१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

समयअगावै शीतलहर, भरपर्दो तयारी छैन

राजविराज-सामान्यतया पुस दोस्रो साताबाट सुरु हुने शीतलहरले यसपालि सप्तरीलाई तीन साताअघि नै सताएको छ। पछिल्ला तथ्यांक हेर्दा शीतलहरकै कारण जिल्लामा प्रतिवर्ष कम्तीमा दुई दर्जनले ज्यान गुमाउने गरेका छन्।

यस वर्ष शीतलहर प्रारम्भ भएको एक साता बितिसक्दा पनि स्थानीय प्रशासनले यसबाट जोगिने व्यवस्था गर्न नसकेको प्रकोपप्रभावित समुदायको जिल्ला सञ्जाल अध्यक्ष देवनारायण यादवको गुनासो छ। 
त्यसो त बुधबारै जिल्ला दैवी प्रकोप उद्धार समिति बैठक बसी विभिन्न निर्णय गरेको समिति सदस्यसचिव स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको भनाइ छ। धमलाका अनुसार बैठकले कम्तीमा ४ हजार कम्बल प्रबन्ध गरिने, राहत सामग्री जुटाउने, गाउँगाउँमा दाउराको प्रबन्ध मिलाउन गाविस सचिवलाई निर्देशन दिने तथा ती सामग्री भण्डारण गरेर राख्न कक्ष निर्माण गर्ने निर्णय गरेको छ। ‘तत्काल हामीसँगै कुनै पनि सामग्री पर्याप्त छैन,' उनले भने। 
सञ्जाल अध्यक्ष यादव भने समितिको निर्णय देखावटी मात्रै भएको गुनासो गर्छन्। ‘शीतलहर सुरु भयो तर हालसम्म हामीकहाँ पर्याप्त कम्बलसम्म छैन,' उनले भने, ‘शीतलहर सुरु भएपछि हामी कम्बल, दाउरा संकलन र स्टोर निर्माणका लागि सोच्दै छौं, यसलाई के भन्ने?' 

‘डोमको बिजोग' 


शीतलहरले सबैभन्दा बढी प्रभावित हुनेमा विपन्न दलित छन्। खास गरी डोम, मुसहरलगायत बस्तीमा शीतलहरका कारण वृद्ध, बालबालिका तथा महिलाको बिचल्ली छ। 
‘लत्ताकपडा छैनन्, घर पनि उस्तै, परालको भरमा जाडो काट्नुपर्ने बाध्यता, त्यसमाथि बढ्दो चिसोले कठ्यांग्रिएर मर्छौंजस्तो लाग्छ,' शीतलहरकै कारण पाँच वर्षअघि पति गुमाएकी लौनियाँ–९ की कजरी मरिकले भनिन्, ‘आफू मरे त केही छैन, अबोध बालबच्चाको के बिजोग होला!' 
पैसा नहुँदा बालबच्चाका लागि न्यानो लुगासमेत किन्न नसकेको उनको गुनासो छ। ‘डोम भनेको यसै गरिब, दुई छाक खान पनि समस्या परिरहेका बेला लुगाफाटा कहाँबाट किन्नु?', प्रश्न गर्दै उनले भनिन्, ‘गिरहतहरू (मालिक) ले कहिलेकाहीँ दिने केही लुगाफाटाका भरमा यत्रो शीतलहर सरी खेप्नु?' थोत्रिएर प्वालैप्वाल परेको घरमा ५ बालबालिका जोगाउनुपर्ने बाध्यता सुनाउँदै कजरीले भनिन्, ‘घर पनि हबा छेक्ने खालको छैन, चिसोबाट जोगिन अरूसँग पराल मागेर ओछ्याएका छौं, त्यसैका भरमा सुत्छांै।' 
यस्तै समस्या सुनाए अर्का डोम राजकुमार मरिकले पनि। गत वर्ष जाडोमा ५५ वर्षीया हजुरआमा धनवन्ती मरिकको निधन भएको झल्को आँखैसामुन्ने छ। उनी विस्मात् गर्छन्, ‘उमेर उति धेरै होइन, शीतलहर तथा चिसो खेप्न नसकेरै प्राण गयो।' प्रत्येक वर्षजसो दुई/चार बूढापाका चिसोकै मौसममा बित्ने गरेको राजकुमारको भनाइ छ। 
स्थानीय ६० वर्षीया सावित्री मरिकको भोगाइमा शीतलहर तथा चिसो उनीहरूका लागि ठूलै अभिशाप बनिरहेको छ। नागरिकसँग गुनासो पोख्दै उनले भनिन्, ‘हाम्रो घर अनि लत्ताकपडा उस्तै हो, न्याना लुगा किन्ने पैसा छैन, घर त झन् कसरी बनाउनु?' लाग्छ, उनीहरू आफ्नै जिन्दगीसँग यति हैरान छन्, शत्रुसँग आत्मसमर्पण गर्न अभिशप्त निःशस्त्र योद्धाझैं पर्खन थालेका छन् शीतलहरलाई। यत्ति हो, कुन वर्षको शीतलहरमा कसको नाम लेखिएको छ, त्योचाहिँ थाहा छैन। उपाय नभएपछि हार खाएका छन्, आफ्नै नियतिसँग। एसीले तातेका कोठाभित्र उनीहरूकै नाममा हुने नानाथरी समितिका निर्णयको तातो चिसो डोम बस्तीभित्र छिर्न पाउँदैन। त्यसैले त बेलाबखत सरकारले देखाउने आशा उनीहरूलाई ‘जोक' लाग्न थालेको छ। तैपनि माग राख्न छाड्दैनन्, सावित्रीहरू, ‘हामीजस्ता विपन्न दलितका लागि यस्तो विपदाको घडीमा राज्यबाट आवश्यक सहयोग उपलब्ध हुनुपर्छ।' 
लौनियाँ मात्रै नभई जिल्लाभरिकै डोमको अवस्था उस्तै छ। करिब १ हजार २ सयको हराहारीमा रहेका डोमको जनजीवन शीतलहरकै कारण कष्टकर बन्दै गएको अगुवा युक्तिलाल मरिक बताउँछन्।

प्रकाशित: २७ मंसिर २०७१ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App