६ वैशाख २०८१ बिहीबार
राजनीति

सकियो मतगणना

यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको जानकारी गराएको हो। मतगणना सकिएसँगै आयोगले बुधबार चुनावमा भाग लिएका दलहरूले समानुपाकिततर्फ पाएको मतसहित सिट संख्याको जानकारी गराउने तयारी गरेको छ। आयोगले पठाएको जानकारीअनुसार समानुपातिकतर्फबाट सिट पाउने दलले यसअघि बुझाएको बन्दसूचीबाट निर्वाचित गर्ने सदस्यको नाम सिफारिस गर्नेछन्।  

निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ८७ राजनीतिक दल सहभागी भएका थिए भने प्रदेशसभा सदस्यमा भाग लिने दलहरूको संख्या प्रदेशअनुसार फरकफरक रहेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानका लागि २ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। तीमध्ये महिला २२५ जना रहेको आयोगले जनाएको छ। त्यस्तै प्रत्यक्षतर्फ १२ दलका प्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी प्रतिनिधिसभामा नयाँ दलका रूपमा उदाएका छन्। गणतन्त्र स्थापना भएको झन्डै दुई दशक हुन लाग्दा पनि राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो निर्वाचनबाट थप शक्ति आर्जन गरेको छ।

प्रत्यक्षतर्फको पछिल्लो परिणामबाट नेपाली कांग्रेस ५७ सिटसहित पहिलो दल बनेको छ। एमाले ४४, माओवादी केन्द्र ३२ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले १० सिट जितेका छन्। रास्वपा, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) ले ७/७ सिट जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४, नागरिक उन्मुक्तिले ३, स्वतन्त्र उम्मेदवारले ५ तथा जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेका छन्। जसमध्ये जम्मा ९ जना महिला मात्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सातै प्रदेश गरी ३३० सदस्यका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ ३ हजार २२४ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा कांग्रेसले १११ स्थान जितेको छ। चारवटा प्रदेशमा कांग्रेस पहिलो दल बने पनि प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा भने एमाले ठुलो बन्न पुगेको छ। एमालेले प्रदेशसभातर्फ ९१ स्थानको परिणाम आफ्नो पक्षमा पारेको छ।  

११ राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र सम्मेदवारले पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको प्रदेशसभामा माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा रहेको छ। उसले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ५३ सिट जितेको छ। नेकपा एसले १६, राप्रपाले ११, लोसपाले ९, जसपा र नागरिक उन्मुक्ति पार्टीले ७/७ का साथै हाम्रो नेपाली पार्टी र नेमकिपाले १/१ सिट जितेका छन्। पार्टीले दिएको उम्मेदवारविरुद्ध विद्रोह गर्दै उम्मेदवार बनेकासहित विभिन्न १२ स्वतन्त्र उम्मेदवारले प्रदेशसभाको प्रत्यक्षतर्फ जित निकालेका छन्।

समानुपातिकमा एमाले पहिलो  

प्रत्यक्षतर्फ ४४ सिटमा सीमित एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको छ। निर्वाचनमा भाग लिएका ८७ दलमध्ये ४७ ले मात्र समानुपातिकतर्फको मत पाएको निर्वाचनमा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६४१ मत पाएको छ।  

एमालेले प्रदेशसभातर्फको समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको छ। मधेस प्रदेशबाहेक सबै प्रदेशको समानुपातिकतर्फ उसले धेरै मत पाएको हो। ४ लाख १४४ मतसहित मधेस प्रदेशमा भने कांग्रेस पहिलो दल बन्न पुगेको छ। अन्य प्रदेशमा दोस्रो दलका रूपमा रहेको कांग्रेसले प्रतिनिधिसभामा एमालेभन्दा झन्डै डेढ लाख मत कम पाएको छ। उसले जम्मा २७ लाख १५ हजार २२५ मत पाएको हो।  

माओवादी केन्द्र ११ लाख ७५ हजार ६८४ मतसहित तेस्रो स्थानमा छ। चुनावअघि मात्रै उदाएको रास्वपाले पनि माओवादी केन्द्रकै हाराहारीमा मत पाएको छ। पुराना दलप्रति जनताको बढ्दो आक्रोशको लाभ उठाउँदै उदाएको रास्वपा ११ लाख ३० हजार ३३४ मत प्राप्त गरी चौथो स्थानमा छ। राप्रपाले ५ लाख ८८ हजार ८४९ मत प्राप्त गर्दा जसपाले ४ लाख २१ हजार ३१३ मत पाएको छ। नयाँ दलका रूपमा मधेसबाट उदाएको जनमतले पनि ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी संसद्मा राष्ट्रिय दल बन्न पुगेको छ। योसँगै प्रतिनिधिसभामा राष्ट्रिय दलका रूपमा सात दलले मात्र मान्यता पाउने भएका छन्।

चुक्यो एकीकृत समाजवादी  

एमालेबाट अलग भएर गठन भएको नेकपा एसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० क्षेत्रको परिणाम आफ्नो पक्षमा पारे पनि राष्ट्रिय दलको मान्यता पाउन भने चुकेको छ। देशभरिको समानुपातिकतर्फको मतगणना सकिँदा नेकपा एसले जम्मा २ लाख ९८ हजार ३९१ मत पाएको छ। समानुपातिकतर्फ सिट लिन र राष्ट्रिय दलको मान्यता पाउन देशभरिको सदर मतमा ३ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। नेकपा एसलाई ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउन १८ हजार ४११ मत कम भएको हो।

सदर मतको ३ प्रतिशत मत ल्याउन ३ लाख १६ हजार ८०२ मत प्राप्त गर्नुपर्ने हुन्छ। समानुपातिकतर्फ उक्त मत पाएका दलले कम्तीमा ४ सिट पाउनेछन्। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ देशभरिबाट १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको जनाएको छ। जसअनुसार समानुपातिकतर्फको ११० सिटमा एमाले सबैभन्दा धेरै ३४ पाउनेछ। कांग्रेसको ३२, नेकपा माओवादी केन्द्रको १४, रास्वपाको १३, राप्रपाको ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाउनेछन्।  

अघिल्लो निर्वाचनमा राष्ट्रिय दलको रूपमा महन्थ ठाकुर नेतृत्वको हालको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि यसपटक चुकेको छ। उसले समानुपातिकतर्फ दसौं स्थानको मत पाएको छ। यसले जम्मा १ लाख ६७ हजार ३६७ मत पाएको छ। बरु नागरिक उन्मुक्ति पार्टीले लोसपाले भन्दा बढी मत पाएको छ। उसले २ लाख ७१ हजार ७२२ मत पाएको छ। प्रत्यक्षतर्फ एक सिट जितेको नेमकिपाले ७५ हजार १६८ ल्याएको छ भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५ सय ४ मत पाएको छ।  

जनमोर्चाले पनि प्रत्यक्षतर्फ एक सिट जितेको छ। तर समानुपातिकतर्फ उसले भन्दा हाम्रो नेपाली पार्टी र मंगोल नेसनल अर्गनाइजेसनले बढी मत पाएका छन्। हाम्रो नेपाल पार्टीले ५५ हजार ७४३ र मंगोल नेसनल अर्गनाइजेसनले ४९ हजार पाएको छ।

मतगणना सकिएसँगै प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित गरेका छन्। आआफ्ना पार्टीको संसदीय दलको नेता चयन गर्दै दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका हुन्। कांग्रेस नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धनको पक्षमा संघमा स्पष्ट बहुमत आएपछि अन्य दललाई समेटेर केन्द्रीय सरकारसहित सातै प्रदेशका सरकारहरू गठन गर्ने गृहकार्य सुरु गरेका छन्। एमाले नेतृत्वमा रहेको विपक्षी गठबन्धन पनि सत्ता पक्षीय गठबन्धनमा विभाजन ल्याएर नयाँ सरकार बनाउने रणनीतिमा छ।

प्रकाशित: २१ मंसिर २०७९ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App