१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शीर्ष नेताका विश्वासपात्र पराजित

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका प्रमुख सहयोगी र विश्वासपात्र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पराजित भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र र सहयोगीहरू पराजित भएका हुन्। पार्टीभित्र शीर्ष नेताको मन र विश्वास जित्न सफल भएका नेताहरू निर्वाचनमा जनताको मत र विश्वास जित्न भने असफल भएका हुन्।

प्रतिनिधिसभाका १५७ निर्वाचन क्षेत्रको मतगणना आइतबार साँझसम्म सकिएको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाका विश्वासपात्रमध्येका एक हुन् कृष्णप्रसाद सिटौला।

पार्टीको १३औं र १४औं महाधिवेशनमा देउवालाई सभापति बनाउन सिटौलाको महत्त्वपूर्ण भूमिका रह्यो। १३औं महाधिवेशनपछि सिटौला देउवाको सहयोगी र विश्वासपात्रका रूपमा देखिए। सभापति देउवाको मन जिते पनि यो निर्वाचनमा उनी जनताको मन जित्न असफल रहे। उनी झापा ३ बाट पराजित भएका हुन्।

सिटौला मात्र होइन, सभापति देउवाका अर्का विश्वासपात्र एवं गृहमन्त्री बालकृष्ण खाण पनि रूपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय पनि सभापति देउवाले विश्वास गर्नेमध्येकी एक हुन्। मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकी उनी पनि पराजित भइन्। सिटौला, खाण र महालक्ष्मी तीनैजनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवारले पछाडि पारेका हुन्।

सभापति देउवाका सहयोगीका रूपमा देखिएका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २, सहमहामन्त्री भीष्मराज आङ्देम्बे पाँचथर, पुष्पा भुसाल अर्घाखाँचीबाट पराजित भएका छन्। सभापति देउवानिकट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सुनसरी ४ बाट निर्वाचित हुनेमा आशंका गर्न थालिएको छ। मतगणनमा कार्कीले नै अग्रता कायम गरे पनि शनिबारदेखि गणना रोकिएको छ। सुनसरीबाट उम्मेदवार बनेका विजयकुमार गच्छदार पनि मतगणनामा पछाडि छन्।

त्यस्तै एमाले अध्यक्ष ओलीका विश्वासपात्रहरू पनि निर्वाचनमा पराजित भएका छन्। ओलीका विश्वासपात्र एवं महासचिव शंकर पोखरेल दाङ २ बाट पराजित भए। ओलीनिकट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट र उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट पराजित भए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र एवं महासचिव देवप्रसाद गुरुङ पनि निर्वाचित हुन सकेनन्।

लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका हुन्। पार्टीभित्र दाहालनिकट मानिने ऊर्जामन्त्री एवं माओवादी नेत्री पम्फा भुसाल ललितपुर ३, पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २, सचिव चक्रपाणि खनाल कपिलवस्तु १, खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाँके १ बाट पराजित भएका छन्।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता झलनाथ खनाल इलाम २ बाट पराजित भएका छन्। नेकपा एस गठन गर्दा उनले अध्यक्ष नेपाललाई साथ दिएका थिए। त्यस्तै नेकपा एसका अध्यक्ष नेपालनिकट मानिने विरोध खतिवडा मकवनापुर २, जगन्नाथ खतिवडा उदयपुर २, जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित भएका छन्।

प्रकाशित: १२ मंसिर २०७९ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App