आज नोभेम्बर १९ को दिन विश्व इतिहासमा धेरै महत्त्वपूर्ण घटनाहरू भएका छन्। आजको दिनमा भारतीय राजनीतिमा एक शक्तिशाली व्यक्तित्वको जन्मदेखि फुटबलको इतिहासमा एउटा ठुलो कीर्तिमान बनेको थियो भने भारतले ‘मिस वर्ल्ड’ पाएको थियो।
सन् १९१७ नोभेम्बर १९ मा भारतको चौथो प्रधानमन्त्री इन्दिरा प्रियदर्शिनी गान्धीको जन्म भएको थियो। उनी भारतकी एक मात्र महिला प्रधानमन्त्री हुनुको साथै भारतीय राजनीतिमा लामो समय बिताएकी थिइन्। इन्दिरा प्रियदर्शिनी गान्धीले १९६६ देखि १९७७ सम्म तीन पटक र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीको जन्म १९ नोभेम्बर १९१७ मा भएको थियो । उनलाई आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टोबर १९८४ उनको हत्या गरेका थिए।
त्यसै गरी आज कै दिन ब्राजिलियन फुटबल खेलाडी पेले ले आफ्नो करियरको ऐतिहासिक गोल गरेका थिए। उनले १०००औँ गोल रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भास्को दा गामा विरुद्ध सान्तोसका लागि पेनाल्टीमार्फत गरेका थिए। आजसम्म पनि फुटबलको इतिहासमा यो एउटा अविस्मरणीय कीर्तिमान मानिन्छ।
सन् १९७७ को नोभेम्बर १९ मा पोर्चुगलको मडेइरा टापु नजिकै एक हवाई दुर्घटना भएको थियो। साबोरा नजिकै अवतरण गर्ने क्रममा ताप पोर्चुगलको फ्लाइट ४२५ दुर्घटनाग्रस्त हुँदा उक्त विमानमा सवार १३१ जनाको निधन भएको थियो। यो पोर्चुगलको इतिहासमा सबैभन्दा खराब हवाई दुर्घटनामध्ये एक मानिएको छ।
नोभेम्बर १९ सन् १९९४ को दिन भारतीय सुन्दरी ऐश्वर्या रायले विश्वभरका प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘मिस वर्ल्ड’ को उपाधि जितेकी थिइन् । मुम्बईकी २१ वर्षीय ऐश्वर्या रायलाई सन् १९९३ की मिस वर्ल्ड लिसा हानाले ताज पहि¥याएकी थिइन्। ऐश्वर्याको यो जित भारतको लागि ठुलो सफलता थियो।
प्रकाशित: ३ मंसिर २०८२ ०७:१६ बुधबार





