७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

तनावमा किशोर-किशोरी र बालबालिका

पहिला किशोर-किशोरी तथा बालबालिकामा आफ्नै प्रकारको तनाव हुन्थ्यो। यसले अनेक समस्या निम्त्याउँथ्यो तर प्रायः पहिचान हुने अवस्था हुन्थेन। अहिलेका बालबालिका तथा किशोर-किशोरीमा तनाव बढिरहेको र यसको कारण विभिन्न मनोसमस्याको शिकार भइरहेका विज्ञ चिकित्सकहरूले औँल्याएका छन्।

तनावका कारण उनीहरूमा एन्जाइटी र डिप्रेशन बढेको सम्वन्धित चिकित्सकहरूले बताउँछन्। कान्तिवाल अस्पतालले १४ वर्ष मुनिका बालबालिकाको मानसिक उपचार सेवा दिइरहेको छ। अस्पतालको बालमानसिक रोग इकाइमा दैनिक १०-१५ जना तनावजन्य रोगसँग सम्बन्धित बालबालिका आउँछन्।

१८ वर्ष मुनिका किशोर-किशोरीलाई मानसिक सेवा प्रदान गर्ने पाटन अस्पतालमा दैनिक औसत १५-२० जना डिप्रेशन र एन्जाइटीका समस्यासहित उपचारमा आइरहेका छन्।

पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अहिलेका किशोर-किशोरीमा एन्जाइटी, डिप्रेशन, लागुऔषध सेवनको असर, धैर्यता र सामाजिक घुलमिल गर्न नसक्ने समस्या देखिएका छन्। उनीहरूले विद्यालय जान नसक्ने, नियमित काम गर्न अप्ठेरो परेपछि अभिभावकले उपचारका लागि ल्याउने गरेको मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. निराजन भट्टराई बताउँछन्। ‘ठूलो व्यक्तिमा जस्तै डिप्रेशन र एन्जाइटी बालबालिकामा पनि देखिन्छ,’ डा. भट्टराईले भने।

चिकित्सकको अनुसार एन्जाइटी, डिप्रेशन, ओडिडी, बानी-व्यवहार र ध्यान दिन नसक्ने समस्या देखिन्छ। जेनजी प्रदर्शनपछि ती समस्याहरू पुनः बढेर उपचारमा पुगेका छन्। मानसिक रोग भएका बालबालिका र किशोर-किशोरीमध्ये ६० प्रतिशत यस्तो समस्यासँग सम्बन्धित छन्।

बालबालिका तथा किशोर-किशोरीमा डिप्रेशन र एन्जाइटी जस्ता तनावजन्य रोग पहिले पनि थिए, तर पछिल्लो समय उपचार सेवाको पहुँच पुगेपछि बढी मात्रामा पहिचान हुन थालेको कान्तिवाल अस्पताल बालबालिका मानसिक रोग विभागका प्रमुख डा. अरुण कुँवर बताउँछन्। ‘पहिला पनि बालबालिकामा यस्तो थियो, अहिले पनि छ,’ उनले भने।

एन्जाइटी र डिप्रेशन बढेसँगै बालबालिकामा जटिल समस्या पनि बढेको चिकित्सक बताउँछन्। पढाइमा असफल हुने, विद्यालय जान नमान्ने, नियमित काम गर्न नसक्ने, लागुपदार्थको लतमा फस्ने र आफैंलाई हानी पुर्‍याउने क्रियाकलाप गर्ने बालबालिका उपचारमा पुग्छन्।

‘पछिल्लो समय नेपाल प्रहरीको तथ्यांकले बालबालिकामा आत्महत्याको दर बढेको देखाउँछ, यसको मुख्य कारण मनोरोग हो,’ मानसिक अस्पतालका मनोचिकित्सक डा. अधिकारीले बताए। नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सात हजार १९४ जनाले आत्महत्या गरेका थिए।

यस्तो मानसिक समस्यामा पर्ने बालबालिका र किशोर-किशोरीमा एकल परिवारमा बस्ने बालबालिका, परिवार तथा विद्यालयमा उपेक्षामा परेका बालबालिका, परिवारमा निरन्तर झगडा हुने घरका बालबालिका, अभिभावकले मादक पदार्थ सेवन गर्ने परिवारका किशोर-किशोरी र वैदेशिक रोजगारीमा गएका अभिभावकका किशोर-किशोरीमा बढी देखिएको छ।

परिवार तथा समाजको बदलिंदो संरचनाले बालबालिकाको हुर्काइ प्रक्रियामा असर पुर्‍याइरहेकोले वर्तमान बालबालिका र किशोर-किशोरीमा तनावको मुख्य कारण रहेको कान्तिवाल अस्पतालका बालमनोचिकित्सक डा. कुँवर बताउँछन्।

‘पहिला किशोर-किशोरीले स्कुल टाढा जानुपर्थ्यो, खाजा खान नपाउँथे, न्यानो लुगा नपाउँथे, अहिलेको तनाव पूर्णतः फरक छ,’ उनले भने।

वैदेशिक रोजगारीको कारण अभिभावकको समय नहुनु, सम्बन्ध विच्छेदको कारण एकल अभिभावकको भरमा हेरचाह हुनु, परिवारमा झगडा हुनु, सहरमा बालबालिकाको खेल्ने ठाउँको कमी र सामाजिक असुरक्षाका कारण बालबालिकाले घरभित्रै बस्नु पर्ने अवस्था तनावको कारण बनेको डा. कुँवरले बताए।

‘पहिला घरमा हजुरबुवा-हजुरआमाको कुरा सुन्थे, अहिले कुरा सुन्ने र सुनाउने सदस्य एकल परिवारमा छैनन्, अभिभावक पनि दिनभर काममा व्यस्त हुन्छन् या विदेशमा हुन्छन्,’ उनले थपे।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, परिवारमा अभिभावकको व्यस्तता र पर्याप्त समय नदिनु, साथीहरूको हैसियत अनुसारको कपडा, खर्च र जीवनशैलीबीचको भिन्नताले पनि किशोर-किशोरीमा तनाव उत्पन्न गर्ने डा. अधिकारीले बताए। ‘भौतिक दुनियाँ छ, जुन सबै बालबालिकाले उपभोग गर्न पाउँदैनन्,’ उनले भने।

अहिलेका बालबालिकाको शारीरिक र मानसिक विकास छिटो भएकोले प्रेम सम्बन्धमा छिटो प्रवेश र छिटै विग्रिने प्रक्रियाले पनि तनाव बढाएको डा. अधिकारीले बताए।

‘समाज छिटो अघि बढेकोले उनीहरू छिटो सबै कुरामा अपडेट हुन्छन्, तर अभिभावकले सबै इच्छा-आकांक्षा पूरा गर्न सक्दैनन्,’ उनले थपे।

डिप्रेशनमा बालबालिकामा एक्लोपन महसुस, मूल्यहीन अनुभूति, उदासी, रमाइलो नलाग्नु, विद्यालय जान नचाहनु, झडङ्ग-रिस, झगडामा पर्नेजस्ता लक्षण देखिन्छ। एन्जाइटी भएमा डर, त्रास, निन्द्रा नलाग्नु, प्यानिक अट्याक, छटपटी, मुटुको चाल बढ्नु, मन आत्तिनेजस्ता लक्षण देखिन्छ। चिकित्सकको सल्लाह अनुसार यी लक्षण देखिएमा समयमै मनोचिकित्सककोमा लैजानुपर्छ।

जोखिमबाट बचाउने उपाय

ढिला भएमा बालबालिका आफैंलाई हानी पुर्‍याउन, विद्यालय छोड्न वा आत्महत्याको प्रयास गर्न सक्छन्। जटिल अवस्थामा अभिभावक र विद्यालयले व्यवहारमा आएको परिवर्तन निगरानी गरी समयमै उपचार र मनोपरामर्श दिलाए जोखिम कम गर्न सकिन्छ।

अभिभावकले बालबालिकाको उचित माग पूरा गर्ने, विद्यालयले अध्ययनमा रुचि नहुने कारण खोजेर उपचार गर्ने, घर फर्केपछि बालबालिकालाई समय दिने, कुरा सुन्ने, घरभित्रै खेल्न मिल्ने खेलकुद खेल्ने, मोबाइल समय सीमा निर्धारण गर्ने, साथीहरूको व्यवहारमार्फत कुराकानी गर्ने उपाय अपनाएमा बालबालिकालाई तनावबाट बचाउन सकिन्छ र मानसिक स्वास्थ्यमा सुधार आउँछ।

प्रकाशित: २ माघ २०८२ १९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App