कथा लेख्दा उनका अगाडि आएको गाउँको सम्पूर्ण दृश्य रंगमञ्चमा सम्भव थिएन। जति मञ्च सजावट भयो, त्यो कथाकार सुब्बालाई गज्जब लाग्यो। नाटकका लागि किरणले अनुमति मागे। सुब्बाले भृकुटीमण्डप बोलाएर थपघटसहितको अनुमति सजिलै दिए।
दुई महिनाअघि नाटकको रिहर्सल सुरु हुँदाताका सुब्बालाई बोलाइएको थियो। तर आमा बिरामी भएकाले गाउँ पुग्नुपर्योि। काठमाडौं ल्याएर उपचार गर्न थाले। दुःखद कुरो ७३ वर्षकी आमा बचाउन सकेनन्। आफूले लेखेको कथाको नाट्य अभ्यास हेर्न पाएनन्।
एक हप्ताअघि मात्रै नाटक हेर्ने मौका मिल्यो। उनले सोचेभन्दा राम्रो बनेछ, नाटक। यसमा केही पात्र र संवाद थपिएका छन्। नाटक हेर्दा पत्तो पाइहाले। तर, जे थपियो तर उनमा गुनासो छैन।
कोक्मा ठूले, डबले लगायतका केही पात्र नाटकमा नयाँ लागे उनलाई। प्रभु माइलाको भूमिका भने अलि बढी हो कि झैं लागेको छ। भन्छन्, 'माइलाको संवाद, भूमिका केही कम भइदिएको भए अझ गज्जब हुन्थ्यो कि!'
लिम्बुहरूको बीचमा डबले भरियामात्र एक जना आर्यन मूलका पात्र छन्। उनको संवाद ठ्याक्कै लिम्बुसँग मिलेको छ। 'लिम्बु गाउँको बाहुन–क्षेत्रीहरू सबैमा लिम्बु लबज नै हुन्छ भन्ने छैन,' कथाकार सुब्बाले भने, 'उनकै लबज राखेको भए पनि फरक पर्ने थिएन।'
उनको कथामा भरिया मरेको छैन। नाटकमा भने कथालाई दुःखमा मोडिएको छ। नाटकको पात्र कोक्मा ठूले भारी बोक्दाबोक्दै भीरबाट खसेर मृत्युवरण गर्दा दर्शक भावुक बन्न पुग्छन्। हलमा सन्नाटा छाउँछ। वर्षौंदेखि भारी बोक्दै आएको उसको कामलाई पछि सानी छोरी मनमायाले सम्हाल्छे। यो दृश्यले कथाकार सुब्बाको मन पनि निचोरिएछ। भने, 'उसलाई भरिया नै नबनाएको भए पनि हुन्थ्यो।'
किरणलाई भने नाटकमा अलि फरक गर्न मन लाग्यो। आफ्नो सिर्जना थप्न चाहे। 'कथामा देखिएको भन्दा समाजभित्र लुकेको अर्को पाटो उजागर गर्ने सोचले नै मनमायालाई स्कुल गएको नदेखाएर भारी बोक्दै गरेको देखाइएको हो,' उनी प्रस्ट पार्छन्।
कविका रूपमा परिचित सुब्बा कथा संग्रह सार्वजनिक भएपछि अझ चर्चामा रहे। पूर्वी पहाड र त्यहाँको लिम्बू संस्कृति झल्काउने कथाहरू धेरैले रुचाए पनि। अहिले त्यही कथा संग्रहभित्रका 'मनमाया' र 'प्रभु माइला' कथाको रुपान्तरणलाई नाटकमा हेर्नेहरूले पनि अझ तारिफ गरिरहेका छन्। तीन हजारभन्दा बढी बेचिएको किताबभन्दा नाटकले पाएको चर्चाले उनलाई खुसी दिएको छ। 'नाटकले तानेको दर्शक र यसको चर्चा परिचर्चाले पुस्तक १५ हजार बिकेको अनुभूति भइरहेको छ,' उनले हाँस्दै भने।
आफ्नो कथा रंगमञ्चसम्म उक्लिन पाउनुलाई ठूलो सफलता मानेका छन्, उनले। 'पुस्तकको नाम नसुनेकाहरूले पनि नाटक हेरे। मेरो नाम सुने। कथा संग्रह पनि छ है भन्ने थाहा पाए,' उनले आभार प्रकट गरे, 'कलाकारले साह्रै दुःख गरेका छन्। युवराज र किरणलाई धन्यवाद!'
लाटो पहाडमार्फत किरणले पहिलो निर्देशन अनुभव बटुलेका छन्। उनले कथा छानिसकेपछि यत्ति चर्चा पाउला भन्ने अनुमान गरेका थिएनछन्। यसले उनलाई फेरि पनि निर्देशनका लागि चुनौती र उत्साह थपेको छ।
कलाकारले पनि उत्तिकै साथ दिए। किरणले निर्मला लिम्बु (कोक्मिनी ठूली) र अंकिता राई (मनमाया) लाई रंगमञ्चमा डेब्यु गराए।
केही पात्र दोस्रोपटक मञ्चमा आएका छन्। नाटक सुरु गर्दा कलाकारले पनि उत्तिकै चुनौतीका साथ काम गरेकोमा किरण प्रफुल्ल छन्। सबै कलाकार पूर्वेली परिवेशमा हुर्किएका थिएनन्, त्यसैले उनीहरूलाई त्यहाँको जनजीवन, परिवेश र विशेषगरी लिम्बू लबजबारे धेरै जानकारी गराउनुपरेको किरण बताउँछन्।
सुरुमा उनले मञ्च सजावटका लागि निकै महŒवाकांक्षी सोच बनाएका रहेछन्। झरना र खोला छङछङ बगिरहेको दृश्य देखाउने सोच थियो। तर सम्भव भएन। तर, नाटकमा मञ्चभित्रै पानी पारेका छन्। आकाश गर्जेको, चट्याङ परेको आवाजलाई साउन्ड सिस्टमले यथार्थ बनाइदिएको छ। नाटकको बीचबीचमा सुनिने गीतसंगीतले दर्शक भावुक बन्न पुग्छन्। झुमा लिम्बुको साथमा उनैले संगीत संयोजन गरे।
मञ्च व्यवस्थापन नाटकको अर्को सफल पक्ष हो। पेन्टिङमार्फत पहाडका दृश्यलाई देखाइएको छ। ढुंगा र बाँसबाट बनाइएको गाउँको परिवेश झल्काउने बाटो, भीर, घर आँगन आकर्षक लाग्छन्। ढाक्रेहरूको कथा, संवाद, लिम्बु संस्कृति, च्याब्रुङ नाचको दृश्य जीवन्त लाग्छ। नाटकमा ढाकर प्रयोग गर्नुपर्ने भएकाले गाउँबाटै मगाए, किरणले तर बाटोमै हरायो। 'आखिर काठमाडौंमै डोको किनेर ढाकर बुन्न लगाउनुपर्यो ,' उनी सुनाउँछन्।
पाँचथर कुरुम्बामा हुर्केका उनलाई लाटो पहाडभित्रका कथाले नतान्ने कुरै
भएन। राई–लिम्बुमिश्रित संस्कृतिसँग परिचित उनलाई भरियाको जीवन नौलो लागेन। उनी थप्छन्, 'त्यो जीवन मैले देखेको/भोगेको जीवन पनि हो। म बाँदर खेदाएर, घाँस काटेर स्कुल जान्थेँ। भारी नबोके पनि नाटकमा आइरहने पहाडी बाटोसँग मित लगाएको छु। त्यहाँको दुःख चिनेको छु।'
उपेन्द्र सुब्बासँग उनको चिनजान भने पुरानै हो। नाटक गर्छु भन्नका लागि सुरुमा त उनलाई धक लागेछ। 'डरैडरमा दाइलाई सोधेको थिएँ। परिमार्जनको लागि सजिलै अनुमति दिनुभयो,' अनि त उनी दंग परिहाले।
किरणले 'कोमा,' 'मजिपालाखे,' 'यल्लो कमेडी,' 'हारजित' लगायतका नाटक खेलिसकेका छन्। थिएटरसँगै संगीतमा स्नातक सक्दैछन्। जमाना डिजिटलतिर गए पनि थिएटरतिर दर्शकको आकर्षण बढ्दो छ। तर लाटो पहाडले धेरै दर्शकको मन जित्यो। पटकपटक नाटक समापनको मिति लम्ब्याउनुले यसलाई पुष्टि गर्छ। धेरै मान्छे नाटक हेर्न नपाएर फर्किए, सामाजिक सञ्जालमा समेत समय थप्न अनुरोध गरे। 'यसैले पनि समय थप गरेर ३२ गतेसम्मलाई बनाएका छौं,' नाटकलाई रुपान्तरण गरेका शिल्पी थिएटरका निर्देशकसमेत रहेका घिमिरे युवराजले भने, 'शिल्पी थिएटरमा अहिलेसम्कै उत्कृष्ट नाटक बन्यो यो।' एक महिनादेखि चलिरहेको नाटक अहिलेसम्म तीन हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।
युवराजको विचारमा दर्शकले एकैखालको नाटक मन पराउँदैनन्। फरक–फरक जीवनशैली, फरक परिवेश, मञ्च साजसज्जामा पनि ध्यान दिन्छन्। तर, यस्तै नाटक राम्रो हुन्छ भन्ने मापदण्ड गर्न गाह्रो हुने बताउँछन्, उनी। पूर्वी परिवेश भएकाले नाटकलाई धरान र विराटनगरमा देखाउने योजना रहेको समेत उनले जानकारी दिए।
प्रकाशित: २९ श्रावण २०७२ २१:५६ शुक्रबार





