५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

महामूर्खलाई आलु-मुलाको माला

महामूर्खहरूको शहर अर्थात् वीरगञ्ज। यहीँबाट सुरु भएको हो, होलीको अवसरमा उत्कृष्ट रचना दिने सर्जकलाई 'महामूर्ख'को उपाधि दिने चलन। २०४९ सालमा स्थानीय साहित्यिक संस्था मैथली साहित्य परिषद्ले वीरगञ्जमा होलीको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्न थाल्यो। त्यसअघि पनि विभिन्न संस्थाले हास्य कवि सम्मेलन चाहिँ गर्थे। त्यसमा एउटा नयाँ कडी जोडिएपछि यसले वीरगञ्जलाई नै चिनाउने काम गरेको यसका अवधारणाकार मानिने साहित्यानुरागी पत्रकार चन्द्रकिशोर बताउँछन्।


आजभोलि यसमा के भइरहेको छ? भन्ने उनलाई त्यति जानकारी छैन। किनकि, कार्यक्रम आयोजकसँगै त्यसका तरिका र मर्म फेरिएसँगै पुराना व्यक्तिको रुचि र लगाव अब महामूर्ख सम्मेलनमा रहेन। दुई दशकमै त्यो गरिमामय आयोजनले आफ्नो साबिकको स्वरूप र ओज गुमाएको स्थानीय बताउँछन्।

'स्वागत आगत मूर्ख महान्' भन्ने स्वागत गीतबाट कार्यक्रम सुरु हुन अगाडि यस भेगका कवि र स्रष्टाका साथ समाजका प्रतिष्ठित व्यक्ति भेला भइसकेका हुन्थे। 'होलीका अवसरमा हास्यव्यंग्य विधाका कविता र प्रहसन मुख्य रूपमा प्रस्तुत गरिन्थ्यो। त्यसमध्ये उत्कृष्टलाई विभिन्न उपाधिबाट सम्मानित गर्ने गरिन्थ्यो,' चन्द्रकिशोरले भने, 'भन्नलाई महामूर्ख भनिन्थ्यो वास्तवमा त्यो उपाधि पाउने व्यक्ति उत्कृष्ट स्रष्टा हुन्थ्यो।' उनलाई याद छ, सबभन्दा ठूलो मानिने पदवी महामूर्ख शिरोमणि तीनपटकसम्म डा. लाला माधवेन्द्रले पाएका थिए। डा. कुलानन्दलाल दास र सतीशचन्द्र सजल जस्ताले उपाधि पाए। उनका अनुसार पाँच थरीका उपाधि हुन्थे। महामूर्ख शिरोमणिपछि दोस्रो हुनेलाई मूर्खाधिराज, तेस्रो हुनेलाई मूर्खाधिपति, चौथो हुनेलाई महामूर्ख र सान्त्वना पुरस्कार पाउनेलाई पटमूर्खको उपाधि दिइन्थ्यो।

चन्द्रकिशोरका अनुसार आजभोलि ती कुराहरू पाइँदैनन्। पोहोर एमालेका सभासद् राजकुमार गुप्तालाई महामूर्ख शिरोमणिको उपाधि दिइयो। सभासद् गुप्ता एउटा कारोबारी र राजनीतिक व्यक्ति हुन्। साहित्य र सिर्जनासँग उनको गोरु बेचेको साइनो पनि छैन। केही वर्षयता यो क्रम सुरु भएको हो। २०६२/०६३ को जनआन्दोलनपछि तराईमा बढेका भूमिगत समूह र आपराधिक गिरोहको सक्रियताले लामो समय वीरगञ्ज क्षेत्र चन्दा, फिरौती, असुलीले प्रभावित रह्यो। कार्यक्रमका लागि खर्च जुटाउन मुश्किल पर्न थाल्यो। त्यसपछि कार्यक्रमको खर्च बेहोरी दिनेलाई उपाधि दिने चलन सुरु भयो। त्यसैले यसको ओज हराएको स्थानीयहरू बताउँछन्।

जनकपुरमा पनि महामूर्ख सम्मेलन हुन्छ। जनकपुरको पुरानो नाट्य संस्था मिथिला नाट्यकला परिषद् (मिनाप) ले यसपालि सातौँ होली उत्सवको तयारी गरिरहेको छ। मिनापले नै करिब दुई दशकअघिदेखि सुरु गरेको महामूर्ख सम्मेलनले जनकपुरको होलीमा विशेषता थपिदिएको छ। समाजमा कुनै रूपले भलो गर्ने एकजनालाई महामूर्खको उपाधि दिएर सम्मान गर्ने र अन्यलाई साना मूर्खको उपाधिसहित व्यंग्यात्मक रूपले होच्याउने काम गरिन्छ, महामूर्ख सम्मेलनमा।

मिनापका निवर्तमान अध्यक्ष सुनील मल्लिक भन्छन्, 'महामूर्ख सम्मेलनमा सम्मान र व्यंग्य दुवै हुन्छ।' राम्रो काम गर्नेलाई प्रमुख अतिथि बनाएर महामूर्खको उपाधिसाथ विशेष सम्मान गरिने यो सम्मेलनले समाजमा राम्रो काम गर्न हौस्याउने गरेको उनको विश्वास छ। सम्मेलनमा समाजका लागि दिने योगदानको आधारमा पटमूर्ख, बज्रसिलोट, सिलौटानन्द, लोहाशंकर, चौपटानन्द आदि उपाधि दिएर उनीहरूलाई कटहर, मुला, परवल, करेला, आलुलगायत विभिन्न सागसब्जीको माला लगाइदिएर सम्मान गरिन्छ। यो उत्सव हेर्न देश विदेशका पर्यटक पनि सहभागी भएर रमाउने गर्छन्।

प्रकाशित: ९ चैत्र २०७२ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App