहरूलाई पुस ३ गते प्रमाणपत्र वितरण गरी नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५ सय ५३ र दुईवटा अन्तर्राष्ट्रिय संस्थाका १२ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गरेको जनाएको छ। त्यस्तै भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेको आयोगले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७९ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App