नेपालगन्ज–बोक्सीको आरोपमा कुटपिट गर्ने एक महिलालाई अदालतले ५ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाएको छ। बाँके जिल्ला अदालतले आइतबार बाँके, नौवस्तास्थित सुतैया गाउँ निवासी प्रतिवादी तारा कामीलाई यस्तो फैसला सुनाएको हो।
२०७१ साउन २२ गते सुतैयाकी चन्द्राकुमारी बिकलाई बोक्सीको आरोपमा छिमेकी तारा कामी, ससिकला कामीलगायतले कुटपिट गरेको जिकिर गर्दै पीडितका पति धिरेन्द्र बिकले जाहेरी दिएका थिए । कुटपिटबाट घाइते चन्द्राकुमारी केही दिन अस्पतालमा भर्ना भएकी थिइन् ।अदालतले घटनामा ताराको मुख्य संलग्नता देखिएको ठहर गर्दै उनलाई पाँच महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको अधिवक्ता बलबहादुर चन्दले जानकारी दिए । घटनामा संलग्न रहेका आरोप लागेका अन्य अभियुक्तलाई भने अदालतले सफायी दिएको छ । प्रहरीले यसअघि नै तारालाई पक्राउ गरिसकेको थियो । उनी हाल नेपालगन्ज कारागारमा छिन् । व्यक्तिगत रिसिवीका कारण कुटपिट भएपनि पीडित परिवारले घटनालाई बंग्याएर बोक्सीको आरोपमा कुटेको भनी बयान दिइ 'फसाएको' पीडकका आफन्तले दाबी गरेका छन् ।
अदालतमा आइतबार भएको फैसलाका क्रममा पीडितको पक्षमा जिल्ला सरकारी वकिल सुरेन्द्रजंग शाही, अधिवक्ता लोकबहादुर शाह, सुनिलकुमार श्रेष्ठ, केवल सिंह थारु र बलबहादुर चन्द तथा प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, भिमबहादुर सिंह र रामचन्द्र घिमिरेले बहस गरेका थए । समाजमा महिला माथि बोक्सीको आरोप लगाएर कुटपिट गर्ने क्रम अझै रोकिएको छैन ।
प्रकाशित: २० पुस २०७१ ०७:३१ आइतबार





