१९ असार २०८३ शुक्रबार
image/svg+xml
खेल

विश्वकपबाट बाहिरिएपछि जर्मनीका प्रशिक्षकले दिए राजीनामा

जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले आफ्नो पदबाट राजीनामा दिएका छन्।

विश्वकपमा जर्मनीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि उनले पद छाड्ने निर्णय गरेका हुन्।

जर्मन फुटबल संघ (डीएफबी)ले शुक्रबार जारी गरेको विज्ञप्तिमा वरिष्ठ अधिकारीहरूसँगको छलफलपछि ३८ वर्षीय नागेल्सम्यानले पद छोड्न सहमति जनाएको उल्लेख गरेको छ। उनको सम्झौता सन् २०२८ को युरोपेली च्याम्पियनसिपसम्म रहेको थियो।

जर्मनी विश्वकपको नकआउट चरणमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको चार दिनपछि नागेल्सम्यानले राजीनामा दिएका हुन्।

जर्मनीको प्रशिक्षकका रूपमा नागेल्सम्यानले ३७ खेलमध्ये २३ खेलमा जित निकालेका थिए भने ८ खेलमा मात्र पराजय भोगेका थिए। २०२६ को विश्वकपमा टोलीले इक्वेडर र पाराग्वे जस्ता साना टोलीसँग हार ब्यहोरेको थियो।

डीएफबीका अध्यक्ष बर्न्ड न्युएन्डोर्फले नागेल्सम्यानको योगदानको प्रशंसा गर्दै उनको समर्पण, इमानदारी र जिम्मेवारीप्रति धन्यवाद व्यक्त गरेका छन्।

जर्मन सञ्चारमाध्यम बिल्डका अनुसार नागेल्सम्यानले बिहीबार फ्रान्कफर्टस्थित डीएफबी मुख्यालयमा करिब तीन घण्टा लामो बैठक गरेका थिए। बैठकपछि उनलाई करिब सात मिलियन युरोको विच्छेद प्याकेजसहित पद छोड्ने प्रस्ताव गरिएको बताइएको छ।

राजीनामापछि नागेल्सम्यानले टोलीको सफलताभन्दा ठूलो कुरा आफूका लागि केही नभएको बताए। उनले अहिले जर्मन टोलीलाई नयाँ सुरुआत आवश्यक रहेको भन्दै निर्णय सजिलो नभएको उल्लेख गरे।

उनले समर्थकसँग माफी माग्दै भने, ‘हामीले तपाईंहरूको अपेक्षा पूरा गर्न सकेनौं। विश्वकपमा थप सफलता दिलाउन नसकेकोमा म हृदयदेखि नै दुःखी छु।’

जर्मनीका लागि यो लगातार तेस्रो विश्वकप निराशाजनक रह्यो। चार पटकको विश्वकप विजेता टोली सन् २०१८ को रूस विश्वकप र २०२२ को कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने नकआउट चरणमै यात्रा टुंगियो।

सन् २०१४ मा ब्राजिलमा अर्जेन्टिनालाई हराउँदै विश्वकप जितेपछि जर्मनीले विश्वकपको नकआउट चरणमा कुनै खेल जित्न सकेको छैन।

क्लोप बन्न सक्छन् नयाँ प्रशिक्षक

नागेल्सम्यानको बहिर्गमनसँगै जर्मनीको नयाँ प्रशिक्षकका रूपमा जुर्गेन क्लोपको नाम अगाडि आएको छ। डीएफबीले क्लोपसँग प्रारम्भिक छलफल गर्ने तयारी गरिरहेको जर्मन सञ्चारमाध्यमहरूले जनाएका छन्।

लिभरपुल र बोरुसिया डर्टमुन्डका पूर्व प्रशिक्षक क्लोप हाल रेड बुलको ग्लोबल फुटबल प्रमुखका रूपमा कार्यरत छन्। यद्यपि, उनको सम्झौतामा रहेको रिलिज क्लजका कारण जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी लिन सक्ने सम्भावना रहेको बताइएको छ।

५९ वर्षीय क्लोप लोकप्रिय प्रशिक्षकमध्ये एक हुन्। उनले लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।

प्रकाशित: १९ असार २०८३ १७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App