१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीको नेतृत्वमा सरकार बनाउन कसरत !

फाइल तस्बिर।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ। प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आकलन गर्दै सरकार गठनको कसरत थालेको हो। एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका छन्। एमालेले नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने सम्भावना रहेको बताइएको छ। आफूहरूको नेतृत्व स्वीकार गरेर माओवादी केन्द्र आउन चाहे ढोका खुला राखेर छलफल थाल्ने पनि एमाले नेताहरूले बताएका छन्। उनीहरूले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबारे भने केही बताएका छैनन्।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम पहल गर्ने बताइसकेका छन्। उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि दलको बहुमत नआएकाले बहुमत पुर्‍याएर अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन लागिपर्ने स्पष्ट संकेत गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा रूपन्देही २ बाट निर्वाचित पौडेलले सोमबार बिहान प्रेस चौतारी नेपालद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनका अजेन्डा कार्यान्वयन र राष्ट्रहितका लागि सबै हिसाबले एमालेको बहुमत आउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। तर बहुमत नआए पनि एमाले अध्यक्ष ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास भने गर्ने उनको भनाइ थियो। माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूलाई समेटेर सरकार बनाउने संकेत गरेका थिए।

सोमबार उपाध्यक्ष पौडेलले कसरी सरकार बनाउने भन्नेबारे केही कुरा नबताए पनि एमालेले अहिलेको सत्ता गठबन्धन भत्काएर पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना व्यक्त गरेका हुन्। एमाले उपाध्यक्ष पौडेलले चुनावका बेला प्रतिस्पर्धामा उत्रिएकै दलहरूसँग एमालेको सहकार्य हुन सक्ने बताए। ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिको अजेन्डा लिएर एमाले चुनावमा गएको हो। अजेन्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर त्यो सम्भव भएन। हामी जनादेशको सम्मान गर्छौं। बहुमत नआए पनि एमाले निष्क्रिय भएर बस्दैन, सशक्त भूमिका खेल्छ,’ उपाध्यक्ष पौडेलले भने, ‘एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगरेसम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन। त्यसकारण प्रतिस्पर्धी दलहरूसँगको सहकार्यमै ओलीको नेतृत्वमा सरकार बनाउने पहल गर्नेछ।’  

मंसिर ४ मा सम्पन्न निर्वाचनको पछिल्लो परिणामअनुसार माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ। समानुपातिक मतबाट उक्त पार्टीले १५ सिट ल्याउने दाबी गरिरहेको छ। त्यस्तै राप्रपाले सात सिट, जसपाले सात सिट प्रत्यक्षतर्फ जितेका छन्। ती दलले ‘थ्रेसहोल्ड’ पनि कटाएका छन्। ती दुवै दलले कम्तीमा १२ सिट हात पार्ने आंकलन गरिएको छ। एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था आए राप्रपा र जसपाले सहयोग गर्नेछन्। तर माओवादी केन्द्रले कांग्रेसकै सहयोगमा निर्वाचन जितेकाले सोही पार्टीसँगकै सहकार्यमा सरकार गठन गर्ने बताएको छ। त्यसका लागि माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल पनि गरिरहेका छन्। गठबन्धन कायम राखेर चुनावमा गए पनि कांग्रेसको सबै मत माओवादी र नेकपा एसलाई ट्रान्सफर नभएको भन्दै ती दुवै पार्टीले गुनासो गरिरहेको बताइएको छ। कांग्रेसले माओवादी केन्द्रलाई आलोपालो प्रधानमन्त्रीमा सुरुमै नदिने भएपछि दाहाल बिच्किएको समेत जनाइएको छ। ‘अहिलेको परिणामलाई हेर्ने हो भने माओवादीको प्रत्यक्ष र समानुपातिक गरी ३० सिट कटाउने अवस्था छ। त्यसैगरी जसपाले कम्तीमा ११ सिट, नागरिक उन्मुक्तिको तीन सिट, राप्रपाको १२ सिट र नेकपा एसको १० सिटको हिसाब निकाल्ने हो भने एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने अवस्था आउन सक्ने देखिन्छ। ‘तर त्यसका लागि सबै वामपन्थी दलका शीर्ष नेताहरूले विगतका कमजोरी सच्याउन र प्रायश्चित गर्न तयार हुनुपर्छ,’ एमाले सचिवालयका एक सदस्यले भने।

निर्वाचन सकिएलगत्तै एमाले अध्यक्ष ओलीले दाहाललाई शुभकामना दिने क्रममा आगामी दिनमा सम्भावित सहकार्यबारे छलफल भएको भन्दै प्रचार भएको थियो। यद्यपि ओलीको सचिवालयले त्यसको खण्डन गरेको थियो। तर दाहालको सचिवालयले भने सम्भावित सहकार्यबारे छलफल भएको जनाएको थियो। माओवादी केन्द्रभित्र पनि महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेताहरू एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा छन्। एमालेभित्र उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत नेताहरू पनि वामपन्थी दलहरू मिल्नुपर्ने पक्षमा छन्। एमाले सचिव योगेश भट्टराईले त एक कार्यक्रममा एमालेसँग मिल्दा माओवादी केन्द्रले ३६ सिट प्रत्यक्षमा जितेको तर अहिले १७ सिटमा खुम्चिनुपरेको बताउँदै ‘कोर्स करेक्सन’ गर्न सो पार्टीलाई आग्रह गरिसकेका छन्। तर माओवादी केन्द्रले यो विषयमा केही बताएका छैन। रौतहटबाट निर्वाचित भएलगत्तै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी दलहरूले आआफ्ना कमजोरी स्वीकार गरे सहकार्य हुन सक्ने बताएका थिए। यद्यपि उनले कसले गल्ती स्वीकार गर्ने भन्नेबारे भने स्पष्ट पारेनन्।  

सोमबार मात्रै माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्री देउवासँग भेटघाट गरी आगामी सरकार गठनबारे छलफल गरेका छन्। छलफलमा गठबन्धन कायम राख्नेबारे कुराकानी भएको उनीहरूनिकट नेताहरूले बताएका छन्। चुनावअघि अहिलेको गठबन्धन लामो समय जाने बताउँदै आएका थिए। तर इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजय भएपछि कांग्रेसको भोट नआएको भन्दै आलोचना सुरु भएको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App