९ जेष्ठ २०७९ सोमबार
फोटो फिचर

चौतारामा बन्यो सात करोडको बुद्धस्तुपा पार्क (फोटो फिचर)

तस्बिरहरु: ध्रुव/नागरिक

जिल्ला सदरमुकाम रहेको सिन्धुपाल्चोकको चौतारामा सात करोड रुपैयाँ खर्चेर भ्यूटावरसहितको बुद्धस्तुपा पार्क निर्माण गरिएको छ। 

चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नं. ६ स्थित ट्यांकी डाँडामा यो पार्क बनाएको हो। सात करोड ६ लाख रुपैयाँ खर्च भएको यो पार्कलाई नगरपालिकाले आफ्नो गौरबको योजना मानेको छ। स्तुपा, बुद्धमूर्ति, भ्यूटावर, घेराबारसहितको पार्क आकर्षक छ। दुबोको घाँसे मैदान र फूलको सजावटले पार्क चिटिक्क छ।

नगर प्रमुख अमानसिं तामाङले गौरबको आयोजनाको रुपमा आन्तरिक स्रोतबाटै पार्क निर्माण गरिएको बताए। ‘संघीयतासँगै स्थानीय तह कार्यान्वयनमाा आाएपछि सदरमुकाम ओझेल पर्‍यो। पूरानो चहलपहल र दिनचर्या फर्काउन महत्वकांक्षी बुद्धस्तुपा पार्क बनाएका हौँ,’ उनले भने। ठेक्का प्रक्रियाद्धारा गएको बैशाखबाट पार्क निर्माण थाालिएको थियो।

ठेकेदार कम्पनीले तोकिएको समयभन्दा एक महिना अगावै पार्क निर्माण सम्पन्न गरेको हो। मुख्य संरचना स्तुपा, मूर्ति, घेराबार, प्रवेशद्धारको काम सम्पन्न भए पनि पार्क सजावटको केही कार्य बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ। सदरमुकाम चौतारा नजिकै झण्डै एक हजार सात सय मिटरको उचाईममा बनेको पार्क एक हजार आठ सय ६ बर्गमिटरमा फैलिएको छ। नगरपालिकाका अनुसार बुद्धस्तुपा मात्र दुई सय नौ बर्गमिटरमा बनेको छ। स्तुपाको उचाइ ६८ फिट रहेको छ भने बुद्धमूर्ति मात्रै २९ फिट अग्लो छ।  

स्तुपाको मध्यभागलाई भ्यूटावर बनाइएको छ। यहाँबाट जुगल हिमशृंखला, सदरमुकाम चौतारा, आसपासका ग्रामीण बस्ती र आकाश खुलेका बेला काभ्रे र नगरकोटको समेत भू–भाग देख्न सकिन्छ। स्तुपाअन्तर्गत तीनवटा आकर्षक प्रवेशद्धार बनाइएका छन्। दुईटा द्धार पार्कमा छन् भने मुख्य प्रवेशद्धार टेलिकम चोकमा बनेको छ।

यो द्धारदेखि नगरकै अर्को गौरबको आयोजनाअन्तर्गत हजार सिँँढी निर्माणको काम भइरहेको छ। दुई करोड ४० लाख रुपैयाँ लागतको हजार सिँढीले पार्क जोड्ने छ। पर्यटनलाई पहिचान र उत्पादनसँग जोड्न नगरले गौरबका यी दुई आयोजनाको अवधारण अघि सारेको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र पौडेलले बताए।

बुद्धस्तुपा पार्क नजिकै चर्चित ऐतिहासिक गौराति भीमेश्वरको मन्दिर छ। यहाँ हरेक शनिबार पूजाअर्चना हुन्छ। पछिल्लो समय यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ। उपत्यकाका तीन जिल्लाबाट मन्दिर अवलोकन र पूजाआजाका लागि सयौँ तीर्थालु आउँछन्। उनीहरुलाई हजार सिँढी र पार्कले रोमाञ्चक बनाइ खुशी दिने नगरको विश्वास छ।

‘नगरकै सुकुटेस्थित सुनकोसी नदीमा साहसिक खेलका लागि हरेक शुक्रबार र शनिबार झण्डै १० हजार आगन्तुकको भीड लाग्छ। तिन्लाई चौतारामा तान्ने योजना नगरको हो,’ बुद्धपार्क र हजार सिँढी निर्माणको औचित्य प्रष्ट पार्दै नगर प्रमुख तामाङले भने। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार मात्रै यो पार्कको उद्घाटन गरेका थिए।

 

प्रकाशित: २५ चैत्र २०७८ १९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App