१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोरङमा बजेन घण्टी !

प्रमुख दलहरूप्रति असन्तुष्ट बनेकाहरू र युवाहरूले मंसिर ४ मा घण्टी बजाउने भन्दै देशभर अभियान चलाए। मोरङमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीलाई मतदान गर्ने अभियान चल्यो। तर, प्ररम्भीक मत परिणामले मोरङमा मुख्य दलहरूलाई  घण्टी अभियानले खासै असर पार्न सकेको देखिएको छैन। मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कतै पनि घण्टीको अग्रता छैन।  

नत घण्टीले प्रमुख दलका उमेदवारहरूलाई पछ्याउन नै सकेको छ। मोरङमा प्रत्यक्ष तर्फ घण्टीले उल्लेख्य मत ल्याउन नसके पनि समानुपाितक तर्फ धेरै मत ल्याउने आँकलन भइरहेको छ। त्यसो त मोरङमा राप्रपाको पनि निर्वाचनमा चर्चा धेरै देखिएको थियो। तर, चर्चा अनुसार राप्रपाले पनि उल्लेख्य मत प्राप्त गर्न सकेको छैन। विशेष गरी प्रतिनिधिसभातर्फ  मोरङको क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थपा निर्वाचनको प्रचार अविधिभर चर्चामा थिइन्।  

तर, निर्वाचनको मत परिणाममा उनले चर्चा भए अनुसार मत पाउन सकेको देखिएको छैन। मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शुनिल शर्माले अग्रता कायम गरिरहेका छन्। शर्मालाई नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले पछ्याइरहेका छन्।  

मोरङको क्षेत्र नम्बर ३ मा पनि नेपाली कांग्रेस र एमालेकै उम्मेदवारवीच प्रतिस्पर्धा देखिइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका सुनिल शर्माले ५ हजार ६७ मत पाएका छन् भने नेकपा एमालेका भानुभक्त ढकालले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाकी रेखा थापा १ हजार ४ सय ५२ मतकासाथ तेस्रो स्थानमा छिन्।  

क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले अग्रता कायम गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुले पछ्याइरहेका छन्। मोरङ १ मा नेकपा एमालेका घनश्याम खतिवडाले ३ हजार ८ सय ६२ मतकासाथ अग्रता कायम गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले ३ हजार ९५ मतकासाथ पछ्याइरहेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबहादुर श्रेष्ठ १ हजार ७ सय १५ मतकासाथ तेस्रो स्थनमा छन्।  यस्तै मोरङ २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता कायम गरिरहेकी छिन्। उनलाई नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले पछ्याइरहेका छन्। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी सुजाता कोइरालाले ४ हजार ३ सय ७० मत ल्याएकी छिन्। नेकपा एमालेका ऋषिकेश पोखरेलले ४ हजार ३ सय १३ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपाने ४ सय ३० मतकासाथ तेस्रो स्थानमा छन्।  

मोरङको क्षेत्रनम्बर ४ मा सत्तारुढ गठबन्धनका तर्फका नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदी अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार विनोद ढकालले पछ्याइरहेका छन्। पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले १० हजार १ सय ५७ मतकासाथ अग्रता कायम गरिरहेका छन्।  

यस्तै नेकपा एमालेका विनोद ढकालले ६ हजार ५ सय ८८ मतले पछ्याइरहेका छन्।  राप्रपाका उम्मेदवार रवि रिजाल ६ सय १२ मतकासाथ तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी ३ सय २५ मतकासाथ चौथो स्थानमा छन्। उम्मेदवार मोरङको क्षेत्रनम्बर ५ मा नेकपा एमालेका वागी स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले अग्रता कायम गरिरहेका छन्। उनलाई सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार शिवकुमार मण्डलले पछ्याइरहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उमेदवार मण्डलले ७ हजार २ सय ३६ मतकासाथ अग्रता कायम गरिरहेका छन्। सत्तारुढ गठबन्धनका उमेदवार शिवकुमार मण्डलले ४ हजार ८ सय १३ मतकासाथ पछ्याइरहेका छन्। जसपाका उमेदवार राजकुमार यादव ४ हजार ५ सय ७ मतकासाथ तेस्रो स्थानमा छन्।  राष्ट्रिय स्वतन्त्रपार्टीका प्रमोदकुमार मण्डल ४ सय ५९ मतकासाथ पाँचौ  स्थानमा छन्।  

यस्तै मोरङको क्षेत्रनम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले अग्रता कायम गरिरहेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन्। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले ३ हजार ५ सय ४४ मतकासाथ अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेका लालबाबु पण्डितले २ हजार ७ सय ६८ मतकासाथ पछ्याइरहेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान १ हजार ९४ मतकासाथ तेस्रो स्थानमा छन्। मोरङका ५ वटा क्षेत्रमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारवीच प्रतिस्पर्धा भइरहेको छ भने मोरङको एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम गरिरहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App