२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

अस्ट्रेलियामा स्टार नाडाल रोकिए

मेलबर्न– तेस्रो वरीयताका स्पेनिस राफेल नाडालको अस्टे्रलियन ओपन टेनिसको यात्रा मंगलबार टंुगिएको छ। रसियाली मारिया सारापोभाले युजिनी बुचार्डमाथि रवाफिलो जित निकालेकी छन्।क्वार्टरफाइनलमा नाडाल सातौं वरीयताका टोमास बर्डिचसँग स्तब्ध भएका छन्। ६–२, ६–०, ७–६(७/५) को नतिजा सुम्पेका नाडाल तेस्रो सेटमा बाहेक खासै जम्न सकेनन्। ‘अवश्य पनि म यसका लागि तयार थिएँ। मेरो योजनाले काम गर्योु र तीन सेटमा नै खेल जितें,' चेक गणतन्त्रका बर्डिचले भने। नाडाल गत वर्ष अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्टेन वावरिन्कासँग पराजित भएका थिए। तिनैै स्विस स्टार वावरिन्काले उपाधि जितेका थिए। 
‘यो धेरै खराब प्रदशन हो,' १४ पटकका ग्रान्ड स्लाम विजेता नाडालले भने, ‘म खुसी छैन किनकि अघिल्लो दुई सेट मैले सोचे जसरी खेल्न सकिनँ। सिजन लामो छ, सुरुआत नराम्रो भयो। मैले यो अवस्था स्विकार्नु पर्छ। सुधारका लागि कोसिस गर्नुपर्छ।' फाइनल पुग्न बर्डिचले ब्रिटिस खेलाडी एन्डी मरेको सामना गर्नेछन्। 
मरेले अस्ट्रेलियाका निक किर्जियोसलाई ६–३, ७–६ (७/५), ६–३ को सेटमा पराजित गरेका थिए। मरे मेलबर्नका तीनपटकका उपविजेता हुन्।
‘मैले केही दिनदेखि राम्रो खेल्न सकिरहेको थिइनँ। सम्भवतःआज मैले राम्रो खेलेको हुनुपर्छ,' मरेले भने,’यो जितले मलाई फेरि एउटा अवसर मिलेको छ। आशा गरौं म यो अवसर उपयोग गर्न सक्छु।' उनले सेमिफाइनलका विषयमा अहिले नै यस्तै हुन्छ भन्न कठिन हुने बताए। 
पाँचपल्टका ग्रान्डस्लाम विजेता २७वर्षीया रसियन सुन्दरी सारापोभा सातौं वरीयताकी क्यानेडियन बुचार्डलाई ६–३, ६–२ को सोझो सेटमा हराउँदै गर्दै सेमिफाइनल प्रवेश गरेकी छन्।सारापोभाले पछिल्लो पटक सन् २००८ मा अस्ट्रेलियन ओपन जितेकी थिइन्। यसपटक उपाधि जित्न सके सेरेना विलियम्सलाई पछि पार्दै सारापोभा शीर्षस्थानमा पुग्नेछिन्। 
सारापोभाले बुचार्डसँग कडा प्रतिस्पर्धा हुने अनुमान लगाएकी थिइन् तर २० वर्षीया क्यानेडियन सुन्दरी अनुभवी सारापोभासामू निरीह भइन्। सारापोभाले आफ्नै देशकी दसौं वरीयताका क्याटरिना माकारोभासँग प्रतिस्पर्धा गर्नेछन्। 
‘उनले राम्रो खेलिन्। आत्मविश्वासी र आक्रामक पनि देखिएकी थिइन्,' बुचार्डबारे सारापोभाले भनिन्,’दुई सेटमा नै जितेर माथि उक्लेकोमा म खुसी छु।'
अर्को खेलमा २६ वर्षीया माकारोभाले तेस्रो वरीयताकी सिमोना हालिपमाथि सजिलो जित निकालिन्। माकारोभाले रोमानियाकी सिमोनालाई ६–४, ६–० को सेटले पराजित गरिन्।
बुधबार हुने क्वार्टरफाइनलमा शीर्ष वरीयताकी अमेरिकी सेरेनाले गत वर्ष फाइनल पुगेकी डोमिनिका सिल्बुकोभाको सामना गर्नेछिन्। अर्को खेल सेरेनाकी दिदी भेनस र उनकै देशकी मडिसन किजबीच हुनेछ। 
माराकोभाले भने सारापोभासँगको खेलका लागि आफू दबाबमा नरहेको बताएकी छन्। ‘मैले आफूलाई विश्वास गर्नुपर्छ। उनीसँगको खेललाई सेमिफाइनलका रूपमा हेरेकी छैन,' माराकोभाले भने, ‘म फाइनलको बाटोमा छु भन्ने सोचेकी छु। यसलाई पनि अन्य खेललाई जस्तै सामान्य रुपमा लिएकी छु। त्यहाँ जाने र खेलमा रमाउने सोच छ।'

प्रकाशित: १३ माघ २०७१ २१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App