मंसिर चार गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नजिता आउने क्रम जारी रहेको छ। प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस पहिलो स्थान रहेको छ।
हालसम्म कांग्रेसले प्रतिनिधि सभाको १३ स्थानमा जित हासिल गरेको छ। यस्तै उसले ४१ स्थानमा आफुलाई अग्रह स्थानमा राखेको छ। कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा बाट बिजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई १२ हजार ४९२ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दा ढकालले १३ हजार ४२ ल्याएका छन्।
त्यस्तै कांग्रेसका काठमाण्डौँ १ बाट प्रकाशमान सिंह, काठमाण्डौँ ३ बाट सन्तोष चालिले, काठमाण्डौँ ४ बाट गगनकुमार थापा, काठमाण्डौँ ५ बाट प्रदिप पौडेल, काठमाण्डौँ १०बाट राजेन्द्र केसी निर्वाचित भएका छन्। त्यसैगरी कांग्रेसबाट उम्मेदवारी दिएका मुस्ताङ १ मा योगेश गौचन, रसुवा १ मा मोहन आचार्य, मनाङ १ मा टेकबहादुर गुरुङ, ललितपुर १ मा उदयशम्शेर जवरा, सुर्खेत २ मा हृदयराम थानी, तनहुँ २ मा शंकर भण्डारी र पर्सा ४ मा रमेश रिजाल विजयी भएका छन्।
यस्तै कांग्रेसलाई पछ्याउँदै एमालेले प्रतिनिधि सभाको ४ स्थानमा विजयी भएको छ। एमालेका गोकर्ण विष्ट गुल्मी २ बाट निर्वाचित भएका छन्। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रिलाई पराजित गरेका हुन्। उनले झाँक्रिलाई २ हजार ३५ मतले पराजित गरेका छन्। त्यस्तै काठमाण्डौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझि र ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी भएका छन्। एमाले देशभर ४० स्थानमा अगाडि रहेको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जित हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सविता गौतम काठमाण्डौँ २ बाट विजयी भएकी छिन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाण्डौँ सात बाट गणेश पराजुली, काठमण्डौँ ६ मा शिशिर खनाल र काठमाण्डौँ आठमा विराज भक्त श्रेष्ठ विजयी भएका छन्। यस पार्टीले अझै ५ स्थानमा अग्रता कायमै राखेको छ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा दुई सिट जितेको छ। माओवादीका सिन्धुली २ बाट लेखनाथ दाहाल र रुकुम पूर्व १ मा पूर्णबहादुर मगर विजयी भएका छन्। जारी मतगणनामा माओवादी १५ स्थानमा अगाडि छ। त्यस्तै नेकपा एकीकृत समाजवादी अछाम १ मा विजयी भएको छ।
त्यहाँ शेरबहादुर कुँवर विजयी भएका हुन्। एकीकृत समाजवादी ७ स्थानमा आगाडि छ। राष्ट्रिय प्रजातन्त्र पाटीले बांके २ मा जितेको छ। त्यहाँबाट राप्रपाका उपाध्यक्ष धवलशंसेर राणा विजयी भएका छन्। राप्रपा ४ स्थानमा अगाडि छ। नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा जित हासिल गरेको छ। उसले २ स्थानमा अग्रता कायम राखेको छ।
राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ १ बाट विजयी भएका हुन्। उनले एमालेका सुर्य पाठकलाई पराजित गरेका हुन्। जनता समाजबादी पाटी ४, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्थानमा अगाडि रहेका छन्।
यसैबिच समानुपाति तर्फ नेकपा एमाले पहिलो स्थानमा छ। उसले हालसम्म २ लाख ४१ हजार ९९९ प्राप्त गरेको छ। नेपाली कांग्रेसले २ लाख १९ हजार ४९१ मत ल्याई दोस्रो स्थानमा रहेको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीले १ लाख १२ हजार २६१ मत ल्याएर तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रले समानुपातिकमा १ लाख ४९२ मत ल्याएको छ।
प्रकाशित: ७ मंसिर २०७९ १०:२४ बुधबार