१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रभावशाली नेताहरू नै पछाडि

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाले प्रमुख राजनीतिक दलका प्रभावशाली नेतालाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकस हुने देखिएको छ। मतगणनाको मंगलबार साँझसम्मको परिणाम हेर्दा मधेसकेन्द्रित राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई नै आफ्नो पक्षमा परिणाम ल्याउन सकस देखिएको छ।

सप्तरी २ बाट चुनावी प्रतिस्पर्धामा रहेका उपेन्द्र जनमत पार्टीका अध्यक्ष सिके राउतभन्दा निकै पछि छन्। निर्वाचनको मुखमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट अलग्गिएर एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग जसपाले चुनावी तालमेल गरेको थियो। तर त्यसका अधिकांश प्रभावशाली नेता मतगणनाको क्रममा पछि परेका छन्। पर्सा १ बाट प्रदीप यादव, सप्तरी १ बाट नवलकिशोर साह, सिरहा ४ बाट वीरेन्द्र महतो र सिरहा २ बाट राजकिशोर यादवले मात्र अग्रता कायम गरेका छन्।

मतगणना भइरहेको महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादीका अध्यक्ष ठाकुर पछि छन्। उनलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका छन्। कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले रूपन्देही ४ र शरतसिंह भण्डारीले महोत्तरी  २ मा अग्रता लिए पनि अन्य सबै उम्मेदवार पछि परेका छन्।

त्यस्तै सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसका प्रभावशाली केही नेताहरू प्रारम्भिक मतगणनामा पछि परेका छन्। तनहुँ १ बाट चुनावी प्रतिस्पर्धामा रहेका नेता रामचन्द्र पौडेललाई एमाले उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । २०७४ को निर्वाचनमा पनि पराजित पौडेल अहिले माओवादीसहितका दलहरूसँग तालमेल गरी उम्मेदवार भएका हुन्।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि जारी मतगणनामा पछि छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सिटौलालाई पछि पारेका हुन्। एमाले र राप्रपाबीचको चुनावी तालमेलका कारण अप्ठेरोमा परेका सिटौलाका लागि चुनावी परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने देखिएको छ। जारी मतगणनामा कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदार, नेता सुनिल थापा पनि पछाडि परेका छन्। गच्छदार सुनसरी ३ बाट र थापा धनकुटाबाट प्रतिस्पर्धामा छन्। उनीहरू दुवैलाई एमाले उम्मेदवारहरूले पछि पारिरहेका छन्।

त्यस्तै मतगणनामा कांग्रेसकै सहमहामन्त्रीहरू महेन्द्र यादव र उमाकान्त चौधरी पनि पछि परेका छन्। यादव धनुषा ४ र चौधरी बारा १ बाट प्रतिस्पर्धामा छन्। रूपन्देही ३ बाट उम्मेदवार भएका गृहमन्त्री बालकृष्ण खाण र सुनसरी ४ बाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि मतगणनामा पछि पारेका छन्। खाणलाई राप्रपा नेता दीपक बोहोराले पछि पारेका हुन्।

त्यस्तै, विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेका पदाधिकारीहरू पनि मतगणनामा पछि परेका छन्। झापा ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश पदाधिकारी जारी मतगणनामा पछि छन्। काठमाडौं ५ बाट चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेस उम्मेदवार प्रदीप पौडेलसँग पराजित भएका छन्। इलाम २ बाट प्रतिस्पर्धामा रहेका सुवासचन्द्र नेम्वाङ पछि छन्। उनी एमाले उपाध्यक्ष हुन्। मतगणना परिणामअनुसार नेम्वाङभन्दा कांग्रेस उम्मेदवार डम्बर खड्का अघि छन्।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन १ मा तेस्रो स्थानमा छन्। एमाले महासचिव शंकर पोखरेल पनि पछि परेका छन्। दाङ २ बाट उम्मेदवार बनेका एमालेका पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले पछाडि पारेकी छिन्।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लम्जुङमा पछि परेका छन्। सो ठाउँमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अग्रता लिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वर्षमान पुनसहित नेताले अग्रता कायम गरे पनि गिरिराजमणि पोखरेल, मातृका यादवसहितका नेता पछि छन्।

एमालेबाट अलग भएर गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट १ बाट अग्रता कायम गरे पनि अर्का नेता झलनाथ खनाल इलाम १ मा एमालेका उम्मेदवारसँग पछि परेका छन्।

मतगणनाका क्रममा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा, रामकुमारी झाँक्रीसहितका नेताहरू पनि पछि परेका छन्।

एमालेको चुनाव चिह्नमा मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले निरन्तर पछि पारेकी छिन्। एमालेकै समर्थनमा उम्मेदवार बनेका हृदयेश त्रिपाठी पनि पछि छन्। नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनेका त्रिपाठीलाई कांग्रेस उम्मेदवार विनोद चौधरीले पछि पारेका छन्।

एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेर रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालको अवस्था पनि कमजोर देखिएको छ। त्यहाँ सत्ता गठबन्धनले भुसाललाई समर्थन गरे पनि एमाले उम्मेदवार छविलाल विश्वकर्माले अग्रता कायम गरेका छन्।  

प्रकाशित: ७ मंसिर २०७९ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App