२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलाली १ मा एमालेका उम्मेदवार सहित नौ जनाको जमानत जफत

कैलाली क्षेत्र नं. १ मा मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभातर्फ नौ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन कार्यालयका अनुसार कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ।  

जमानत जफत हुने मध्ये नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल समेत रहेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत पुर्याउन सकेनन्। उनले ५ हजार ९१० मत मात्रै प्राप्त गरेका छन्। जुन कुल सदर मतको १० प्रतिशत पुग्दैन।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ लाख ६ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार १६४ ले मतदान गरेका थिए। जसमध्ये ६० हजार ८७८ मत सदर भएको थियो भने ३ हजार २८६ मत बदर भएको थियो। कुनै पनि उम्मेदवारले जमानत जोगाउनका लागि कम्तिमा ६ हजार ८७ मत ल्याउनुपर्ने हुन्छ।  

जमानत जफत हुनेमा राप्रपाका लोकेन्द्र कुँवर पनि छन्। उनले ३ हजार ६४८ मत प्राप्त गरेका छन्। त्यस्तै १ हजार ८६९ मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद जैशी ढुंगानाले समेत जमानत जोगाउन सकेनन्।  

अन्य ६ जना उम्मेदवारले जमानत गुमाउनुका साथै प्राप्त मत हजार समेत पुर्याउन सकेनन्। हजार मत पुर्याउन नसक्नेमा स्वतन्त्र उम्मेदवार ललित बहादुर थापा (३६३ मत), अर्का स्वतन्त्र उम्मेदवार विजयराज सिंह मयाल (२३० मत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोजबहादुर विश्वकर्मा (१२२ मत), नेपाल मजदुर किसान पार्टीका धनबहादुर मगर (१०७ मत), नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरी (९० मत) र तिलकबहादुर शाही (५४ मत) रहेका छन्।  

लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रामजनम चौधरीले मात्रै जमानत जोगाएका छन्। निकटतम प्रतिस्पर्धी समेत रहेका उनले १८ हजार ८१ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ अत्याधिक मत सहित विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७९ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App