१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

धनुषामा तीन प्रतिनिधिसभा सदस्य फेरिए, एक दोहोरिए

अघिल्लो निर्वाचनमा धनुषाबाट निर्वातिच भएका चार प्रतिनिधिसभा सदस्यमा मध्ये एकले मात्रै जीत दोहोर्‍याउन सफल भएका छन्। बाँकी तीनमध्ये दुईजना धनुषाबाटै पराजित भए भने अर्का एक सर्लाहीबाट पराजय भएका छन्।

धनुषा–४ बाहेक तीनै क्षेत्रका मतदाताले यसपालि नयाँ सांसद पाएका छन्। धनुषा–१ मा जनता समाजवादी नेपालका दिपक कार्की, २ मा नेपाली कांग्रेसका रामकृष्णा यादव, ३ मा एमालेकी जुलि कुमारी महतो र ४ एमालेकै रघुबीर महासेठ पुनः निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनमा धनुषा–१ बाट निर्वाचित भएका माओवादीका मातृप्रसाद यादव यसपालि भने पराजित भएका छन्। यादवलाई जनता समाजवादी पार्टी नेपालका दिपक कार्कीले पराजित गरेका हुन्। कार्की २७ हजार ४३१ मत ल्याएर निर्वाचित हुदाँ यादवले २१ हजार ४८३ मत प्राप्त गरेका थिए। कार्कीले ६ हजार ५२ मतान्तरले यादवलाई पराजित गरेका हुन्।

०७४ सालको निर्वाचनमा यादवले कार्कीलाई झण्डै ९ हजार मतान्तरले पराजित गरेका थिए। त्यतिबेला यादवले २६ हजार ४१२ मत ल्याएर निर्वाचित भएका थिए भने कार्कीले १७ हजार २९६ मत ल्याएर पराजित भएका थिए। नवनिर्वाचित कार्की एमाले–जसपाको साझा उम्मेदवार रहेका थिए भने यादव सत्तारुढ गठबन्धनका उम्मेदवार थिए।

धनुषा– २ का सांसद पनि फेरिएका छन्। ०७४ सालमा निर्वाचित उमाशंकर अरगरियालाई हराएर यसपाली नेपाली कांग्रेस रामकृष्ण यादव निर्वाचित भएका छन्। यादवले २० हजार ११२ मत ल्याएर निर्वाचित भए भने उनको निकट प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार अरगरिया १९ हजार ९५५ मत पाए।

अरगरिया ०७४ को निर्वाचनमा प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले निर्वाचित भएका थिए। त्यतिबेला संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका अरगरियाले ३२ हजार ४४ मत ल्याएका थिए। कांग्रेसका रामकृष्णले १५ हजार ४४ मत ल्याएका थिए।

त्यस्तै धनुषा–३ का मदताताले पनि यसपालि नयाँ सांसद पाएका छन्। यहाँबाट नेकपा एमालेकी जुलि कुमारी महतो निर्वाचित भएकी छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झालाई पराजित गरी निर्वाचित भएकी हुन्। महतोले ३३ हजार ३८८ मत ल्याएर निर्वाचित हुदाँ लोसपाका झाले २३ हजार ६८६ मत ल्याएर पराजित भए।

अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट लोसपाकै राजेन्द्र महतो निर्वाचित भएका थिए। त्यतिबेला नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराएका थिए। तर यसपटक महतो सर्लाही–२ बाट उम्मेदवारी दिएपछि रौतहटबाट आएका झाले यहाँ उम्मेदवारी दिएका थिए। झा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार थिए भने जुलि जसपा–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्।

धनुषा–४ मा एमालेका सचिव रघुबीर महासेठ निर्वाचित भएका छन्। महासेठ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका हुन्। महासेठले ३२ हजार २३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार ११२ मत ल्याए। महासेठले यादवलाई जम्मा १२४ मतको मतान्तरले पराजित गरेका हुन्।

अघिल्लो निचर्वानमा पनि यिनै दुबैजनाबीच प्रतिस्पर्धा भएको थियो। ०७४ सालको निर्वाचनमा महासेठले २२ हजार ५३२ मत ल्याएर निर्वाचित हुँदा यादवले १९ हजार ९९१ मत ल्याएका थिए।

प्रकाशित: १३ मंसिर २०७९ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App