
ताप्लेजुङमा मंगलबारबाट ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ सुरु भएको छ। महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङको तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वर धाम पुगेर टुङ्गिने छ।



कशलयात्रामा बिभिन्न समूह,संस्था,विद्यालय र सर्वसाधारणले सहभागिता जनाएका छन्। ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक एवम् पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले कलशयात्रामा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले महोत्सव शान्ति,समृद्धि र एकताको प्रतिक हुने विश्वास लिए।



पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको भीमकाली गुल्म महोत्सवको मुख्य आयोजक रहेका छन्। हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ। प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले महोत्सवको पहिलो दिन कलशयात्राको कार्यक्रम उद्घाटन गरेका छन्।


महोत्सवलाई शान्तिको प्रतिक ठान्दै मन्त्री हाङ्गाम र नेपाली सेनाका सहायक जर्नेल कृष्ण भण्डारीले संयुक्त रुपम परेवा उडाएका थिए। महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवम् पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कलशयात्रा पछि दिउँसो बिभिन्न रचनात्मक कार्यक्रम हुने बताए।



महोत्सवकै अवसर पारेर यहाँ अन्तरपालिका स्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगिता समेत हुँदैछ। यस्तै खाद्य परिकार महोत्सव,घरेलु,कृषि तथा औद्योगिक प्रर्दशनी,बिभिन्न साँस्कृतिक कार्यक्रम समेत हुँदै छन्।



महोत्सवकै अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को १ नं प्रदेश स्तरीय भेला समेत मंगलवारबाटै सुरु हुँदैछ। फोनिजका जिल्ला अध्यक्ष दिनेश लिङखिमका अनुसार भेलामा सभागिता जनाउन फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राई सहितका फोनिजका अगुवाहरु ताप्लेजुङ आईपुगेका छन्।





प्रकाशित: ११ आश्विन २०७९ ०५:१० मंगलबार





