सिआइबीका एसएसपी उत्तमबाबु कार्की र धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी साहलाई सार्वजनिक गरेका हुन् । उनलाई सञ्चारकर्मीमाझ हतकडीमा उपस्थित गराइएको थियो ।
सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष साह त्यस पार्टीका एक्ला निर्वाचित सभासद थिए । पक्राउ परेलगत्तै संविधानसभा सचिवालयले उनलाई सभासद पदबाट निलम्बन गरेको छ । संविधानसभा, व्यवस्थापिका संसद र त्यसअन्तर्गत गठन भएको कुनै पनि समितिको बैठकमा भाग लिन नपाउने गरी निलम्बन गरिएको सचिवालयले जनाएको छ ।
२०६९ वैशाख १८ गते पाँचजनाको ज्यान जानेगरी जनकपुरमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार रहेको अभियोगमा प्रहरीले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेर डेढ महिनाभन्दा बढी समयदेखि खोज्दै आएको थियो ।
घटना अनुसन्धान सिलसिलामा प्रहरीले २०७० कात्तिक २८ गते ‘राजन मुक्ति’ भनिने रञ्जित झालाई पक्राउ गरेको थियो । झामाथि दुईजना प्रहरीसहित १७ जनाको हत्या अभियोग छ । उनकै बयानका आधारमा बम विस्फोट गराएको अभियोगमा भूमिगत संगठनका कुख्यात अपराधी मुकेश चौधरी माघ १८ गते पक्राउ परे । मुकेशको बयानबाट जनकपुरका ओमप्रकाश यादवलाई पक्राउ गरियो, जो साहका पूर्वसहयोगी हुन् । मुकेश र यादव दुवैले आफ्नो बयानमा सभासद साहको नाम पोलेपछि प्रहरीले साहलाई घटनाको ‘मुख्य योजनाकार’ भएको अभियोग लगाएको हो । यादव पक्राउ परेपछि नै साह अर्धभूमिगत भएका थिए ।
बम विस्फोट गराउन ‘सञ्जय साहले आफूमार्फत मुकेश चौधरीलाई दिन ८ लाख रुपैयाँ पठाएको’ भनेर ओमप्रकाशले बयान दिएको प्रहरी स्रोत बताउँछ । यसबाहेक घटनाका बेला साह र मुकेशबीच भएको टेलिफोन संवादको क्यासेटलगायत अन्य दुई–तीनवटा आधार पनि फेला परेको प्रहरीको दाबी छ ।
प्रहरीले साहलाई मुख्य योजनाकार रहेको अभियोग सार्वजनिक गर्दै पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन भएका थिए । त्यसयता साहले समय–समयमा आफूनिकट पार्टी कार्यकर्तालाई भारतीय नम्बरबाट सम्पर्क गरिरहे पनि प्रहरीले पत्ता लगाउन सकिरहेको थिएन । साहलाई पक्राउ गर्न देशभरिका प्रहरी संयन्त्रमा सर्कुलर जारी गरेको डेढ महिनापछि शनिबार राति पक्राउ गरिएको हो ।
मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरमा भइरहेको चरणबद्ध आन्दोलन क्रममा २०६९ वैशाख १८ गते आन्दोलनकारीले रामानन्द चोकमा शान्तिपूर्ण धर्ना दिइरहेका बेला बिहान सवा १० बजे धर्नास्थलमै शक्तिशाली बम विस्फोट भएको थियो ।
विस्फोटमा मिथिला नाट्यकला परिषद (मिनाप) की कलाकार रञ्जु झा, जनकपुर–८ का सन्त विमलशरण दास, जनकपुर–८ कै व्यवसायी सुरेश उपाध्याय र नगरमा माइकिङको काम गरेर जीविकोपार्जन गर्ने जनकपुर–१० का झगरु मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । बमको छर्रा लागेर गम्भीर घाइते भएका बेंगाशिवपुर–२ का जितेन्द्र दासको उपचार क्रममा पछि मृत्यु भयो ।
घटनालगत्तै प्रहरी प्रधान कार्यालयबाट अनुसन्धानका लागि तीन सदस्यीय प्राविधिकसहितको टोली जनकपुर पुगेको थियो । त्यही दिन शिवम् भन्ने सप्तरी विषहरिया–८ का जयप्रकाश चौधरीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ ग¥यो । पछि महोत्तरी मडई–६ का रिपेन्द्र झा, धनुषा भुतही–७ का मुकेश कर्ण र सपही–१ का सुरेश कर्णलाई पनि पक्राउ गरियो । चारैजना पुर्पक्षका लागि जलेश्वर कारागारमा छन् । यही घटनामा जोडिएर पक्राउ परेका मुकेश, राजन मुक्ति भनिने रञ्जित झा र ओमप्रकाशलाई पनि पुर्पक्षका लागि जलेश्वर कारागारमै पठाइएको छ ।
त्यतिखेर अपराध अनुसन्धान ब्युरोका तत्कालीन प्रमुख उपेन्द्रकान्त अर्यालले जनकपुर अञ्चल प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका चारजनालाई सार्वजनिक गरेका थिए । प्रहरी नायब उपरीक्षक भूपेन्द्रबहादुर खत्री नेतृत्वको टोलीले ‘अप्रेसन रामा’ नामबाट अनुसन्धान सुरु गरी ती चारजनालाई घटनामा संलग्न अभियोग लगाएको थियो ।
खत्रीको अनुसन्धान प्रतिवेदनअनुसार मुकेश चौधरीको निर्देशनमा सुरेश कर्णले जयप्रकाश चौधरीलाई बम उपलब्ध गराएको र जयप्रकाशले बम विस्फोट गराएका थिए । घटनाको दिन मुकेश र जयप्रकाशबीच पटक–पटक टेलिफोन र एसएमएस संवाद भएको खुलासा भइसकेको छ । अर्यालले ती चारजनालाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेयता अन्य कुनै नयाँ तथ्य खुलासा भएको थिएन ।
घटनाको करिब एक वर्षपछि तराई टेलिभिजनमा मुकेश र तत्कालीन सभासद तथा भौतिक योजना राज्यमन्त्री सञ्जय साहबीच उक्त बम विस्फोटबारे टेलिफोन संवाद भएको क्यासेट प्रसारण भएको थियो । उक्त क्यासेटको आवाज सञ्जयले बोलेजस्तो सुनिएको र उनैमाथि संकेत गरिए पनि साहको नाम किटानी गरिएको थिएन ।
त्यसको महिनादिन नबित्दै त्यसबेला साहकै नेतृत्वमा रहेको मधेस क्रान्ति फोरमले बम विस्फोट बेला मुकेशको मोबाइलबाट आउजाउ भएका टेलिफोन नम्बरहरूको कल डिटेल्स प्रमाणित गराई जिल्ला प्रशासन र प्रहरीमा बुझाएर पत्रकार सम्मेलनमार्फत उक्त आधारमा दोषी पत्ता लगाउन माग गरेको थियो । उक्त कल डिटेल्सका आधारमा मुकेशले बम विस्फोटका बेला एसएमएसमार्फत जनकपुरका होटल व्यवसायी जीवनाथ चौधरीलाई भिडबाट निस्कन आग्रह गरेको, सोही अवधिमा सातपटक टेलिफोनमार्फत दोहोरो संवाद भएको सार्वजनिक भएको थियो ।
मुकेशको बयानका आधारमा पक्राउ परेका ओमप्रकाश गएको संविधानसभा चुनावभन्दा १५ दिन अघिसम्म साहले जनकपुर चोकमा सञ्चालन गरेको मिथिला फाइनान्स कम्पनीको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका थिए । चुनावभन्दा १५ दिनअघि उनी जीवनाथको समूहमा प्रवेश गरे ।
जीवनाथ धनुषा जिल्ला विकास समितिका निलम्बित लेखापाल हुन् । बाबुराम भट्टराई सरकारमा रहेका बेला तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री रामकाजी श्रेष्ठले जिविसको आन्तरिक भ्रष्टाचारबारे स्थलगत अनुगमन गरेपछि अख्तियारमा गएको मुद्दामा जीवनाथसमेत जिविसका १८ जना कर्मचारी निलम्बित भएका थिए । विशेष अदालतमा तारेख धाइरहेका उनीहरू हालसम्म निलम्बनमै छन् ।
स्रोतका अनुसार पछिल्लो संविधानसभा चुनावमा साह उम्मेदवार थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसरोज यादवको पक्षमा चुनावी माहोल बनाउन जीवनाथले आर्थिक तथा भौतिक रूपले कडा मिहिनेत गरेका थिए ।
प्रकाशित: २१ वैशाख २०७१ २१:०२ आइतबार





