३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुर भ्रमणमा बालेन साह

भक्तपुर महोत्सवको अन्तिम दिन मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भक्तपुर भ्रमण गरेका छन्।

भक्तपुर नगरपालिका मेला आयोजक समितिको विशेष निमन्त्रणामा उनी यहाँ आइपुगेका हुन्। कार्य व्यस्तताका कारण उनले केही समय मात्र महोत्सव अवलोकन गरे।

उनलाई भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिका गेटमा स्वागत गर्दै मायाको चिनो प्रदान गरे।

यसैगरी महोत्सवको अन्तिम दिन नेपालस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ, चौताराको साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले भक्तपुर महोत्सव अवलोकन गरे।

भक्तपुर नगरपालिकाले आयोजना गरेको पाँच दिने भक्तपुर महोत्सव–२०८१ मा आन्तरिक पर्यटकको उल्लेखनीय घुइँचो लाग्यो। मङ्सिर २८ गतेदेखि सुरु भएको महोत्सवमा प्रत्येक दिन करिब एक लाख आन्तरिक पर्यटकको आगमन भएको नगरपालिकाले जनाएको छ।

भक्तपुरको ऐतिहासिक नगरीभित्र प्रवेश गर्ने चारै नाकाबाट सुरु हुने महोत्सवले विभिन्न झलकमार्फत आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समयको आभास नहुने गरी आकर्षण दिएको छ।

नगर प्रमुख सुनिल प्रजापतिका अनुसार, नौका बिहारदेखि यहाँका जात्रा, पर्व र परम्परालाई नजिकबाट अनुभव गर्न सकिने यो महोत्सवले भक्तपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादनको प्रवर्द्धन गरेको छ।

महोत्सवले स्वदेशी तथा विदेशी पाहुनालाई भक्तपुरको कला, संस्कृति, जीवनशैलीबारे जानकारी गराउँदै यसलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न योगदान पुर्‍याएको नगर प्रमुख प्रजापतिले बताए।

प्रकाशित: २ पुस २०८१ २१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App