आगामी फागुन २१ मा हुने निर्वाचन प्रयोजनका लागि १० लाख १६ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार यतिबेला आयोगका कर्मचारीले थपिएका मतदाताको रुजु गर्ने र दोहोरो परेका नाम हटाउने काम गरिरहेका छन्। ‘अहिले नयाँ मतदाताको नाम रुजु गर्ने र दोहोरो नाम परेको भए त्यसलाई हटाउने काम भइरहेको छ’, उनले भने, ‘अन्तिम सूची निकाल्दा सम्भवत: योभन्दा केही थोरै कम संख्या निस्कन सक्छ। हामी पुस १५ मा अन्तिम मतदाता सूची निकाल्दै छौं।’
आयोगका अनुसार २०६४ साल फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले निर्वाचनमा भाग लिन सक्ने छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए। आयोगले राष्ट्रिय परिचयपत्र विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या बढेको थियो। आयोगले मतदाता नामावलीमा नाम राख्न गत कात्तिक ३० सम्म समय दिएको थियो। पछि सात दिन थप गरिएको थियो।
मतपेटिका र कागज किन्नु नपर्ने
यसपटक आयोगले निर्वाचन प्रयोजनका लागि नयाँ मतपेटिका र मतपत्र छाप्न कागज खरिद गर्न नपर्ने भएको छ। आयोगसँग मतपेटिका र कागज पर्याप्त मौजात रहेकाले यी सामग्री यसपटक खरिद गर्न नपर्ने प्रवक्ता भट्टराईले बताए। उनका अनुसार निर्वाचन प्रयोजनका लागि ७५ हजार मतपेटिका चाहिन्छ। हाल आयोगलाई चाहिने सबै मतपेटिका आयोगसँग रहेका छन्। त्यसैले नयाँ खरिद गर्नुपर्ने छैन’, उनले भने।
भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि ५१ थरी निर्वाचन सामग्री चाहिन्छ। तीमध्ये ३७ थरी निर्वाचन सामग्री खरिद आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको छ। यही पुस महिनाको अन्तिम साताबाट मतपत्र छाप्ने काम सुरु हुने भट्टराईले जानकारी गराए।
११४ दल निर्वाचनमा होमिँदै
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले निर्वाचनमा भाग लिन ११४ वटा दलले दिएको दल दर्ता निवेदन स्वीकृत गरेको छ।
आयोगका अनुसार १३ वटा दलको निवेदन दर्ता खारेज भएको छ। विभिन्न कारणले ती दलको दर्ता खारेज गरिएको हो। आयोगका अनुसार हालसम्म आयोगमा दर्ता कायम भएका दलहरूको संख्या एक सय ४३ छ। तीमध्ये एक सय १४ वटा दलले निर्वाचनमा भाग लिने भएका छन्। आयोगका अनुसार निर्वाचनमा एक सय सातवटा चुनाव चिन्ह प्रयोग हुने छ।
एक सय दुईवटा दलले छुट्टाछुट्टै निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गर्नेछन्। आयोगले विभिन्न दललाई एक सय सातवटा चुनाव चिन्ह दिएको छ। आयोगले दलहरूलाई दर्ताका लागि निवेदन दिने बेलामै चुनाव चिन्ह रोज्न सुविधा दिएको थियो। आयोगका अनुसार सकेसम्म दलहरूलाई रोजेकै चिन्ह दिइएको छ। दोहोरो दाबी भएको अवस्थामा मात्र विकल्प छान्न लगाइएको हो। पुराना पार्टीले पहिल्यै प्रयोग गरिसकेको चिन्ह पाएका छन्।
प्रकाशित: ८ पुस २०८२ ०९:१९ मंगलबार





