२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘चुनावी प्रतिबद्धता नबिर्सिए पुग्छ’

बेनी नगरपालिका–३ भकिम्लीकी हरिदेवी र राममायाँ रोका। तस्वीर: हरिकृष्ण ।

बेनी नगरपालिका–२,ज्यामरूककोटका दृष्टिविहिन आइतबहादुर दर्जीले निर्वाचनमा गरेका प्रतिबद्धता इमान्दारीपूर्वक कार्यान्वयनको प्रतिक्षामा छन्। अहिलेसम्मको चुनावमा दर्जीलाई विभिन्न दलले दिएको चुनावी आश्वासन एउटा पनि पूरा भएको छैन। दर्जीजस्तै भकिम्लीकी ९० बर्षिया हरिदेवी रोकाले ज्यानकै जोखिम मोलेर भोट हालेपनि  वृद्धवृद्धाको समस्या पूरा नभएको गुनासो गरिन्। लौरो टेकेर जयन्ती माविको मतदान केन्द्रमा पुगेकी रोकाले वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर मतदान गर्न पुगेको बताउँदै बाँचे भने अर्को पटक पनि भोट हाल्ने मन रहेको बताइन्। ‘अहिलेसम्म भोट हाले पनि विकास देखेको छैन, हामीजस्ता बुढाबुढीको समस्या जस्ताको त्यस्तै छ’ भकिम्लीकी ८५ बर्षिया राममायाँ रोकाले भनिन्।  

उनले बिरामी हुदाँ उपचार खर्च, गाउँमै राम्रो उपचार हुने ठाउँ, समस्याहरु सबै समाधान भएमा भोट हालेको प्रयोग हुने बताउँदै अव पनि भोट खेर गए अर्कोपटक भोट हाल्न नआउने बताइन्। ‘अर्को पटक खै के हो के हो, यस पटकको पालो किन खेर फाल्ने भनेर मत दिए’ उनले भनिन्।  

चुनावमा गाउँमा पुगेकाले बृद्धबृद्धाको समस्या समाधान हुने भन्दै छिमेकी र घरपरिवारबाट सुनाउने गरेकाले वृद्धवृद्धाले समेत खुसी हँुदै मतदान गरेका थिए। ‘पहिलेपहिले भोट दिइयो केही काम लागेन केही पनि गरेनन् भन्दै वृद्धवृद्धाले मतदान केन्द्रमै आक्रोश समेत पोखेको बेनपा–२ ज्यामरुककोटका स्थानीय भिमप्रसाद पौडेलले बताए। विगतमा जस्तै यसपटक पनि जितेर गएपछि जनताको अपेक्षामाथि कुठाराघात नगरुन र आफूले निर्वाचनमा गरेका प्रतिबद्धताको इमान्दारीपूर्वक कार्यान्वयन गरुन्, भन्ने धेरैको आवाज रहेको पत्रकार शर्माको भनाई छ। ‘हामीले ठूलो भरोसा र विश्वाससहित नयाँ उम्मेदवार चुनेर पठाएका छौं। उनीहरूले पनि पुरानाले जस्तै गर्न थाले भने जनताले विश्वासका साथ दिएको भोट खेर जानेछ’ कुहुँ पैयूपाँटाकी मंगला गाउँपालिका–१, कुहुँ पैयूपाँटाकी ८४ बर्षिय मानकाजी किसानले बताए।  

उनले आफूले दिएको भोटलाई आफ्ना उम्मेदवारले दुरूपयोग नगरुन भन्ने रहेको बताए। पुरानै प्रवृत्ति दोहोरिएमा पाँच वर्षपछि अहिलेका जनप्रतिनिधिको अवस्था पनि पुरानै जस्तो हुने उनी बताउँछन्। जितेकाले काम नगरेपछि मतदाता निराश रहेकाले यसपटक जिल्लाभर मतदान केन्द्र सुनसान जस्तै देखिएको थियो। मतदानस्थलमा पुगेकामा युवा मतदाताले समेत निराशा र निस्पृहता बढ्न थालेको अवस्थामा विगतमा सत्तामा बसेकाहरूको निकम्मा र स्वार्थी चरित्रका कारण राजनीतिप्रति वितृष्णा उत्पन्न भएको बताएका थिए। जिल्लाभर पहिलोपटक मतदान गर्नेदेखि शताब्दी नजिक पुगेका मतदाताहरूको भनाई नै चुनावी प्रतिबद्धता पूरा नै मतको सम्मान रहेको बताएका थिए।

प्रकाशित: १४ मंसिर २०७९ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App