३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

ल्हारक्यालको लकर

माननीय सभासद् ल्हारक्याल लामाको लकरमा गोली भेटिएपछि कमरेड तरंगित भए । उनलाई असाध्यै रिस पनि उठ्यो । कमरेडको रिस माननीय सभासद्प्रति भन्दा पनि अध्यक्ष कमरेडप्रति तीव्र थियो । उतिबेला ल्हारक्याल लामालाई सभासद् नबनाउन कमरेडले ठूलो प्रयत्न गरेका थिए । खास कुराचाहिँ के थियो भने ल्हारक्याललाई सभासद् बन्न रोकेमा कमरेडको चान्स आउँथ्यो ।कमरेडले ल्हारक्याललाई रोक्न हुनेसम्म गरे । पार्टीपंक्तिमा आफ्नो योगदान र संघर्षको कुरा उठाए । ल्हारक्यालको अतीतलाई जानेबुझेसम्म बहसमा ल्याए । तर, कमरेडको केही लागेन । अध्यक्ष कमरेडले ल्हारक्याललाई सभासद् बनाएरै छाडे । ल्हारक्याललाई सभासद् बनाउने निक्र्याेल गरिएको दिन कमरेडले पार्टी छाड्ने धम्कीसमेत दिए । निकै समय पार्टीको आधिकारिक कार्यक्षेत्रमा अनुपस्थित रहेर आफ्नो विरोध पनि अभिव्यक्त गरे । जति जे गरे पनि हत्केलाले सूर्य छेक्न सम्भव थिएन । उनको पीडा र विरोधको कतै सुनुवाइ भएन । आखिर जति रिस उठे पनि कमरेडको जिन्दगी पार्टी भनेरै बितेको थियो । पार्टी बनाउन उनले आफ्नो ज्यानै दाउमा लगाएका थिए । जेल, नेल र यातना खेपेका थिए । घरमूलीले गल्ती ग¥यो भन्दैमा घर छाडिहाल्न उनको मनले मानेन । दुईचार मास समय गुजारेपछि उनी फेरि तरोताजा भएर पार्टीमा सक्रिय भए । तर, उनको छातीमा ल्हारक्यालरूपी किलो गढेको गढ्यै भयो ।

कमरेडले पत्रिकामा छापिएको समाचारलाई ध्यान दिएर पढे । समाचारको शीर्षकमा 'एमाओवादी सभासद्को लकरमा गोली' भन्ने लेखिएको थियो । तै ल्हारक्यालको लकरमा गोली भन्ने लेखिएको भए उनलाई यति धेरै पीडा हुने थिएन । आफूजस्ता हजारौँका रगत र पसिनाले सिर्जित पार्टीको नाम ल्हारक्यालसँग जोडिएको थियो । अनि, ल्हारक्यालको नाम अपराधसँग जोडिएको थियो । त्यो रक्तरञ्जित इतिहासको माओवादी र आजको माननीय ल्हारक्यालसम्म आइपुगेको माओवादी सम्झँदा उनलाई भाउन्न भयो । आज ल्हारक्यालसँग जोडिएको 'माओवादी'सँग दिगमिग लागेर आयो । माओवादी खाओवादी सिद्धान्त र विचारमा फस्दै गएको उनले महसुस गरे । कमरेडले लामो सुस्केरा हाले । बान्ता होला–होला जस्तो भयो ।

कमरेडले केन्द्रीय कमिटी भंग भएपश्चात् आफूजस्तै अर्धबेरोजगार बनेका अर्का कमरेडलाई फोन लगाए । अर्का कमरेड पनि उनीजस्तै पार्टी बिग्रियो भन्थे । पार्टी बुर्जुवाको अखडा भयो भनेर चिन्ता गर्थे । दुःख गरेका र संघर्षमा हेलिएका कार्यकर्तालाई पार्टीले अवहेलना ग¥यो भनेर गुनासो गर्थे । उनी पनि सशस्त्र क्रान्ति जारी छ भनेर वैद्यको पछि लाग्न सकेका थिएनन् । आधुनिक युगमा अर्थबाहेक अरू सबै सिद्धान्त र विचार निकम्मा हुन् भन्दै डाक्टरको कित्तामा उभिएका थिएनन् । गुनासो, चिन्ता र विरोध गर्दागर्दै पनि पार्टीको पुरानै घर कुरेर बसिरहेका थिए । अर्का कमरेड र कामरेडबीच लगभग सबै कुरामा समानता थियो । आखिर माक्र्सवादले नै सवै कुरा वर्गीय हुने हुँदा प्रेम, सद्भाव र विचार पनि वर्गीय हुन्छ जो भनेकै छ । ल्हारक्यालको समाचार पढेपछि वर्गीय धरातल मिल्ने कमरेडलाई नै कमरेडले सम्झिए ।

'अभिवादन कमरेड !' कमरेड नम्बर २ ले फोन उठाए ।

'अभिवादन ! अनि कमरेड कता हुनुहुन्छ ?' कमरेडले सोधे ।

'डेरामै छु ।'

'आजको पत्रिका पढ्नुभयो कमरेड ?'

'किन र कमरेड ?' कमरेड नम्बर २ ले सोधे ।

'हाम्रा माननीय सभासद्को खबर थाहा पाउनु भा' छैन ?' बोलीमा हाँसो मिसाउँदै कमरेडले सोधे ।

'मैले हिजै थाहा पाएको । पुलिसले हिजो दिउँसै समातेको हो नि ।'

'मैले त अहिले पत्रिका पढेपछि मात्र थाहा पाएँ । हिजो रातिराति जिल्लाबाट आइयो । डेरामा आउँदा लोडसेडिङ थ्यो ।' कमरेडले भने ।

'के गर्ने त कमरेड ? हाम्रा कुराको सुनुवाइ कहिल्यै भएन ।' कमरेड नम्बर २ ले भने ।

'हो नि, कमरेड शुद्धीकरणका लागि जति गर्दा पनि केही लागेन । मूल नेतृत्वमा नै गडबड भएपछि तलबाट जति प्रयत्न गरे पनि अर्थपूर्ण हुँदो रहेनछ । हेर्नुस् त, उतिबेला ल्हारक्यालको विषयमा हामीले केसम्म गरेनौँ । आज माओवादी सभासद्को लकरमा गोली भेटियो भन्ने कुरा बाहिर आइरा'छ । लाज नहुनेलाई त भएन, भएन । हामी जस्तालाई मुख देखाउन पनि मुस्किल पर्ने भो कमरेड ।'

'हो, कमरेड, हो ।' कमरेड नम्बर २ ले सही थाप्दै भने, 'त्यो ल्हारक्याल भन्ने मान्छे पनि अचम्मैको र'छ । लुगा बौद्ध भिक्षुको ला'छ । नागरिकता दुई÷तीन देशको बना'छ । जुनसुकै पार्टीको अध्यक्षलाई पट्याउन भ्या'छ । जहिल्यै पनि सभासद् भा'छ । हुँदाहुँदा बैंकको लकरमा गोलीसमेत राख्या' छ ।'

कमरेड नम्बर २ को कुराले कमरेडलाई हास उठ्यो । उनले हाँस्दै भने, 'यो नयाँ जमानाको भिक्षु परेछ । हातहतियार र अपराधसँग साँठगाँठ राख्ने । हाम्रो पार्टीले पनि नयाँ शैलीको क्रान्ति गरेको हो । उसले पनि नयाँ–नयाँ काम नै गरिरा'छ । दुवै नयाँ–नयाँ भा'का हुनाले त सभासद् भा' हो नि ।'

कमरेड नम्बर २ र कमरेड मरुञ्जेल हाँसे । पार्टीप्रतिको गुनासो, आक्रोश र व्यंग्य मिश्रित सवालजवाफपछि उनीहरूको फोन संवाद तुरियो ।

कमरेड नम्बर २ सँग मनको बह पोखेर पनि कमरेडको मन शान्त भएन । एकपटक अध्यक्ष कमरेडलाई भेटेर कुरा गर्न मन लाग्यो । 'देख्नुभो' त अध्यक्ष कमरेड, ल्हारक्यालले पार्टीलाई कहाँ पु¥यायो ?' भन्ने आशयको कुरा अध्यक्षसँग गर्न पाए मनको पीडा कम हुन्थ्यो जस्तो लाग्यो । कमरेडले लाजिम्पाट मुख्यालयमा सम्पर्क गरे । साँझ, अध्यक्ष कमरेडसँग भेट्ने समय मिल्यो ।

अँध्यारो ओर्लिसकेपछि कमरेड लाजिम्पाट हिँडे । भर्खरै चैत सुरु भएको सन्ध्याकालीन काठमाडाँै बडो सुन्दर देखिन्थ्यो । जाडो र गर्मी दुवै थिएन । कमरेडको मनमा भने नानाथरी कुराहरू खेलिरहेका थिए । माइक्रोबसको पुछार सिटमा बसेका कमरेड अध्यक्षसँग गर्ने संवाद सम्झिरहेका थिए । अर्काेतफ ल्हारक्याल सभासद्बाट खुस्कियो भने तै पालो आउँछ कि भन्ने झिनो आशाले थोरबहुत रोमाञ्चित पनि भइरहेका थिए ।

कमरेड लाजिम्पाट पुग्नासाथै अध्यक्ष कमरेडसँग भेट्ने समय मिल्यो । सायद साँझको बेला भएर हो, भीडभाड रहेनछ ।

'सञ्चै हुनुहुन्छ कमरेड ?' अध्यक्ष कमरेडले जोसिलो र हँसिलो भएर सोध्नुभयो ।

कमरेडले मंगलकुशल बताए । कमरेड र अध्यक्ष कामरेडबीच राष्ट्रिय राजनीतिको विषयमा केही बेर छलफल भयो । कमरेडलाई राष्ट्रिय राजनीतिको बारेमा कुरा गर्ने मुड थिएन । उनलाई जतिसक्दो छिटो ल्हारक्यालमा प्रवेश गर्ने मन थियो । तर, अध्यक्षलाई ठाड्ठाडै नाघेर जान पनि मुस्किल पर्यो । निकै बेरको उकुसमुकुसपछि कमरेडले सोधे, 'यो ल्हारक्यालको कुरा के हो नि कमरेड ?'

अध्यक्ष कमरेडले गम्भीर अनुहार बनाए । रुँदारुँदै हास्न र हाँस्दाहाँस्दै रुन सक्ने अध्यक्ष कमरेडलाई कुरोको चुरो बुझ्न खासै गाह्रो परेन । ल्हारक्याललाई सभासद् बनाउँदा विरोधको मोर्चा बनाउने कमरेडले उनको विषयमा सोध्नुको आशय आफैँमा स्पष्ट थियो । 'पुलिसले छानबिन गरिरा'छ । केही दिनमा कुरो के रहेछ बाहिर आउला नि ।' अध्यक्ष कमरेडले बडो हल्का शैलीमा उत्तर दिए ।

'पार्टीको त बेइज्जत भयो नि कमरेड ।' कमरेडले भने ।

'केही भा छैन ।' अध्यक्ष कमरेडको अनुहारमा सघन गम्भीरता देखियो । 'ल्हारक्याललाई सभासद् बनाएर पार्टीले गल्ती ग¥यो भन्ने गुनासो तपाईंहरूले गर्दै आउनुभएकै हो । रूपमा हेर्दा गल्तीजस्तो पनि देखिएकै हो । तर, पार्टी नेतृत्वले रूपलाई मात्र हेरेर हुँदो रहेनछ । सारलाई पनि हेर्नु पर्दाे रहेछ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि विचार पु¥याउनुपर्दाे रहेछ । बडो विचार पु¥याएरै ल्हारक्याललाई सभासद् बनाएको हो । त्यसैले कमरेड ल्हारक्यालको लकरले पार्टीको सर्वस्वै गयो भनेर चिन्तित हुनुपर्ने अवस्था छैन । सबै कुरा मिल्दै जान्छ । बरु यो लकरको चिन्ता गर्नुभन्दा बढी पार्टीलाई कम्युनिस्ट पार्टीको केन्द्र कसरी बनाउने भन्नेमा चिन्तन गर्नुप¥यो ।'

कमरेड केही बोल्न सकेनन् । अध्यक्ष कमरेडको गम्भीर अनुहार हेरिरहे ।

प्रकाशित: ७ चैत्र २०७२ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App