१७ माघ २०७९ मंगलबार
राजनीति

मन्त्री पाउने आशमा मनाङेको पार्टी प्रवेश

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)मा प्रवेश गरेका छन्। मनाङ प्रदेश सभा क्षेत्र नम्बर–(२)बाट निर्विरोध निर्वाचित मनाङे सोमबार नेकपा एसमा प्रवेश गरेका हुन्। उनलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर पार्टीमा प्रवेश गराए।

चुनाव जित्न मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई नेकपा एमाले र नेपाली कांग्रेससहितको गठबन्धनको समर्थन थियो  त्यसबेला चुनाव जितेपछि मनाङे एमाले वा कांग्रेसमा प्रवेश गर्ने हल्ला चलेको थियो । तर चुनाव जितेपछि भने मनाङेले नेकपा एस रोजे। यसको कारण एउटै छ उनलाई जसरी पनि मन्त्री बन्नु छ।

तत्कालीन नेकपा पार्टी हुँदा उनी सो पार्टीमा आफू आबद्ध भएको भन्दै सत्तापक्षीय बेञ्चमा बसे। तर नेकपा फुटेर एमाले र माओवादीमै फर्किएपछि भने उनी आफू स्वतन्त्र भएको बताउन थाले। नेकपा फुटेपछि तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा परेपछि मनाङेको भाग्य खुल्यो। माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएर संकट टार्ने प्रयास गरे।

मनाङेलाई मन्त्री बनाएर अविश्वासको प्रस्ताव फेल गराउने गुरुङको प्रयास सफल भने भएन। तर उनले फेरि ठूलो दलको हैसियतमा सरकार बनाउँदा मनाङेलाई दोश्रोपटक मन्त्री बनाए । तर त्योपनि लामो समय टिकेन। किनकी विश्वासको मत प्राप्त गर्न नसक्ने देखेपछि मनाङेले गुरुङको साथ छाडे र पाँच दलीय गठबन्धनतर्फ लागे। त्यसको उपहार स्वरुप उनी कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी सरकारमा पुनः मन्त्री बने। मनाङे अहिलेपनि गण्डकीका बहालवाला युवा तथा खेलकुदमन्त्री छन्।

तर नयाँ बन्ने सरकारमा आफू निर्णायक नहुँदा मन्त्री बन्ने अवस्था नदेखेपछि मनाङेले मन्त्री बन्न नयाँ जुक्ति लगाए। पाँच दलीय गठबन्धनको सरकार बन्ने पक्का भएपछि उनी नेकपा एसमा प्रवेश गरेर मन्त्री बन्ने लाईनमा उभिएका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७ र माओवादीको ८ सांसद भएकाले सहज बहुमत छ। तर पाँच दलीय गठबन्धनमा शक्ति बाँडफाँट हुँदा नेकपा एसले एउटा मन्त्रालय पाउने निश्चित छ। गण्डकीमा नेकपा एसले दुई क्षेत्रमा उम्मेदवारी दिएपनि एउटामा हार बेहोर्‍यो भने अर्कोमा उम्मेदवारी निस्कृय पारेसँगै एउटा पनि सांसद छैन। नेकपा एसको सांसद नभएको तर सत्ता भाग पाउने देखेपछि मन्त्री बन्ने लोभमा उनी नेकपा एस प्रवेश गरेको अहिले विश्लेषण हुन थालेको छ।

पाँच दलीय गठबन्धन मात्रै होईन, भोलि गठबन्धन फुटेर एमाले–माओवादी गठजोड भएपनि मनाङे मन्त्री बन्ने पक्का छ। किनकी एमालेको २२ र माओवादीको ८ सांसद भएकाले बहुमत पुर्‍याउन मनाङेको सहारा लिनुपर्ने बाध्यता रहन्छ।

मनाङे भने मन्त्री बन्न भन्दाbपनि नेकपा एस र आफ्नो बिचार मिलेकाले पार्टी प्रवेश गरेको बताउँछन्। पार्टी प्रवेश गरेपछि उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रदो देशमा रहेका राजनीतिक पार्टीहरुमध्ये नेकपा एसको रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केहि गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा एसमा आबद्ध हुँदै उक्त पार्टीको निर्देशन अनुरुप जनसेवामा सकृय रहने कुरा सबैमा अनुरोध गर्दछु।’

गुण्डा नाईकेको परिचय बनाएर राजनीतिमा प्रवेश गरेका मनाङेको छवी भने धुमिल छ मन्त्री बनेपछि कहिले एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङलाई कुट्ने त कहिले आफ्नै मन्त्रालयको कर्मचारी कुट्ने, अनि कहिले स्वकीय सचिवलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिएर मनाङे विवादित बनेका थिए।

प्रकाशित: २० मंसिर २०७९ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App