१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन

इलामको क्षेत्र नम्बर २ मा भइरहेको मतगणना अघि साढे ३ बजेदेखि स्थगित भएको छ। मतगणनास्थलको भित्री कोठामा गणना गरिसकिएको मतपत्र सिल नगरी राखिएको भन्दै उम्मेदवारका प्रतिनिधिले आपत्ति जनाएपछि गणना स्थगित भएको हो।  

सहमतिका लागि अहिले उम्मेदवार, दलका प्रतिनिधि र निर्वाचन प्रतिनिधिबीच बैठक बस्दैछ। मुख्य निर्वाचन अधिकृतले उनीहरूलाई बैठकमा बोलाएका छन्। अहिले क्षेत्र २ प्रतिनिधिसभाको मतगणना भइरहँदा नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काभन्दा ९ सय ६ मतान्तरले अघि छन्। नेम्बाङले १० हजार ४ सय ४० र खड्काले ९ हजार ५ सय ३४ मत ल्याएका छन्।

माङ्सेबुङ, चुलाचुली, माई नगरको वडा ६, ७, ८ र फाकफोकथुम वडा १ को गणना सकिएको छ। अब यो क्षेत्रका इलाम नगरपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाका बाँकी वडाको मतगणना हुनेछ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ। अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको छ।  

इलाम क्षेत्र १ को गणना अझै स्थगित

गएराति १२ बजेदेखि स्थगित इलाम क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन। सहमतिका लागि उम्मेदवार र दलका प्रतिनिधिसहितको बैठक बसेपनि सहमति जुट्न नसकेको हो।

मतपेटिकामा रहेको सिलको विषयमा विवाद भएपछि गणना रोकिएको छ। निर्वाचन अधिकृत राजकुमार दाहालले पुनः गणनाका लागि दलहरूबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए।

यो क्षेत्रको २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्। नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। मतगणना सूर्याेदय नगरपालिकको सभाहलमा भइरहेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App