एक नयाँ अध्ययनले १२ वर्षको उमेरसम्ममा स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा निद्राको कमी, मोटोपना, र डिप्रेसनको जोखिम बढी हुने देखाएको छ। सोमबार ‘पेडियाट्रिक्स’ जर्नलमा प्रकाशित यस अनुसन्धानले बच्चाले जति चाँडो स्मार्टफोन पाउँछ, त्यति नै उनीहरूमा स्वास्थ्य समस्याहरू हुने जोखिम बढी हुने चेतावनी दिएको छ। फिलाडेल्फियाको बाल अस्पतालका बाल तथा किशोर मनोचिकित्सक तथा अध्ययनका प्रमुख लेखक डाक्टर रान बर्जिलेले अभिभावकहरूलाई बच्चाहरूले आफ्नो पहिलो स्मार्टफोन प्राप्त गर्ने उमेरलाई पछि सार्न सुझाव दिएका छन्।
पेन्सिलभेनिया विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय, बर्कले, र कोलम्बिय विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले किशोरावस्थामा ब्रेन संज्ञानात्मक विकास अध्ययनमा सहभागी १० हजार ५०० भन्दा बढी बालबालिकाको तथ्याङ्क विश्लेषण गरेका थिए । १२ वर्षमा स्मार्टफोन नभएका बालबालिकाको तुलनामा स्मार्टफोन भएका बालबालिकामा डिप्रेसनको जोखिम १ दशमलव ३ गुणा बढी, मोटोपनको जोखिम १ दशमलव ४ गुणा बढी अपर्याप्त निद्राको जोखिम १ दशमलव ६ गुणा बढी हुने देखाएको छ ।
बालबालिकाले जति चाँडो स्मार्टफोनको प्रयोग गर्न पायो उतिनै छिटो समस्याहरूको विकास हुने जोखिम हुने र प्रत्येक वर्ष लगभग १० प्रतिशलले जोखिम बढ्ने अध्ययनले देखाएको छ। डा बर्जिलेका अनुसार स्मार्टफोनको प्रयोगलाई प्रतिकूल स्वास्थ्य परिणामहरूसँग जोड्ने प्रमाणहरूको बढ्दो समूहलाई समर्थन गरेको छ ।
यस अध्ययनको नतिजा आफ्ना बच्चाहरूलाई चाँडै स्मार्टफोन दिने आमाबाबुलाई दोष दिनु नभएको बर्जिलेले स्पष्ट पारेका छन्। उक्त अध्ययन टोलीले बालबालिका फोनको लागि तयार छन् कि छैनन् निर्धारण गर्न आमाबाबु, बालबालिका र बाल रोग विशेषज्ञहरूको छलफल आवश्यक रहेको बताएको छ।
प्रकाशित: १७ मंसिर २०८२ ०९:४१ बुधबार





