सरकारले सिमेन्ट उद्योगमा तीनवटा उपाय अवलम्बन गर्यो । पहिलो, कुनै पनि उद्योगलाई सिमेन्ट उत्पादनको अनुमति दिँदा पाँच वर्षभित्र स्वदेशी क्लिन्कर उत्पादन गर्नुपर्ने सर्त राख्यो। यसले स्वदेशी उद्योगहरू भारतीय क्लिन्करको प्रयोग बन्द गर्न बाध्य भए। दोस्रो, सिमेन्ट उद्योगसम्म सडक र बिजुली पुर्या्उने निर्णय गर्योक। यसले मूलसडकभन्दा भित्र र खासगरी चुनढुंगाको स्रोत भएको ठाउँमा सिमेन्ट उद्योग खोल्न लगानीकर्ताहरू प्रोत्साहित भए। तेस्रो, विदेशबाट आयात हुने क्लिन्करमा बढी भन्सार महसुल तिर्नुपर्ने निर्णय गरियो।
'सरकारले राखेका यी सर्तले नै सिमेन्ट उत्पादनमा युटर्न ल्याएको हो,' सिमेन्ट उत्पादक संघका पूर्व महासचिव एवं जगदम्बा सिमेन्टका प्रबन्धनिर्देशक विष्णु न्यौपानेले भने, 'सिमेन्ट उद्योगसम्म सडक र बिजुली पुर्यावउने निर्णयले हामीलाई उद्योग स्थापना गर्न प्रोत्साहन मिल्यो।'
विदेशबाट आयात हुने क्लिन्करमा बढी भन्सार महसुल लगाउने निर्णयले स्वदेशी क्लिन्कर उत्पादनलाई बढावा मिलेको उनले बताए। विदेश (भारत) बाट ल्याएको क्लिन्कर मिसाएर सिमेन्ट बनाउँदा महँगो पर्ने अवस्था आएको छ। मुलुकमा अहिले वार्षिक दस करोड बोरा सिमेन्ट खपत हुन्छ। यसमध्ये दुई करोड बोरा भारतबाट आउँछ। संघका अनुसार ४ करोड स्वदेशी क्लिन्कर प्रयोग गरेर सिमेन्ट उत्पादन हुन्छ भने ४ करोड क्लिन्कर भारतबाट आइरहेको छ।
सरकारले सिमेन्ट उद्योगका लागि बाटो (पहुँच मार्ग) र ट्रान्समिसन लाइनको सुविधा दिन थालेपछि ३ वर्षकै अवधिमा करिब १० अर्ब रुपैयाँ लगानीका सिमेन्ट उद्योगमा थपिएका छन्। नयाँ उद्योग थपिने क्रम बढ्दो छ। तीन वर्षमै १२ उद्योग थपिएका छन्। गत आर्थिक वर्ष मात्र ७ वटा उद्योग थपिएका थिए। गत वर्ष सोनापुर, घोराही, विशाल, शिवम्, गणपति एडभान्स र रोल्पा सिमेन्टले उत्पादन थालेका थिए। चालू आर्थिक वर्ष सिजी सिमेन्टले पनि आफ्नो उत्पादन थालिसकेको छ।
उद्योग सचिव कृष्ण ज्ञवालीले सरकारबाट सिमेन्ट उद्योगका लागि बजेट नै विनियोजन गरेर सडक र विद्युतमा सहयोग गरिएकाले नयाँ उद्योग थपिएको बताए। 'तीन वर्षअघि सिमेन्टमा हामी परनिर्भरको अवस्थामा थियौं, अहिले आत्मनिर्भरको अवस्थातर्फ उन्मुख छौं। यो हाम्रा लागि ठूलो उपलब्धि हो,' उनले भने, 'सरकारबाट सानो सहयोग हुँदा सिमेन्ट उद्योगमा सकारात्मक प्रभाव परेको छ।'
यही अवधिमा सरकारले सबै सिमेन्ट उद्योगलाई गुणस्तर चिह्न लिन बाध्यकारी पारेको छ। गुणस्तरीय उत्पादन गर्न सके मात्रै स्वदेशी उद्योगप्रतिको विश्वास बढ्ने सरकारको तर्क छ। गुणस्तर तथा नापतौल विभागका अनुसार सबै सिमेन्ट उद्योगले गुणस्तर चिह्न पाइसकेका छन्।
'हामीले स्वदेशी उद्योगप्रति उपभोक्ताको विश्वास बढोस् भनेर गुणस्तरीय उत्पादनमा जोड दिएका हौं,' विभागका एक अधिकारीले भने, 'हाम्रो कदमले स्वदेशी सिमेन्टमा उपभोक्ताको समेत विश्वास बढिरहेको छ।' विगतमा नेपाली सिमेन्ट ठूला परियोजनामा प्रयोग गर्न आनाकानी गरिन्थ्यो। अहिले ठूल्ठुला परियोजनामा समेत नेपाली सिमेन्ट प्रयोग गर्ने क्रम बढेको छ।
'विगतमा विदेशी सिमेन्टमा धेरै भरपर्ने चलन थियो। ठूला परियोजनामा स्वदेशी सिमेन्टको प्रयोग नगन्य थियो,' न्यौपानले भने, 'अहिले ठूला परियोजनामा समेत स्वदेशी सिमेन्ट प्रयाग भइरहेको छ।'
हालसम्म ७५ उद्योगले उद्योग विभागबाट सञ्चालनको अनुमति लिए पनि ४२ उद्योगले उत्पादन गरिरहेका छन्। नेपालमा वार्षिक ३५ लाख टन सिमेन्ट खपत हुँदै आएको छ। व्यवसायीका अनुसार ७० प्रतिशत उत्पादन स्वदेशमै हुने भएकाले नेपाल सिमेन्टमा आत्मनिर्भर बन्ने बाटोमा छ। यही अवधिमा केही उद्योगले सिमेन्ट निकासी समेत थालेका छन्।
प्रकाशित: ११ वैशाख २०७१ ००:५७ बिहीबार





