१९ असार २०८३ शुक्रबार
image/svg+xml
अन्य

हाँसका चल्लाले सिकाएको ट्राफिक अनुशासन

नेपालमा अहिले ट्राफिक नियम र तोकिएको जरिवानाको विषय निकै चर्चामा छ। यसबिच सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ, जसले सबैलाई सोच्न बाध्य बनाएको छ।

घटना जापानको हो। त्यहाँको इशिकावा प्रिफेक्चरस्थित कानाजावा शहरको एक प्रहरी चौकीको पार्किङ स्थलमा भर्खरै जन्मेका ‘स्पट-बिल्ड डक’ का चल्लाहरू फेला परेका थिए। प्रहरी अधिकारीहरूले हाँसको परिवारलाई नजिकैको सिँचाइ नहरसम्म पुर्‍याए। १० वटा चल्ला र तिनका अभिभावक केही समय प्रहरी चौकी अगाडि बसे, त्यसपछि १५ जनाभन्दा बढी प्रहरी अधिकारीहरूले उनीहरूलाई सुरक्षित रूपमा डोर्‍याएका हुन्।

एनएचके वर्ल्ड-जापानका अनुसार सबैभन्दा रोचक दृश्य त तब देखियो, जब हाँसको परिवारले ट्राफिक बत्ती हरियो हुने प्रतीक्षा गर्दै बाटो पार गर्‍यो। प्रहरीको साथ पाएपछि ती चल्लाहरू करिब १०० मिटर टाढा रहेको सिँचाइ नहरमा पुगे र पानीमा हाम फाले।

प्रहरी अधिकारी सेन्डा इट्टाले हाँसहरूलाई बाटो कटाउन पाउँदा आफूलाई खुसी लागेको बताए। उनले भने, ‘उनीहरू पक्कै पनि डराएका थिए होलान्, किनकि उनीहरूका लागि सबै कुरा नयाँ थियो।’

उनले चल्लाहरू पानीमा हाम फालेको देख्दा आफूलाई काम गर्न थप हौसला मिलेको बताए। उनले थपे, ‘म चाहन्छु कि मानिसहरूले पनि हाँसका यी चल्लाहरूले जस्तै ट्राफिक नियमको पालना गरुन्।’

प्रकाशित: १९ असार २०८३ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App