अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) को जोखिम स्तर घटाएर ‘लेभल २ बढ्दो सावधानी अपनाउनुहोस्’ कायम गरेको छ।
नयाँ अद्यावधिकअनुसार सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ। तर, विशेषगरी शहरी क्षेत्रमा अचानक प्रदर्शन र स्थानीय अशान्ति पुनः हुन सक्ने जोखिम अझै रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ।
स्वास्थ्य सेवाका क्षेत्रमा नेपालमा सामान्य तथा आपतकालीन चिकित्सा सेवा सीमित क्षमताको रहेको सूचनामा उल्लेख छ । तर गम्भीर उपचारका लागि विदेश जानुपर्ने सम्भावना भएकाले यात्रा बीमा गर्न पनि सिफारिस गरिएको छ। त्यस्तै, नेपालमा भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम कायम रहेको उल्लेख गर्दै मनसुनका बेला यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।
अमेरिकाले आफ्ना नागरिकलाई भीडभाडबाट टाढा रहन, स्थानीय प्रशासनकाे निर्देशन पालना गर्न, आवश्यक औषधि साथमा राख्न र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन सुझाव दिएको छ।
प्रकाशित: १८ चैत्र २०८२ १४:१२ बुधबार





