२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्य

आज दूध सुरक्षित बनाउने वैज्ञानिक लुइस पाश्चरको जन्मजयन्ती

सूक्ष्मजीवविज्ञान र आधुनिक चिकित्साविज्ञानका संस्थापक मानिने फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको जन्म आजकै दिन (सन् १८२२ डिसेम्बर २७ मा) फ्रान्सको डोलमा भएको थियो।

मानव स्वास्थ्य, खाद्य सुरक्षा र औद्योगिक उत्पादनमा परिवर्तन ल्याएका पाश्चरको योगदान आज पनि विश्वभर चर्चाको शिखरमा छ। पाश्चर सुरुमा कलामा रुचि राख्ने व्यक्ति थिए तर बिस्तारै विज्ञानतर्फ आकर्षित भए र बेसाँको रोयल कलेजबाट कला र विज्ञानमा स्नातक गरेका थिए। स्नातकपछि उनले पेरिसको प्रतिष्ठित इकोल नर्मल सुपेरियरबाट विद्यावारिधि हासिल गरेका थिए।

स्टेरियोकेमिस्ट्रीसम्बन्धी अध्ययनपछि उनले पदार्थको संरचनात्मक विषमता नै जीवनको आधारभूत विशेषता हो भन्ने तथ्य निकालेका थिए।

साथै उनले किण्वनको कीटाणु सिद्धान्त स्थापित गर्दै किण्वन र रोग सूक्ष्मजीवहरूको क्रियाकलापबाट हुने प्रमाणित गरेका थिए। जुन अनुसन्धानले पिउने पदार्थहरू बियर, वाइन र दूध आदि बिग्रने समस्याको समाधान गरेका थिए।

पाश्चरले तरल पदार्थलाई ५०–६० डिग्री सेल्सियस तापक्रममा तताएर सूक्ष्मजीव नष्ट गर्ने विधि विकास गरेका थिए, जसलाई अहिले पाश्चराइजेसन भनिन्छ। यो प्रविधि अहिले दूध, जुस र अन्य पेय पदार्थ सुरक्षित राख्न विश्वभर अनिवार्य रूपमा प्रयोग गर्दै आएको छ। साथै उनले रेबिजविरुद्धको खोपको विकाससमेत गरेका थिए।

उनले गरेको योगदानको कदर गर्दै फ्रान्सको सर्वोच्च सम्मान लिजन अफ अनर र प्रतिष्ठित कोप्ले पदकसमेत उनलाई प्रदान गरेको थियो।

प्रकाशित: १२ पुस २०८२ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App