११ असार २०७८ शुक्रबार
फोटो फिचर

आहा ! पाटेनागी

इलाम नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्य पाटेनागी र कुइभिरको दृश्य । तस्बिरहरू : भीम/नागरिक

जति उकालो चढ्यो, उति नै रमणीय र सुन्दर ठाउँ । खुलेको आकाश, वरिपरि सबै हरियाली । वैशाखमा गर्मीको भावर उठेका बेला लेकको यात्रा सबैका लागि रोजाइमा पर्ने नै भयो । इलाम सदरमुकामबाट गाडीमा उकालो हुइँकिएर बाघखोर पुगुञ्जेल कसैलाई नौलो त थिएन तर मनोरञ्जनको ‘पारो’ चाहिँ चढिसकेको थियो ।

पहाडको टाकुरो पुग्नेबेला भेटिएको ‘एस गोलाई’ले गाडीभित्रका हाम्रो मुटु ‘मुख’मा ल्याइपुर्‍याएझैं गरायो । चालक सुशीलको छेवैमा बसेका साथी नवराज अलिअघिसम्म त निकै रौसिँदैथिए । जब, ४५ डिग्रीआसपासको उकालोमा एस आकारको गोलाई कट्न गाडीले २ नम्बर गियरमा रेस लियो, त्यतिबेला चाहिँ उनको पनि सास रोकिएछ । मास्तिर तेर्साे बाटो निस्किएपछि मुख खोले, ‘गाडी त टु ह्विल नै हो, धन्न ड्राइभर चाहिँ फोर ह्विल परेर ज्यान जोगियो ।’ सुशीलले उकालो सुरु हुनेबेलै नभनेका होइनन्, ‘स्लो कुदायो भने यो ठाडो उकालो कट्दैन, स्पिड जानुपर्छ ।’ हैट, अनि मुटु नफुलोस् पनि कसरी ।

बाघखोलबाट मेची राजमार्ग छाडेर पाटेनागी पुग्न ७ किलोमिटर कच्ची सडक छ । कच्ची सडकमा यात्रा गरुञ्जेल सबैका लागि एड्भेन्चर । अझ यही वर्ष खोलिएको नयाँ ट्र्याकमा गाडी कुद्दा चैं साँच्चीकै मज्जा आउने । नागबेली गोलाई, अनकंटार जंगलको बीचमा चढेको ठाडो उकालामा यात्रा गर्दाको आनन्द नै बेग्लै ।  

पाटेनागी यात्राको पहिलो गन्तव्य कुइभिर । सयौं मिटर अग्लो चट्टानी भिरको थाप्लामा जो नजिकै पुग्छ, उही ‘बहादुर’ । तर, त्यस्तो बहादुरी नदेखाउनु नै बुद्धिमानी सम्झेर हुनसक्छ, हत्तपत्त कोही पनि कुइभिरको टुप्पामा पुग्ने साहस गर्दैनन् । पल्लो डाँडाबाट शिरदेखि पुछारसम्म नियाल्दामात्रै पनि डर लाग्ने अग्लो पहरो । वाह ! कुइभिर । तर, पर्यटनको अथाह सम्भावना भएर पनि प्रचारप्रसार र उपयुक्त पूर्वाधार निर्माण अभावमा ओझेलिएको डाँडो ।  

कुइभिर कटेर उकालो लागेपछि करिब ५० मिटर पर देउरालीसम्म गाडी पुग्छ । अनि, सुरु हुन्छ वास्तविक पाटेनागीको पैदल यात्रा । इलाम सदरमुकामबाट सँगै गएका स्थानीय महेश थापा भन्दैथिए, ‘अब करिब आधा घण्टा हिँडेपछि पुगिन्छ पाटेनागी ।’ उनले भनेको बाटो लागेपछि पहिला आइपुग्यो– लोहाकिल डाँडो । जता हेर्‍यो, त्यतै मनमोहक । ३ हजार ६ मिटर उचाईको लोहाकिल डाँडाबाट इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वीपहाडका दर्जनौं ठाउँ नजिकै देखिए । मौसम खुलेका बेला उत्तरतिर दर्जनौं हिमाल र हिमशृंखला उत्तिकै चित्ताकर्षक ।

पारिपट्टि पौवाभञ्ज्याङ, सिलौटी र सुकेपोखरीका दृश्यले त लोभ्याएकै थिए, कुनै विकसित सहरझैं लाग्ने पाँचथरको रानीडाँडा गाउँले मन लठ्यायो । साथी प्रकाशले शम्भु राईको गीत सम्झिए– हे कान्छी रानीटारको डाँडैडाँडा.... । अनि, संगै गएका अरू साथी पछुताउँदैथिए–आहा ! इलामबाट यति नजिकै भएर पनि किन अहिलेसम्म यहाँ आइपुगिएनछ  ? पाटेनागी व्यवस्थापनमा नवराजले अवधारणा सुनाइहाले, ‘अझ यहाँका डाँडाकाँडाको चुली–चुली भएर वरदेखि परैसम्म चीनको ग्रेटवालझैं दुवैपट्टि पर्खाल लगाएर पदमार्ग बनाउँदा कस्तो देखिन्थ्यो होला !’ आवाज भुइँमा खस्न नपाउँदै वातावरणप्रेमी पत्रकार सोम सुनवार जंगिए, ‘बनाउन त बनाऊ तर यो ठाउँमा एक चिम्टी सिमेन्ट चैं नमुछ्नू नि !’ सुनुवारको आशय थियो– अर्गानिक पाटेनागीलाई वातावरण बिगारेर कृत्रिम बनाउनु हुँदैन ।

गुराँस, कटुस, क्यामुना, झिगाने, चुथ्रो, फलामे र अँगेरीका रूख पहिल्याउँदै अघि लागे १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगर । लोहाकिलबाट पाटेनागीको उकालो चढेर फर्किंदासम्म उनी आफैं दर्जनौं बोट–बिरुवा अरूलाई चिनाउँदैथिए । इलाम नै घर भएकाले हुनसक्छ, मन्त्री मगरले नचिनेका बोट–बिरुवा यहाँ कमै रहेछन् । र, जुन बोट आफूलाई नौलो लाग्छ, त्यसको नाम अरूसँग सोधीखोजी पनि गरिहाल्थे ।

लोहाकिलबाट पाटेनागी डाँडो हातैले छुन सकिनेजस्तो नजिकै देखिन्छ । तर, हिँडेर पुग्न चाहिँ आधा घण्टाजति लाग्ने । पाँचथरपट्टिबाट भर्खरै ल्याइपुर्‍याएको पदमार्गको सोलिङ टाढाबाट हेर्दा राम्रो देखिएपनि उबडखाबड भएकाले हिँड्न असजिलो । केही ठाउँमा ढुंगा नै उक्किइसकेका । उक्किएर झरेका ढुंगा मन्त्री मगरले आफैं दुई हातले उठाएर सोलिङमा मिलाउँदैगरेको दृश्य अरूका लागि अझ अनौठो बनिदियो । बोलीपिच्छे हासोठट्टा गरिरहेका मन्त्रीलाई सँगै हिँडिरहेका अरूले ढुंगा मिलाउन सघाए ।

पाटेनागी डाँडो निकै रमाइलो ठाउँ । इलामकै पर्यटकीयस्थलहरू सन्दकपुर र छिन्टापु डाँडाबाहेक सबैजसो भाग तल–तल देखिए । सानातिना बुट्यानबाहेक हजारौं रोपनी खुला र सुन्दर चौर । इलाम नगरपालिका–३ मा पर्ने यो डाँडो नगरकै सबैभन्दा अग्लो (३ हजार ४२ मिटर) भू–भाग हो । यही डाँडालाई लक्षित गरी नगरले नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्राथमिकतासाथ पूर्वाधार विकास गर्दैछ । नजिकैको थामडाँडा धार्मिक र ऐतिहासिकस्थल । थामडाँडाका ठूला ढुंगामा देखिने सर्पलगायत विभिन्न जीवजन्तुको आकृतिले यहाँ पुग्नेको मन लोभ्याउँछ र अचम्भित बनाउँछ । 

इलाम र पाँचथरको सीमामा पर्ने पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न दुवै जिल्लाले कसरत गरिरहेका छन् । दुवैपट्टिबाट यो भेगसम्म पुग्ने सडक विस्तार हुँदैछ । खुला चरिचरनका रूपमा रहेको पाटेनागी संरक्षणका लागि अहिले वन्यजन्तु, बोटबिरुवा र जडीबुटी संरक्षणको प्रयास भइरहेको पाटेनागी पर्यटन समिति अध्यक्ष डिल्लीप्रसाद राई बताउँछन् । ‘यहाँ दुर्लभ रेडपान्डा, बाँदर, बँदेल, थार, घोरल, भालुलगायतका वन्यजन्तु पाइन्छन्,’ उनी भन्छन्, ‘संवेदनशील वन र वातावरण जोगाएर पर्यटन पूर्वाधार विकास गर्न लागिपरेका छौं ।’ उनले यहाँसम्म आउन मेची राजमार्गको बाघखोरबाट ७ किलोमिटर सडक खनिएको, मानिस बस्नलाई टहरा बनाएको, पैदलमार्गमा सोलिङ गरेको र दुईटा चर्पीसमेत निर्माण गरिसकेको बताए । ‘यहाँ आएका बेला पानी आयो वा हावाहुरी चल्यो भने सुरक्षित रहन टहरा बनाइएको छ,’ उनले भने, ‘पर्यटककै लागि अलि तलका गाउँमा होमस्टे व्यवस्था गर्ने तयारी हुँदैछ ।’ 

 मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमै पर्ने पाटेनागीको पर्यटकीय पूर्वाधार विकासमा प्रदेश सरकारले पनि काम गरिरहेको बताए । ‘पाटेनागी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ,’ उनले भने, ‘पौवाभञ्ज्याङदेखि पाटेनागी हुँदै सन्दकपुरसम्म जाने पर्यटकीय पदमार्ग बनाउन अध्ययन भएको छ ।’ मन्त्री मगरले पाटेनागीसहित यो क्षेत्रका दिदी–बहिनी झरना, कुइभिर, छिन्टापु, सन्दकपुर, साधुटार, सिलौटीलगायत गन्तव्यको प्याकेज नै बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । ‘स्थानीय तहले यो क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण प्रयास गरिरहेका छन्,’ उनले भने, ‘त्यसबाहेक के आवश्यक पर्छ, प्रदेश सरकारले पनि सहयोग गर्छ ।’

प्रकाशित: १५ वैशाख २०७८ १९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App