४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

कतिमा राम्रो सिन्धुलीगढी!

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई
कतिमा राम्रो दरबार!
हामी सानो छँदा रेडियोमा खुबै बज्थ्यो गायक कृष्णविक्रम थापाको लोकगीत। दरबार राम्रो भएकाले उनले गाए। गीत सुन्दा गढी पुगौं पुगौं जस्तो लाग्थ्यो। धेरै वर्षपछि मात्र त्यहाँ पुग्ने साइत जुर्योे।


हामी पाँच भाई देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, पवन शाक्य र म ९ साउन ०७२ का दिन त्यहाँ पुग्यौं। देवेन्द्र दाई त केहि महिना अघि काठमाडौंबाट साइकलमा एक्लै गढी आइपुगेका थिए।

वनेपा–वर्दिवास सडक खुलेपछि गढी पुग्न सजिलो छ। काठमाडौंबाट १३० किमिमा सोला भञ्ज्याङ। त्यहिँ छ गढी प्रबेशद्वार। त्यहाँबाट २० मिनेट हिँडे गढी। हामी जीपमा भञ्ज्याङ पुगेपछि 'सिन्धुलीगढी होटल'मा खान अर्डर गर्यौं। त्यहि जीपमा गढितिर लाग्यौं। माथि गाडि पार्किङ गरेर ७ मिनेट हिँडेपछि गढी। पार्किङबाट ठाडै उकालो। सिंढी चढ्यौं।

अग्लो ठाउँमा गढी। ऐतिहासिक महत्वको। फराकिलो ठाउँ रहेछ। वरिपरि पर्खालले घेरिएको। हरियाली बीचमा गढी। बर्खाको मौसम भएकाले आकाश धुम्मिएको थियो। भुइँकुहिरोले ढाकेको। त्यसैले गढी भन्दा टाढाको दृश्य हेर्न सकेनौं।

कुनैबेला गढीमा बसेर वीर नेपालीले बेलायतीलाई हराएका थिए। वीरगाथा सुन्दै गर्वले छाती फुल्छ। विसं १८२४ मा अंग्रेजी साम्राज्य विस्तार क्रममा क्याप्टेन किनलकको नेतृत्वमा अंग्रेजी फौज काठमाडौं पस्न लागेको पत्तो पाएपछि पृथ्वीनारायण श्ााहले ११ सय गोर्खाली जवान गढीमा तैनाथ राखेका थिए।

आधुनिक हतियारले सुसज्जित अंग्रेजसँग भरुवा बन्दुध, भाला, ढुँगा मुढाका भरमा नेपालीले लडे। कात्तिकमा लडाईँ भयो। अँग्रेजतर्फ १६ सय जना मारिए। नेपाली कमाण्डर वंशु गुरुङको फौजले बाँकीलाई भगायो। त्यो विजयको दिन थियो कात्तिक २४ गते। त्यसकै सम्झनामा ०६४ सालदेखि वर्सेनी कात्तिक २४ गते नेपाल पत्रकार महासंघ सिन्धुलीले गढीमा विजय उत्सव मनाउँदै आएको छ।

त्यहाँ दुइटा गढी छन्, सानो र ठूलो। मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले १७६२ तिर गढी निर्माण गराएका थिए। जुन सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गर्योा। दुई गढी वीचमा पृथ्वीनारायणले युद्ध पछि सेना बस्न घर बनाएका थिए। विसं १९७५ मा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ ‰याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो भएको दुई तले दरबार बनाइएको थियो।

तीसको दशकमा थापाले गीत रेकर्ड गराउँदा दरबार सग्लै थियो। हामीले दरबारको भग्नावशेष मात्रै देख्यौं। सिन्धुलीगढी भने लोभलाग्दै रहेछ। विसं २०१९ सालसम्म गढीमा चहलपहल थियो। त्यहि वर्ष सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी सर्यो।। विस्तारै गढीको रौनक हराउँदै गयो। माओवादी युद्ध सुरु भएपछि ०५२ सालमा त्यहाँबाट प्रहरी चौकी पनि उठेपछि लथालिंग भयो।

हामी पुग्दा गढीको छेउमा राष्ट्रिय झण्डा फर्फराइरहेको थियो। त्यो देखेर मन आनन्दित भयो। एक हुल युवा त्यहिँ झण्डा मुन्तिर बसेर 'पिकनिक' खाँदै थियो। मदिराले मातेका युवा छाडा शब्द बोल्दै थिए। अफ्ठेरो लाग्यो हामीलाई। गढीको थाप्लोमै यसरी जाँड–रक्सी खाएर हो–हल्ला गर्न निषेध गर्नै पर्छ।

पर्यटन पूर्वाधार खाँचो छ गढीमा। खानेपानी, शौचालय र खाजा घर आबश्यक छन्। गढी क्षेत्र ३ हजार वर्ग मिटरमा फैलेको छ। त्यहाँ इको फ्रेन्डली होटल, रिसोर्ट र रेस्टुरेन्ट खोल्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्छ। जग्गा भाडामा दिनु पर्छ। त्यसो हुन सके मात्रै सिन्धुलीगढी पर्यटन धाम बन्न सक्छ।

गढिमा राम्रो सूचना बैंक बन्नु पर्छ। साथै पुराना सामाग्रि सजाएर संग्रहालय बनाउन सके राम्रो हुन्छ। धेरै काम गर्न बाँकी छ। जिविस सिन्धुलीले गढीको थाप्लोमा इतिहास झल्काउने जानकारी सहितको सूचना बोर्ड राख्न किन सकेन? त्यसका लागि त धेरै खर्च लाग्दैन। सामान्य जानकारी दिने सूचना बोर्ड, संकेत वा सूचना केन्द्र नहुँदा सबैजना अन्योलमा पर्छन।

पछिल्लो समय गढी संरक्षणको प्रयास भएको देखिन्छ। अझै धेरै काम हुन बाँकि छ। दरबार बनाउन कसैले चासो दिएको देखिएन। खण्डहर बनिसक्यो त्यो। तत्कालै जंगल बीचको दरबार पुननिर्माण गर्नु पर्छ। ठूलै बजेट चाहिन्छ। जिविसका बरिष्ठ अधिकृत सागरकुमार ढकाल सरकारसँग असन्तुष्ट छन्। 'सिन्धुलीगढीको इतिहास गौरव गर्न लायक छ', उनी भन्छन्, 'त्यसैले सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर गढी विकासमा लगानी गर्नु पर्छ।'

शीतल हुन्छ गढीमा। 'अहा मलाई हुस्सु मन पर्छ', नाकमा भुइँकुहिरोले स्पर्श गरेपछि सहयात्री पवन रमाए। गर्मी छल्न तराइका नेपाली गढीसम्म आइपुग्छन्। वनेपा–वर्दिवास सडक खन्न थालेदेखि नै चहलपहल बढेको हो। सडक पक्कि भएपछि नेपाली मात्र होइन, भारतीय समेत आउने गरेको अनुभव भञ्ज्याङकी होटल सञ्चालक कल्पना श्रेष्ठले सुनाइन्।

सिन्धुलीगढीमा विदाका दिन भिड लाग्छ। साँझ नपर्दै सुनसान बन्छ गढी क्षेत्र। किनकि त्यहाँ बास बस्ने सुविधा छैन। तल भञ्ज्याङमा खाना बनाइदिने चार 'होटल' छन्। अर्डर गरे तिनले खाना पकाइदिन्छन्। तर, त्यहाँ रात बस्ने सुविधा छैन। शीतल ठाउँमा रात विताउन पाउनु पर्छ। तब मात्र पर्यटन फस्टाउँछ। अहिले बास बस्न २० किमि पर सिन्धुली माढि वा १८ किमि वर्तिर खुर्कोट आइपुग्नु पर्छ।

गढी यात्रा आफैंमा रमाइलो हुन्छ। मुलकोट मास्तिर र ढुँग्रि भञ्ज्याङ मुन्तिरका घुम्ति आँखा तान्ने खालका छन्। खुर्कोट र झाँगाझोलीमा कोशीका माछा पाइन्छ। विशेषतः आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ गढी। राम्रो प्रचार गर्न सके आफ्ना पूर्खा हारेको ठाउँ भनेर बेलायती पनि अध्ययन गर्न आउन सक्छन्।

पत्रकार शौरभ ढकाल र देवेन्द्र दाइहरु मिलेर काठमाडौंदेखि गढीसम्म साइकल र्यासली गर्ने तयारी गर्दैछन्। गढीबाट बर्दिवासतिर ओरालो लाग्दा हामी गुनगुनायौं, सिन्धुली गढी घुमेर हेर्दा...। साँच्चै गढी र दरबारले कहिले पुर्नजीवन पाउला?

कसरी पुग्ने : काठमाडौं वनेपा–बर्दिवास सडक हुँदै सोला भञ्ज्याङ १३० किमि। भञ्ज्याङबाट १५ सय मिटरमा सिन्धुलीगढी। सिन्धुली चल्ने बस वा जिपमा जाँदा ४ घन्टा।

नेपालीको भिड
कल्पना श्रेष्ठ
सञ्चालक, सिन्धुलीगढी होटल

सिन्धुलीगढीमा ०६५ सालदेखि नेपालीको भिड लाग्न थालेको हो। गर्मी छल्न तराइतिरबाट धेरै नेपाली आउँछन्। काठमाडौंतिरका पनि आउँछन्। उनीहरु लोकल कुखुराको मासु र ढिँडो खोज्छन्। पकाइदिन्छौं। उनीहरु बास बस्न चाहन्छन्। तर, यहाँ बास बस्ने सुविधा छैन।

प्रकाशित: २२ श्रावण २०७२ २२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App