प्रहरीले रेडलेबलको एक लिटर क्षमताका ४० थान बोतल, खोल ६९ थान, बिर्को २० थान र फाइभ सिएल लेखिएको रक्सी नै भरिएको २१ थान सानो बोतल बरामद गरेको छ। यस्तै, ब्ल्याक लेबलको एक लिटर क्षमताको खाली बोतल ४५ थान, खोल १ सय ६ थान, ब्ल्याक लेबलकै क्वार्टर बोतल दुई थानसमेत बरामद गरेको छ। भ्याट–६९ को एक लिटर क्षमताको खाली बोतल ३८ थान र बिर्को २७ थान, टिचर्स रक्सीको एक लिटर क्षमताकै खाली बोतल ३९ थान र बिर्को २६ थान, चिभास लिगलको ९ थान खाली बोतल र १ सय १७ थान खोल, बिफटर जिनको खाली बोतल र बिर्को दुई थान, सिग्नेचर रक्सीको खाली बोतल ६ थान, रोयल स्टेगको १३ थान खाली बोतल, रुस्लान भोड्का र ब्लु रिबन्ड जिनको खाली बोतल बरामद भएका छन्।
ब्रान्डेड रक्सीमा रंग मिल्ने सस्तो रक्सी मिसाउने रायमाझीकै बयानका आधारमा धरान प्रहरीले त्यहाँस्थित बाबा कोल्ड सेन्टरमा बिहीबारै छापा मारेको छ। धरान प्रहरीले प्रदीप गुप्ता सञ्चालक रहेको बाबा कोल्डबाट ब्ल्याकलेबल ७ थान, भ्याट–६९ ९ थान, रेडलेबल तीन थान र डबल ब्ल्याक दुई थान बरामद गरेको छ। ‘राममाझीले मिसाएको रक्सी बाबा स्टोरलाई नै बेच्ने गरेको बताएपछि धरान प्रहरीको सहयोगमा छापा मारिएको हो,’ मोरङ प्रहरीका एसपी विश्वराज पोखरेलले भने, ‘महँगा रक्सीमा कमसल र सस्तो रक्सी मिसाएर बेच्ने गरेको खुलेको छ।’ केही महिनाअघि विराटनगरकै यती होटलका सञ्चालक राजेन्द्र प्रसाईलाई पनि यही अभियोगमा पक्राउ गरी प्रहरीले ठूलो परिमाणमा नक्कली रक्सी बरामद गरेको थियो।
ब्रान्डेड रक्सीको बोतल र खोल काठमाडौंबाट र बिर्को तथा सिल भारतको कोलकताबाट ल्याएर रंग सुहाउँदो सस्तो रक्सी मिसाएर बजारमा बेच्ने गरेका रायमाझीले यो ‘धन्धा’ दुई वर्षअघि थालेको बयान दिएका छन्। ब्ल्याक लेबल र चिभास लिगलमा सिग्नेचर, रेडलेबल र भ्याट–६९ मा रोयल स्टेग, बिफ्टर जिनमा ब्लु रिबन्ड र टिचर्समा रुस्लान भोड्का हाल्ने गरेको उनले बताए। ‘महँगा रक्सीको खाली बोतलमा सस्तो रक्सी मिसाएर डिलर कहाँ पठाइदिने हो,’ उनले भने, ‘अन्तःशुल्कको स्टिकर पनि सस्तो रक्सीकै महँगोमा टाँसिन्छ।’
आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रकाश पौडेलले बरामद रक्सी सबै २५ युपीका रहेकाले राजस्व छली गरेको र किर्ते गरेर स्टिकर टाँसेको देखिएको बताए। पौडेलका अनुसार २५ युपी रक्सीको एक लिटरको ५ सय ८३ रुपैयाँ अन्तःशुल्क र भ्याट तिर्नुपर्छ। ‘राजस्व छली र अन्तःशुल्कको स्टीकर किर्ते गरेकोमा अनुसन्धान हुन्छ,’ कर अधिकृत पौडेलले भने।
प्रकाशित: १५ फाल्गुन २०७० २२:३५ बिहीबार





