१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङमा प्रतिनिधिसभा र प्रदेश (ख) मा गठबन्धन, (क) मा एमाले विजयी

खोटाङको मत गणना सकिएको छ। भर्खरै सकिएको मत परिणाम सार्वजनिक हुन बाँकी भए पनि गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा (माओवादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी भएका छन्।

एक मात्र क्षेत्र रहेको खोटाङमा पासाङले एमालेका विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएका हुन्। माओवादीका पोलिटव्युरो सदस्य राईले ३१ हजार ३ सय ५१ मत पाएर निर्वाचित हुँदा एमालेका पोलिटव्युरो सदस्य भट्टराईले २८ हजार ६ सय ८२ मत पाएका छन्।

राई प्रदेश १ का बहालवाला खानेपानी, सिंचाई तथा उर्जामन्त्रीसमेत हुन्। ०६४ को संविधानसभा चुनावसमेत जितेका राई ०७४ को चुनावमा एमाले र माओवादीबीच भएको गठबन्धनमा प्रदेशसभा सदस्य जितेका थिए। यो सहित चुनावी ‘ह्याट्रिक’ गरेका राईको प्रदेशतर्फ १ पटक र प्रतिनिधिसभातर्फ दोस्रो पटकको राजनीतिक यात्रा हो।

भट्टराई पनि ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा विजेता हुन्। खोटाङमा २ वटा निर्वाचन क्षेत्र हुँदा ०६४ मा पराजित भट्टराई ०७० मा २ नं. क्षेत्रबाट जितेका थिए भने राईले १ बाट जितेका थिए। पछिल्लो दुईवर्ष ओलीनिकट भएपछि उनी संसदीय दलको सचेतक भएका थिए। एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि खाली हुन गएको प्रमुख सचेतकमा ओलीले भट्टाईलाई नियुक्त गरेका थिए। ०७४ मा बाम गठबन्धन हुँदा भट्टराई प्रतिनिधिसभामा र प्रदेशतर्फ  (ख) मा पासाङ तथा (ख) मा एमालेका राजन राई जितेका थिए। हाल राजन पनि प्रदेश सरकारका बलवाला सामाजिक विकास मन्त्री छन्।

प्रदेशतर्फ (क) मा एमालेका पाँचकर्ण राई (पिके) विजयी भएका छन्। गठबन्धनतर्फबाट उठेका एकीकृत समाजवादीका वीरबलकाजी राईलाई २ हजार १ सय ९२ मतको अन्तरले पराजित गर्दै पिके प्रदेशसभा चयन भएका हुन्। उनले १३ हजार १ सय ५७ मत पाउँदा एकीकृत समाजवादीका वीरबलकाजीले ११ हजार ९ सय ६५ मत पाए। पिके यसअघि ०७० को निर्वाचनमा खोटाङ १ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए।

प्रदेश (ख) तर्फ गठबन्धनबाट उठेका काँग्रेसका भूपेन्द्र राई २ हजार १ सय ४० बढी मतले एमालेलाई पराजित गर्दै विजयी भएका छन्। उनलाई १६ हजार ४ सय ९६ मत प्राप्त भएको छ भने एमालेका रामप्रसाद दंगालले १४ हजार ३ सय ५६ मत पाएका छन्। विजेता राई काँग्रेस प्रदेश १ महामन्त्री तथा दिप्रुङचुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् भने दंगाल एमाले खोटाङका अध्यक्ष तथा तत्कालीन बतासे गाविसका पूर्व उपाध्यक्ष हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App