एक है जान और लाखोँ दुश्मन, किस किस की तुम बात करोगे?
७७ वर्षका अब्दुल लतिफ 'शौक' गजल सुनाउन जहाँ जहाँ पुग्छन् उनलाई श्रोताहरु यो गजल सुनाउन फर्माइस गरि हाल्छन्। यो गजल उनको साहित्यिक जीवनसित जोडिएको छ। तीन सय भन्दा बढी गजल लेखिसकेका शौकका हरेकजसो गजलहरु मुसायरा (कविगोष्ठी) मा वाचन गरिएपछि श्रोताको वाहवाही पाउन सक्षम छन् तर यो गजलले नै हो उनलाई मुसायरामा स्थापित गरेको। शौक भन्छन्, 'बिजुली तुफान ज्यानमारा र डाकु कसकसको तिमी कुरा गर्छौ? एउटा छ ज्यान तर लाखौं छन् दुश्मन, तिमी तिमी कसकसको कुरा गर्छौ।'
शौक फेरि लेख्छन्:
मन को मायाजाल ने मारा, तन को रोटी दाल ने मारा
सौ जख्मोँ से चुर है जीवन, किस किस की तुम बात करोगे?'
मनलाई मायाजालले मार्योव शरिलाई रोटी र दालको जोहो गर्ने परिश्रमले मार्योा, सयौं घाउले चुर भैसकेको जीवनमा कसकसको कुरा गरेर साध्य? चोटिलो साहित्यिक विधाका रुपमा अरबको भूमिमा प्रादुर्भाव भै भारत पाकिस्तानमा बिकसित हुँदै नेपालसम्म आइपुगेको गजललाई जीवनसित जोडेर यसरी गजल लेख्ने कवि (शायर) हरु छन् नेपालमा पनि।
नेपालगंज मुस्लिम समुदायको बस्ती मात्र होइन, उर्दुमा गजल लेख्ने स्रष्टाहरुको पनि बाक्लै सङ्ख्या भएको ठाउँ हो। मुस्लिम समुदाय, इस्लाम धर्म र उर्दू भाषा एक अर्कोसित अन्योन्याश्रित छन्। नेपालगंजको मुस्लिम समुदायमा पनि उर्दुमा साहित्य चना गर्ने परम्परा पुरानै हो। मुस्लिम समुदायका हरेक जस्ोा धार्मिक ग्रन्थहरु अरबी भाषामैं लेखिएका भए पनि आधुनिक साहित्य भने उर्दूमैं फल्यो, फुल्यो।
गजल उर्दु साहित्यको सर्वाधिक समृद्ध विधा। गजलको अगाडि अरु विधा ओझेल परेको अवस्था छ उर्दुमा। उर्दु गजलको कुरा गर्दा लखनऊ गजलको एउटा केन्द्र हो। एक सय उनन्साठी वर्ष अघि १९१३ सालतिर लखनऊकै शैलीमा उतैबाट मुस्लिम व्यापारी झिकाएर बसाइएको नेपालगंजमा लखनऊबाट धेरै कुराको प्रभाव पर्योख। त्यसमध्ये गजल पनि एक हो। नेपालगंजका उर्दू शायर (कवि) हरुमा लखनवी गजल तहजीब (संस्कार) को प्रभाव भेटिन्छ।
उर्दू साहित्यमा प्रायः गजलको प्रकाशन परम्परा भन्दा पनि श्रुति परम्परा चलेको पाइन्छ। गजल लेखेर पत्रपत्रिका वा पुस्तकमा छपाउनु भन्दा पनि जमघटमा सुनाउने वा गाउने परम्परा छ। नेपालगंजमा पनि पंचायतकालमा समेत गजलको यहि परम्परा चल्यो। मानिस प्रायः गजल भनेपछि यौवनका गीत गाउनु हो भन्ने मात्रै सोच्दछन् तर गजलबाट यौवनसित जोडिएको प्रेम उहिल्यै ओझेल परिसक्यो। नेपालगंजमा गजल मुसायरामा यौवनका प्रेमगजल गाउनुलाई त्यति सारो रुचाइन्न न त गाउनेहरुलाई ज्यादा महत्व दिइन्छ। गजल भनेपछि मनको भित्री तहमा स्पर्श गर्ने दार्शनिक भाव भन्ने अर्थ राख्छ मुसायराको संस्कारले। मुसायरामा कथ्य र भावको कठोर अनुसासनमा बाँधिएर वौद्धिक तहमैं सिमित रहेको गजल मुखर हुन थालेको भने धेरै भएको छैन। २०४६ सालपछि यदाकदा समावेशीताको नाममा नेपालका पत्रपत्रिकाले उर्दू गजल छाप्ने गरेपछि नेपालगंजको उर्दू गजल अलि फैलन थाल्यो। तैपनि उर्दूमा आफ्नै गजलका पत्रिका वा पुस्तक त्यति खासै भेटिन्नन्।
नेपालगञ्जका उर्दू कविहरुले २००८ सालतिर 'बज्म—ए—अदब' नामको संस्था खोलेर यहाँको उर्दू गजललाई संस्थागत रुपमा अगाडि बढाउन शुरु गरेका हुन्। त्यस संस्थाले ठूलाठूला गजल मुसायराहरु गरेका दृष्टान्त यहाँका पुराना गजलप्रेमिहरु सुनाउँछन्। यहाँका थुप्रै शायरहरु 'बज्म—ए—अदब' सित जोडिदै यसले उपलब्ध गराएको मञ्चकै प्रयोग गरेर कवि बने, छाए र हराए। 'बज्म—ए—अदब' सकृय रहँदाको समयमा नेपालगंजको उर्दू साहित्यमा चम्केका उर्दू सायरहको नाम लिँदा अनवर अलि अनवर, अब्दुरर्शिद 'हयात', अब्दुल कयूम 'कादरी', अब्दुल हमिद हामी, अब्दुस्सलाम असलम, अमीर मोहम्मद राई, गुलाम अली मोमिन, जमाल अहमद 'अजीज', नन्हे कुरैसी कैफ, नजिर हुसेन 'साहिल', माष्टर शैदा भारती, मुन्सी असगर अलि सहर, मुरलीलाल मुरली, मोहम्मद इस्माइल, मोहम्मद उमर 'खुमार', मोहम्मद नसीम, मोहम्मद सुलेमान 'साकी', मौलवी अमिरुल्लाह असअदी, मौलवी गुलाम वारिस गौर, मौलाना मोहम्मद शरिफ 'कासमी', मंगलु शहर, फारुक अहमद आरिफ, मोहम्मद युनुस अदिब, शौकत अलि 'शौकत' र श्यामलाल श्याम आदिको नाम आउँछ।
धेरैले फारुक अहमद आरिफलाई नेपालगंजको उर्दू गजलको बुनियाद (आधार) खडा गर्ने स्रष्टा मान्छन्। पेशाले शिक्षक आरिफ १९९२ सालमा जन्मेर २०४९ सालमा स्वर्गे भएका थिए। नेपालगंजका उर्दू शायर (कवि) हरुलाई मूलधारसित जोड्नमा उनको अहम् भूमिका रह्यो। धार्मिक परिवेशमा रमाएको नेपालगंजको उर्दू गजलमा उनले राष्ट्रबादी चेत भरे र लेखेः
जब हिमाला पर कोई पडती है सुरज की किरन
धरती नेपाल की बन जाती है रश्के दुल्हन
झुमकर घटा जो साथ लाई पुरवाई पवन
लहलहाने लगे नेपाल के गुलशन हो या बन
आरिफजस्ता केही कविहरुको प्रयासका बाबजुद नेपालगंजको उर्दू गजल त्यति मुखर भएन। कोठा, चौपालमैं साँगुरियो। शायर (कवि) का डायरीमैं खुम्चिएर बस्यो। पहिलोपल्ट २०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेकमा गजल सुनाउन काठमाडौंसम्म पुगेका गजलकारहरु बिस्तारै राजाका जन्मोत्सव र संविधान दिवसका कवि गोष्ठीमा पनि झुल्किन थाले। 'बज्म—ए—अदब' मा कृयाशिल रहेका कविहरु एकपछि अर्को गर्दै स्वर्गे भएर निस्कि्रय भएपछि गुलाम जिलानी राही, निसार अहमद निसार, रसुल मोहम्मद आरजु, अब्दुल लतिफ 'शौक', मोहम्मद उमर आदिल फारुखी, हासिम अञ्जुम, मोहम्मद उमर असरजस्ता सायरहरुले २०३३ सालमा 'गुलजार—ए—अदब' नामको अर्को संस्था खोले। उता राजापुरमा प्रकाश राजापुरीले नसिरुद्धिन नासिरसित मिलेर 'महेन्द्र बज्म ए अदब' खोले। २०४६ पछि गजलकारहरुमा पनि पार्टीगत प्रभावमा पर्न लाग्यो। कुनै न कुनै पार्टीको प्रभावमा परि उर्दू गजलका पनि अनेकौं संस्था जन्मिन थाले तर अमिन खयालीले खोलेको 'नेपाल उर्दू ए अदब' भन्दा बाहेक कुनै सस्थाले पनि राम्ररी जरा गाड्नै सकेनन्।
नेपालगंजको उर्दू गजलको पहिचानलाई देशबिदेशमा पुर्यारउने उल्लेख्य सायर हुन् अमिन खयाली। दाङको तुल्सीपुरमा जन्मेर जिन्दगी भर नेपालगंजमा पेन्टरको व्यवसाय गरेर बसेका ७६ वर्षिय अमिन खयालीलाई सियासी शायर (राजनैतिक विषयमा गजल लेख्ने कवि) मानिन्छ। भारतको बम्बै र लखनौसम्म्ा पुगेर नेपालमा लेखिएका उर्दू गजलको स्वर सुनाइसकेका खयाली नेपालगंज र आसपासका मुसायराहरुमा खोजिने प्रिय नाम हो। पंचायत काल होस् या विगतको द्वण्द्वकाल अथवा विभिन्न खाले सत्ताहरुको बोलबाला भएको समय होस् अमिन खयाली आफ्ना गजलद्वारा मान्छेको अहंकार र हठमाथि प्रहार गर्न कहिल्यै पछि परेनन्। उनको यो गजल पनि मुसायराहरुमा प्रायः फर्माइस भैरहन्छ :
तुम्हारे बाद तो सब कुछ नयाँ जरुरी है
नयाँ जहाँ नई आब व हवा जरुरी है
उठा चुका वो बहुत उँगलियाँ जमाने पर
अब उसके हात मेंँ भी आइना जरुरी है
बर्दियाको राजापुरमा जन्मेका मिट्ठनलाल गुप्त उर्दू साहित्यमा प्रकाश राजापुरीको नामले चम्किएका अग्रणी कवि हुन्। भारतको उर्दू साहित्यमा प्रायः कविले आफ्नो उपनामको पछाडि आफ्नो जन्मस्थलको नाम पनि जोडेर साहित्यिक नाम राख्दछन्। त्यही चलन पछ्याउँदै मिट्ठनलालले पनि आफ्नो उपनाम प्रकाश राखेर त्यसको पछाडि आफ्नो जन्मस्थललाई जोडे र प्रकाश राजापुरी बने। भारतमा उनी आफूलाई प्रकाश नेपालीको नामले चिनाउँथे। १९९६ सालमा जन्मेर २०६७ सालमा स्वर्गे भएका प्रकाश राजापुरी भारतको उत्तरप्रदेश उर्दू अकादमीद्वारा सम्मानित हुने प्रथम गैरभारतीय—गैरमुस्लिम गजलकार हुन् तर उनलाई नेपालले चिनेन। भारतका ठूलठूला शहरमा उनको सम्मानमा 'एक शाम—प्रकाश नेपाली के नाम' जस्ता कार्यक्रम भए तर नेपालका पत्रपत्रिकाले उनलाई प्रकाश राजापुरी नभै प्रकाश राजापुरे बनाएर एकाध पटक नाम बिगारेर छाप्नु बाहेक केही गरेनन्। तैपनि उनी जीवनभर मानवता, सामाजिक सद्भाव, भाइचारा र प्रेमका गजल लेखिरहेः
अपना गम देकर मुझे मेरी खुसी ले जाइए
एक जिन्दगी दे जाइए, एक जिन्दगी ले जाइए
आफ्नो दुख दिएर मलाई मेरो खुसी लैजाऊ भन्दै यसरी हार्दिकतापूर्वक गजल लेख्ने प्रकाश राजापुरीका गजल उनको निधनसितै हराएर गराएका छन्। उनका नेपाली गजलको सङ्ग्रह 'जीवनको मुस्कान' २०६२ सालमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानद्वारा प्रकाशित भयो तर उनका उर्दू गजल पुस्तकाकार रुपमा आउन सकेका छैनन्।
२०६० को दशकमा उर्दू गजलका केही सङ्ग्रह छापिए। नुर आलम मिकरानी सबैभन्दा बढी गजलसङ्ग्रह प्रकाशीत गर्ने शायर हुन्। उनका कुलयात—ए— आलम, तोहसा—ए—आलम, मिसाल—ए—आलम र वाग—व—बहार गरी चार ओटा गजलका सङ्ग्रह प्रकाशीत छन्। अब्दुल लतिफ शौकका 'महकते जख्म' र 'मता ए शौक' गरी दुई सङ्ग्रह प्रकाशित छन्। गजल उर्दूका भए पनि 'महकते जख्म' देवनागरी लिपिमा छ भने 'मता ए शौक' उर्दूकै लिपिमा छ। उनका खुद्रा शेर, जसलाई फर्द भनिन्छ, त्यसको सङ्ग्रह 'लफ्जो के मोती' पनि प्रकाशित छ। मुस्तफा अहसन अर्का सकृय शायर हुन्। उनको गजलसङ्ग्रह 'सोज ए दिल' ले पछिल्ल्ाो समय निकै चर्चा पायो।
'सिर्फ लफ्जो में बयाँ दर्द कहाँ होता है?
ये वह एहसास है जो दिल में बयाँ होता है
तू चला जाता है इतना भी करीब आ के कभी
हर कदम का तेरे इस दिल पे निशाँ होता है'
२०६३ सालमा नेपालगंको मुटुमा रहेको त्रिभूवनचोकस्थित राजा त्रिभूवनको शालीकलाई माओबादीले तोडेपछि क्षतिग्रस्त शालीकको मनोदशालाई व्यक्त गर्ने किसिमले गजल लेखेर उनी निकै चर्चामा आए।
'चेहरेको जख्मी किया बाजु को भी तोड दिया
पर वो न मिटा पाए होठों की तबस्सुम को'
उनीहरुले अनुहारमा घाउ बनाए, हातलाई पनि भाँची दिए तर उनीहरुले मेटाउन सकेनन् ओठको मुस्कानलाई। राजाबादी भनिने डरले यो गजललाई उनले आफ्नो सङ्ग्रहमा भने समावेश गरेनन्। अचेल मुस्तफा अहसन र जमिल अहमद हाशमीको जोडी नेपालंजको गजलमा सबैभन्दा सकृय छ। दुवै जना 'गुलजार ए अदब' को मञ्च मार्फत गजललाई जोगाउन लागिपरेका छन्।
'गुलजार—ए—अदब' ले नियमित रुपमा गजलगोष्ठी गर्दै आएको छ। उर्दू साहित्यकारहरुले साहित्य गोष्ठील्ााई केवल गजलसित मात्रै नजोडेर 'कसरुल्लेसानी बज्म ए अदब' (बहुभाषिक साहित्य गोष्ठी) नाम दिने गरेका छन्। जसमा सबै समुदायका कविहरु आउँछन्। आआफ्नो भाषा र विधाका रचना सुनाउँछन्। न त्यहाँ भाषण हुन्छ न कुनै विचार वा बादको बहस हुन्छ। केवल त्यहाँ आफ्ना रचनाको साहित्यिक औकात र स्तर कत्तिको छ? र त्यसलाई गहकिलो कसरी बनाउने? भन्ने बारेमा मात्रै सरोकार हुन्छ कविहरुको।
पछिल्ल्ाो पुस्ता उर्दू गजलबाट बिमुख जस्तै छ। रहमत अलि 'साहिर', युसुफ आरफी, अशफाक रसुल नेपालीजस्ता केही सिमित कवि मात्रै छन् गजल सिर्जनामा सकृय। नसीम कादरी, बाबु अलि शाह, कौशर नेपाली, हयात नेपाली, शहजाद फारुखी, सकिल अहमद 'सकिल', दीपक सल्मानी र मेराज सल्मानीजस्ता केही गायकहरु समारोह जमघटमा गजल गाएर गजल परम्परालाई जोगाइरहेका छन्। 'नेपालगंजको गजलको स्वर्णयुग इतिहास भैसक्यो' अमिन खयाली चिन्तित हुँदै भन्छन्।
उर्दु गजलको शास्त्रिय संस्कार पालना गर्ने कठोर बाटो धेरैका लागि रुचिकर छैन। गुरुशीष्य परम्पराको कठोर साधनामा हिड्ने धैर्यता अचेल कसैमा देखिन्न। चुटकिला, हास्यव्यङ्ग शैलीका गजल लेखेर सुनाएर हँसाएर रमाइलो गर्ने प्रवृत्तिले यहाँको उर्दू गजलमा पनि प्रवेश पाइसकेको छ। अब्दुल लतिफ शौक भन्छन् — अबको नेपालगंजको उर्दू गजललाई अगाडि बढ्न नयाँ खालका चुनौति थपिन लागेका छन्। पढेलेखेका पेशेवर मानिस साहित्यप्रति त्यति आकर्षित भएको पाइन्न। गजल समाजको निम्न वर्गमैं जमेको भिजेको देखिन्छ। अब्दलु लतीफ शौक सुनका कालिगढ हुन् भने अमिन खयाली पेन्टर। जमिल हाशमी खुद्रापसले हुन भने मुस्तफा अहसन दर्जीको काम गर्छन्। युसुफ आरफी मस्जिदका पुजारी हुन् भने कौशर नेपाली रिक्सा चलाउँछन्। प्रायःजसो हरेक गजलकार सानोतिनो गर्जो टार्ने पेशामैं छन् ।
बहु भाषा, बहु जाती, बहु धर्म र बहु संस्कृतिको थलो नेपालगंज प्रायः राजनितिक, सामाजिक र धार्मिक सद्भाव खलबलिने ठाउँका रुपमा बदनाम छ। समाजको आपसी सद्भावलाई बिगार्न भूमिका खेल्नेहरु थुप्रै छन् तर सद्भाव जोड्ने काममा भने उर्दू कविहरु मात्रै इमान्दारितापूर्वक लागेको देखिन्छ। पुरानो जमानामा नेपालगंजमा पहाड र तराईलाई जोड्ने मित्रतालाई 'खसयारी' परम्परा भनिन्थ्यो। खस (पहाडे) हरुसित मित्रता गरेर व्यापार चलाउन यहाँका व्यापारीहरुले यस शब्दको उत्पत्ति गरे पनि कालान्तरमा खसयारी परम्पराले यहाँका अनेक समुदायलाई एकआपसमा जोड्यो। अहिले 'खसयारी' परम्परा धानेर समाजलाई जोड्ने काम उर्दू कवि गरी रहेका छन्।
धार्मिक दंगा हुँदा होस् वा राजनैतिक हुलदंगा हुँदा होस् मानवताको दियो बाल्ने बेलामा यी शायरहरु नै अगाडि आउँछन्। २०६० को दशकमा नेपालगंजले कहिले साम्प्रदायिक दंगा झेल्यो, कहिले मधेश आन्दोलन त कहिले माओबादी यद्धका त्रासदी व्यहोर्योा। त्यो बेला सामाजिक सद्भाव जोड्न उर्दु शायरहरु नै अघि बढे।
जमिल अहमद हाशमीको यस शेरले भनेजस्तै नेपालगंजको इतिहासमा कयौं त्रासदीका घडीहरु आए गए तर गजल प्रेमको फूल बनेर सदा मुस्कुराइरहेकै छ, आशा र विश्वासको दियो जलाएर :
'फिर से गुलजार हो जायेगा ये उजडा चमन
फूल मेहनत के हथेली पे खिलाकर देखो'
प्रकाशित: ५ चैत्र २०७२ २१:५९ शुक्रबार





