एक नयाँ अध्ययनले घरमा धेरै बिरालो पाल्ने देशका मानिस तुलनात्मक रूपमा बढी खुसी हुने गरेको देखाएको छ।
तर बिरालोबाट मानिसमा सर्न सक्ने एक प्रकारको परजीवीको संक्रमण बढी भएका देशमा भने मानिसको खुसीको स्तर कम हुने गरेको पाइएको छ।
कुनै देशका मानिस कति खुसी छन् भन्ने कुरा त्यहाँको आम्दानी, स्वास्थ्य सेवा, जीवनस्तरलगायत विभिन्न पक्षका आधारमा मापन गरिन्छ। तर मानिसको खुसीमा घरपालुवा जनावर र परजीवीको प्रभावबारे भने कमै अध्ययन भएका छन्।
मेक्सिकोका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनमा ९३ देशका तथ्यांक हेरेर घरमा पालिने बिरालोको संख्या, मानिसको आम्दानी, कुल आर्थिक उत्पादन, स्वास्थ्य सेवामा हुने खर्च र बिरालोबाट मानिसमा सर्न सक्ने टोक्सोप्लाज्मा नामक परजीवीको संक्रमणबिचको सम्बन्ध अध्ययन गरिएको थियो।
अध्ययनमा कुनै देशमा बिरालोको संख्या धेरै भए त्यहाँका मानिसको खुसीको स्तर पनि बढी हुने गरेको पाइएको छ। यसअघि भएका अध्ययनले पनि घरपालुवा जनावर राख्दा मानिसको मानसिक र सामाजिक अवस्थामा सकारात्मक प्रभाव पर्न सक्ने देखाएका थिए।
खुसीको सूचीमा अगाडि रहेका फिनल्यान्ड, डेनमार्क र स्विडेनमा बिरालोको संख्या पनि धेरै थियो। ती देशमा १० हजार मानिस बराबर करिब एक हजार ७०० देखि दुई हजारसम्म बिरालो रहेको पाइएको छ।
तर बिरालोबाट मानिसमा सर्न सक्ने टोक्सोप्लाज्मा परजीवीको संक्रमण बढी भएका देशमा भने अवस्था फरक देखियो। परजीवीको संक्रमण जति बढी हुन्छ, त्यहाँका मानिसको खुसीको स्तर पनि त्यति नै कम हुने अध्ययनले देखाएको छ।
लेबनान, यमन, गाबोन र इथियोपियामा यो परजीवीको संक्रमण धेरै रहेको पाइएको छ। यी देशहरू खुसीको सूचीमा पनि तल्लो स्थानमा थिए। तर साउदी अरेबिया र ब्राजिल भने यसको अपवाद देखिए। ती देशमा परजीवीको संक्रमण बढी भए पनि मानिसको खुसीको स्तर तुलनात्मक रूपमा उच्च देखियो।
‘धेरै बिरालो भएका देशमा खुसीको स्तर उच्च हुने गर्छ भने टोक्सोप्लाज्मा गोन्डीको संक्रमणको जोखिम बढी भएका देशमा खुसीको स्तर कम हुने गर्छ,’ वैज्ञानिकहरूले अध्ययनमा लेखेका छन्।
तर वैज्ञानिकहरूले यसबाट बिरालो पाल्दा मानिस खुसी हुन्छन् वा परजीवीका कारण मानिस कम खुसी हुन्छन् भनेर ठोकुवा गर्न नसकिने बताएका छन्।
‘यी देशस्तरमा देखिएका सम्बन्ध मात्र हुन्। त्यसैले धेरै बिरालो हुनुले मानिसलाई खुसी बनाउँछ वा टोक्सोप्लाज्माले मानिसलाई कम खुसी बनाउँछ भनेर हामी भन्न सक्दैनौँ। तर यो सम्बन्ध थप अध्ययन गर्न लायक छ,’ उनीहरूले भनेका छन्।
उनीहरूले बिरालो पाल्ने अवस्था र मानिसको खुसीबिचको सम्बन्धमा आर्थिक अवस्था र स्वास्थ्य सेवाले पनि प्रभाव पार्न सक्ने बताएका छन्। बढी आम्दानी भएका मानिसले बिरालो पाल्ने सम्भावना बढी हुने र राम्रो स्वास्थ्य सेवाका कारण परजीवीको संक्रमण पनि कम हुन सक्ने उनीहरूको भनाइ छ।
‘यी नतिजाले सम्पत्ति, स्वास्थ्य, मानिस र जनावरबिचको सम्बन्ध तथा संक्रामक रोगजस्ता विषयलाई एकसाथ हेर्नुपर्ने देखाउँछन्,’ अनुसन्धानकर्ताहरूले लेखेका छन्।
वैज्ञानिकहरूका अनुसार मानिसको जीवनस्तर र खुसी बुझ्न आर्थिक तथा सामाजिक अवस्थासँगै जैविक र वातावरणीय पक्षलाई पनि ध्यान दिन आवश्यक देखिएको छ।
अध्ययनमा धेरै बिरालो भएका देशमा टोक्सोप्लाज्मा गोन्डीको संक्रमण बढी नदेखिएको विषयलाई पनि महत्त्वपूर्ण मानिएको छ। बरु बिरालोको संख्या र परजीवीको संक्रमणबिच उल्टो सम्बन्ध देखिएको थियो।
वैज्ञानिकहरूले मानिस, जनावर र रोगबिचको सम्बन्ध जनावरको संख्या मात्रले निर्धारण नहुने बताएका छन्। यसमा सामाजिक, आर्थिक र वातावरणीय अवस्थाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। एजेन्सी
प्रकाशित: १८ आश्विन २०८३ १७:३६ आइतबार





