७ वैशाख २०८१ शुक्रबार
राजनीति

किसानलाई तत्काल सहज रुपमा मल उपलब्ध गराउनू: सांसद दोङ

काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले गोदाममा मल स्टक नराखी तत्काल सहज रुपमा किसानलाई वितरण गर्न निर्देशन दिएका छन्।  

कृषि सामग्री लिमिटेड धुलिखेलमा पुगेर उनले शाखा प्रबन्धक वासुदेव शर्मालाई किसानहरुले बाली लगाउने बेलामा रासायनिक मल नपाएको व्यापक गुनासो आएको भन्दै किसानलाई सहज रुपमा मल वितरणका लागि निर्देशन दिएका हुन्। ‘मैले चुनावी अभियानको क्रममा नेताहरुले मल दिन सकेनन् भन्ने गुनासो सुने, अहिले पनि मलाई कृषकले मलको व्यवस्थापन गर्नुपर्यो भनेर फोन गरिरहनुभएको छ’ उनले भने, ‘गोदाममा मल स्टक नराख्नुहोला, के प्रक्रिया मिलाउनुपर्ने छ भने मिलाएर कृषकको हातमा सहज रुपमा पुग्नेगरी अविलम्ब मल वितरण गर्नुस्।’

सांसद दोङले आवश्यक मलको प्रबन्धका लागि आफूले कहाँ गएर के भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसका लागि सदैव आफू तयार रहेको समेत बताए। ‘तपाईहरुसँग हातमा हात मिलाएर आवश्यक मलको प्रबन्ध गर्न मैले कहाँ पुगेर के भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसका लागि म जतिबेला पनि तयार छु, तर कुनै पनि शर्तमा जनतालाई मलको व्यवस्थापन हुनुपर्यो’ उनले भने।

मल अभावको विषयमा जानकारी गराउँदै शाखा प्रबन्धक शर्माले सरकारले समयमै ध्यान नदिँदा किसानले मल नपाएको गुनासो गरे। गोदाममा स्टक देखिएको मल स्थानीय तहको कोटाअनुसार वितरण गर्ने उनको भनाई थियो।  

दोङले भने मल कोटाको आधारमा नभई कृषकको आवश्यकताको आधारमा वितरण गर्न सुझाव दिए। ‘स्टक भएको मल फलानो पालिकाको कोटाको हो भनेर राखिराख्न जरुरी छैन, यदि त्यहाँ आवश्यकता छैन भने आवश्यक भएको ठाउँमा दिने र आवश्यकता परेको बेला सम्बन्धित स्थानीय तहलाई दिनेगरी तयारी गरौँ’ उनले भने।

प्रकाशित: २१ मंसिर २०७९ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App