कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली राजमार्गलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजमार्ग राति बन्द गर्ने प्रवृत्ति तत्काल अन्त्य हुनुपर्ने बताएका हुन्।
कुनै आधिकारिक निर्णय र दस्तावेज बिना नै बेलुकी ६–७ बजेपछि राजमार्ग बन्द गरिँदै आएको प्रति उनले असन्तुष्टि जनाए।
‘कर्णाली राजमार्ग कसले रात्रिकालीन समयमा बन्द गर्ने निर्णय गरेको हो, डकुमेन्टमा भेटिँदैन। तर ६–७ बज्यो कि बन्द गरिन्छ,’ मुख्यमन्त्री कँडेलले प्रश्न गरे, ‘यसलाई २४ सै घण्टा सञ्चालन गरिनुपर्छ, कहाँ को बसेर निर्णय गर्ने हो तत्काल गर्नुपर्छ।’
कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ को उपमा दिने तर सडक र सवारी साधनको अवस्था सुधारमा ध्यान नदिई बाटो बन्द मात्र गर्ने कार्य उपयुक्त नभएको उनको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको सीमा भारतसँग नजोडिए पनि तस्करीको जालो कर्णालीसम्म फैलिएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए। उनले उत्तरतर्फ चीनसँगको सीमामा नेपालको उपस्थिति अत्यन्तै कमजोर रहेको औंल्याए।
‘दक्षिणसँग कर्णालीको सीमा जोडिएको छैन, उत्तरमा १२ महिना सुरक्षा उपस्थिति हुँदैन,’ उनले भने, ‘यसतर्फ संघीय सरकारले गम्भीर भएर सोच्नुपर्छ।’
उनले कर्णालीको विशाल भूगोलको तुलनामा पूर्वाधार र सुरक्षाकर्मीको उपस्थिति न्यून रहेको र भएको दरबन्दी पनि सुगममा मात्र केन्द्रित गरिएको गुनासो गरे।
शान्ति सुरक्षाको अवस्थाबारे बोल्दै मुख्यमन्त्री कँडेलले गत भदौ २३ र २४ गते भएको आगजनी र तोडफोडको घटनामा संलग्नलाई कारबाही नभएकोमा आक्रोश पोखे ।
आफ्नै घरमा लुटपाट र आगजनी गर्नेहरू विरुद्ध जाहेरी दिँदा पनि कारबाही नभएको उदाहरण दिँदै उनले भने, ‘जबसम्म विध्वंसमा संलग्नहरूलाई कारबाही हुँदैन, तबसम्म नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्न सक्दैनन्। म मुख्यमन्त्री हुँदा त मेरो जाहेरीमा कारबाही भएको छैन भने सर्वसाधारणको अवस्था के होला ?’
मुख्यमन्त्री कँडेलले कर्णालीका हिमाली जिल्लाहरूमा तोकिएको मितिमा चुनाव गराउन भौगोलिक कठिनाइ रहेको बताए। जाडोयाममा स्थानीय बासिन्दा बेंसी झर्ने भएकाले मतदाताको उपस्थिति कम हुने र सुरक्षा व्यवस्थापनमा पनि चुनौती रहेको उनको भनाइ छ।
‘त्यो बेला हिमाली क्षेत्रमा मानिसहरू हुँदैनन्, बैशाखमा चुनाव गर्नु पर्यो भने हेलिकप्टर चाहिन्छ,’ उनले भने, ‘दुई–तीन जना प्रहरी, चार जना म्यादी र एउटा लठ्ठीको भरमा चुनावी बुथको सुरक्षा गर्न सकिँदैन, यसतर्फ बेलैमा सोच्नु आवश्यक छ।’
प्रकाशित: ९ पुस २०८२ १०:४२ बुधबार





