२३ माघ २०८२ शुक्रबार
image/svg+xml
ब्लग

बालेनलाई जुम्लाबाट चुनाव लड्न अनुरोध गर्दै खुला पत्र

प्रिय बालेन शाह ज्यू (मेयर, काठमाडौं महानगरपालिका तथा भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार),

विषय: सिंहदरबारको बाटो कर्णालीको जुम्लाबाट तय गरियोस् ।

प्रिय बालेन ज्यू,

आज यो पत्र लेख्दै गर्दा मेरो मनमा काठमाडौंका चिल्ला सडक र झिलिमिली बल्ने बत्तीको तस्बिर होइन, कर्णालीको त्यो कहालीलाग्दो भूगोल र यहाँका बिपन्न तर निर्दोश नागरिकहरुको तस्बिर झल्झली नाचिरहेको छ । हालैको राजनीतिक घटनाक्रम र तपाईँले झापा बाट चुनाव लड्ने सङ्केत दिएको खबरले देशैभरि एउटा तरङ्ग त ल्याएको छ, तर एउटा दुर्गम क्षेत्रको नागरिकको नाताले म तपाईँलाई एउटा फरक र साहसी प्रस्ताव राख्न चाहन्छु- तपाईँ यस पटक 'जुम्ला' बाट चुनाव लड्नुहोस् ।

प्रिय बालेन ज्यू, नेपाल तबसम्म समृद्ध हुँदैन जबसम्म काठमाडौं र कर्णालीबीचको दूरी मेटिँदैन । झापामा त विकासका पूर्वाधार पुगेकै होलान्, त्यहाँ पहुँचको अभाव पनि छैन होला तर जुम्ला र समग्र कर्णाली अझै पनि राज्यको नजरमा 'दुर्गम' मात्र होइन, अत्यन्तै तिरस्कृत पनि छ ।  

अर्को कुरा काठमाडौंको कोलाहलमा संघर्ष गरिरहेको 'बालेन' र सत्ताको जोडघटाउमा व्यस्त 'भावी प्रधानमन्त्रीको उम्मेदवार' को तस्बिरबीच, म यो पत्र एउटा यस्तो भूगोलबाट लेख्दै छु, जहाँका मान्छेहरूका लागि 'सिंहदरबार' को सिंहासन आज पनि एउटा दन्त्यकथा मै सीमित छ ।  

तपाईँले झापाको उर्वर भूमिबाट चुनाव लड्ने सुन्दै गर्दा मनमा एउटा अर्को गम्भीर प्रश्न पनि उब्जिएको छ - के यो देशको प्रधानमन्त्री बन्ने बाटो सधैँ सुगम र सुविधायुक्त क्षेत्र मात्रै हुनुपर्छ ? यदि होइन भने, म तपाईँलाई जुम्लाको त्यो विकट उकालो चढ्न र कर्णालीको आँगनबाट देशको नेतृत्व गर्ने आँट गर्न आह्वान गर्दछु किनकि जुम्ला र समग्र कर्णालीले आधुनिक नेपालको एकीकरणपछि प्रधानमन्त्री त परैको कुरा प्रधानमन्त्रीको उम्मेदवार समेत पाउन सकेको छैन ।

भावी प्रधानमन्त्रीको उम्मेदवार ज्यू, तपाईँको ईन्जिनियरिङ दिमाग र काठमाडौं महानगरपालिकामा देखाएको अठोट जस्तै कर्णाली जस्तो दुर्गममा पनि कसैले अठोट देखाउने हो भने कर्णालीको पनि भाग्य बदलिन सक्छ । कर्णालीको स्याउ, सिमी र मार्सी चामललाई विश्व बजारमा ब्रान्डिङ गर्न तपाईँ जस्तै भिजन भएको नेतृत्व कर्णालीलाई अत्यावश्यक भइसकेको छ । जबसम्म यो देशको सम्भावित प्रधानमन्त्रीले जुम्लाको 'मार्सी चामल' को स्वादमा यहाँको पसिना मिसिएको बुझ्दैन, जबसम्म उसले राराको नीलो पानीमा कर्णालीको आँसु देख्दैन, जब सम्म यहाँको जडिबुटी, स्याउ, सिमी र ओखरहरुको व्यवस्थित बजार व्यवस्थापन हुन सक्दैन तबसम्म जुम्ला र कर्णाली बदलिने छैन । त्यसैले तपाईँहरु जस्तैको ईन्जिनियरिङले जुम्लाका भिरहरूमा सडक मात्र होइन, यहाँका फराकिला फाँटहरुमा आशाको दीप जगाउनु पनि जरुरी छ । तपाईँहरु जस्तै युवाहरूको साहसले सिंहदरवारलाई यो पनि बुझाउनु जरुरी छ कि "नेपालको विकास सुगमको सहजतामा होइन, दुर्गमको उत्थानमा लुकेको छ।"

​प्रिय बालेन ज्यू, म यो भनिरहन निकै बाध्य बनेको छु किनकि कर्णाली र जुम्लाले विकास कसरी गर्न सकिन्छ भन्ने भिजन भएको नेता कहिल्यै पनि पाउन सकेको छैन । यहाँ त एकातर्फ एउटा मात्रै राज्यको लगानीमा बनेको कामको श्रेय लिएर २० औं बर्ष त्यसैको ब्याज स्वरुप जनतालाई रनभुल्ल बनाइ रहने प्रचलन छ भने अर्को तर्फ गफमै जनता अल्झाउने प्रवृत्ति हावी छ । साँच्चै यो सुन्दा तपाईंलाई अचम्म लाग्ला यहाँ त जनताको कर बाट निर्मित राज्यकोषको लगानीमा सम्पन्न योजनाको श्रेय लिन मात्रै महिनौं सम्म सामाजिक संजालमा बहस चर्किरहन्छ, लुछाचुडी चलिरहन्छ जुन यहाँका जनताको सबैभन्दा ठुलो दुर्भाग्य हो ।

इतिहासले उसलाई मात्र सम्झिन्छ जसले अप्ठ्यारो बाटो रोज्छन् । झापा बाट जित्नु तपाईँका लागि 'प्राविधिक जित' होला, तर जुम्लाबाट चुनाव लड्नु र जित्नु भनेको "नयाँ नेपालको पुनर्जन्म" हुन सक्छ, कर्णालीको भाग्य रेखा बदलिन सक्छ । अर्को कुरा यदि भावी प्रधानमन्त्रीको उम्मेदवारले कर्णालीलाई आफ्नो कर्मथलो बनाउँछ भने, त्यसले राज्य सत्तालाई एउटा ठुलो झापड समेत दिनेछ- "नेपाल भनेको काठमाडौं र सुगम मात्र होइन जुम्ला र कर्णाली पनि हो ।"

अन्त्यमा तपाईंलाई एक पटक यो देशको सबैभन्दा दुखिया आँगनमा पाइला टेकेर यहाँको माटोको कसम खाएर प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्न चाहान्छु किनकी कर्णालीलाई तपाईँ जस्तै विकास प्रेमी मान्छेको आवश्यकता छ । जसरी तपाईँले काठमाडौंका फुटपाथहरु सफा गर्नुभयो, त्यसरी नै कर्णालीको नियति पनि सफा गर्न अति नै आवश्यक भइसकेको छ ।

आशा छ, तपाईँ पक्कै पनि यस पटक कर्णालीको उकालो उक्लनु हुनेछ ।

निराश तर आशाहरुले भरिएको एक जुम्ली नागरिक

देवी कृष्ण अधिकारी  

(जुम्ला, कर्णाली नेपाल)

 

प्रकाशित: ३ माघ २०८२ २०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App