३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

सुदूरबाट विनित विद्रोह

कविता कस्तो हुनुपर्छ वा कस्तो हुनुहुँदैन? कवितामा के लेख्ने र के नलेख्ने? कविता कस्का लागि लेख्ने? आदि वर्षौदेखि उठ्दै आएका उत्तरित तर विवादित प्रश्न हुन। ग्रीक विचारक प्लेटो कवि र कविताका विरोधी थिए।उनी कविलाई देशनिकाला गर्नुपर्ने तर्क राख्थे। उनका विचारमा कविताले उद्वेगहरूलाई सिञ्चित गराउँछ र यथार्थताबाट टाढा लैजान्छ। तर रोमन साम्राज्यमा कविलाई 'भेट्स्' अर्थात विचारक मानिन्थ्यो, अनि कवि र कविताको सम्मान गर्थे। स्वच्छन्दतावादी कवि पि.वि. शैलीले त कविलाई "अन्एक्नोलेज्ड लेजिस्लेचर अफ द वर्ल्ड" अर्थात विश्वका अवैधानिक विधायक भनेका छन्। अमेरिकी कवि रोबर्ट फ्रष्ट कविता विशेष ज्ञान दिएर अन्त्य हुनुपर्ने तर्क राख्छन्।

यी त भए केही पश्चिमेली विचारका कवि र कविताका बारेमा विचारहरू। नेपालको सन्दर्भमा पनि यतिबेला घनिभुत छलफलको विषय छ्र : कविता कस्तो हुनुपर्छ? उत्तर दिने प्रयास पनि गरिँदैछ। नेपाली कविता हुनुपर्छ 'नेपालीपन' उजागर गर्ने किसिमका हुनुपर्छ नकि पश्चिमा विम्व र संकेतको अतिशय प्रयोगबाट प्रताडित। कवितामा नेपाल हुनुपर्छ। माटोको गन्ध हुनुपर्छ। पाखो—पखेरो बोल्नुपर्छ। नसुनिएकाहरू सुनिनुपर्छ , नवाचिएकाहरू वाचिनुपर्छ।

यही उत्तरलाई मुर्तरुप दिन्छन् हेमन्त बिवशका कविताले। उनले पछिल्लो कविता सङ्ग्रह "सैपालको आँगन" (३४ कविता) मार्फत नेपालको सुदुरपश्चिम भेगमा प्रचलित विभिन्न धार्मिक साँस्कृतिक, ऐतिहासिक पहिचान व्यक्त गरेका छन्। उनका कवितामा सैपाल मुस्कुराइरहेछ, बछेडी खोला र सेती खोला सुसाइरहेकाछन्। धुर्कोट र खप्तड गर्विलो इतिहास बोकेर उभिरहेछन्। उनले यथार्थ लुकाउँदैन् , कमलरी र देउकीका विडम्बना समेत खोतलेका छन्। उनका कविता नारामात्र वा कुण्ठाको अभिव्यक्ति मात्र होइनन्।

विवसका कवितामा शब्दहरूले चित्र निर्माण गरेका छन्। वोधगम्य भाषामा समयवोध प्रतिविम्वित छ। उनका पात्र गरिव छन, तर स्वभिमानी छन्, भीख माग्दैनन् चाहे उनीहरू गरिवी, समस्या, अन्याय र एक्लोपनसँग साक्षात्कार गरिरहेका र पीडाका गीतहरू नै गाइरहेका किन नहुन्।

वीसौ शताब्दीका महान कवि तथा समालोचक टि. एस. इलियटले "ट्र्र्रेडिसन एण्ड इण्डिभिजुअल ट्यालेन्ट" निबन्धमा पराम्परागत ज्ञानकै सापेक्षतामा मौलिकताको अभ्युदय हुने तर्क गर्दै लेखेजस्तै हेमन्त परंम्परालाई विषेश्ा स्थान दिन्छन्। इलियटका श्ाब्दमा 'परम्परा एक विशेष महत्वको विषय हो, जुन पैत्रिक संपत्तिजस्तो एक पुस्ताबाट अर्को पुस्तामा सर्दैन। सो प्राप्त गर्न विशेष परिश्रम आवश्यक छ।' विवसले त्यो परिश्रम गरेका छन्। उनका कवितामा पुर्खौदेखिका ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भहरू, देउडा, धमारी, ठाडी, माघी, तेलेको लेक, वर्छयान, रिपुमल्लका पालाका माटाका भाँडाहरू, अर्जुन शाहीको शिला आदिलाई विम्वका रुपमा प्रयोग गरेका छन्। तर उनी परम्पराका अन्ध समर्थक होइनन् बरु विकृतिहरूको खुलेर विरोध गर्छन्। सुदुर पश्चिममा ब्याप्त अन्धविश्वासका कुरितीलाई हटाउनु पर्ने आवाज वुलन्द गर्छन्। झारफुक, धामी झाँक्री प्रथा, देउकी प्रथा, कमलरी प्रथाका विरुद्ध जोरले चिच्याउँछन्।

उनका कविताको सबैभन्दा गर्विलो पक्ष त उनी "सत्ता–प्रायोजित इतिहास" का विपक्षमा छन्। उनी सिमान्तकृतको वैकल्पित इतिहास लेख्न चाहान्छन्, नलेखिएको इतिहास लेख्न चाहन्छन्। शक्तिको आडमा लेखिएको इतिहासलाई प्रश्न गर्न चाहन्छन्। यस अर्थमा दार्शनिक मिसेल फुकोले भनेजस्तो उनी नवऐतिहासिक आन्दोलनका हिमायती बन्न पुगेका छन्। सुदुरपश्चिमका आम जनताको इतिहास एक अलिखित इतिहास हो। हलीको इतिहास अलिखित इतिहास हो, कमलरी र देउकीको इतिहास अफिसियल इतिहासमा अट्न सकेको छैन।

कवि विवश हलीलाई प्रमुख पात्र बनाएर लेख्छनः

हेर्न पनि हुन्न उसले साहुको घरको गोरस

रिसाउँछन् साहुका देवता : बिग्रिन्छ भैंसी

किनकि

ऊ पानी नचल्ने जातको मान्छे

ऊ हली।

"हली" नै शीर्षकको अर्को कवितामा अन्यत्र उनको पात्र हली भन्छः

हलो जोतेर सीता उब्जाउने

सीताको मन्दिरमा कहिल्यै जान नपाउने

म उही अभागी हली हुँ मालिक।

"सृृष्टिको पूर्ण आकार" भएर पनि सिमान्तकृत बनाइएका आमाहरू, "विद्रोहको आवाज" लिएर "समाजको ऐजेरुलाई" जरै देखि उखेल्न खोज्ने "भविष्यका आमाहरू," कविका पीडाहरू, परिश्रमी बाबाका पौरखी हातका कथाहरू पनि अटाएका छन् उनका कवितामा। सुदुरपश्चिमका साँस्कृतिक, भाषिक, धार्मिक सम्पदाप्रति गर्व गर्छन्। मानवताका गीत गाँउछन् उनका कविताका पात्र चाहे जतिसुकै दुःखमा परेका किन नहुन्। दुःखको उपल्लो अवस्थामा पनि आत्मा वेच्दैनन्, विचलित हुँदैनन्। बरु देउडा धमारी र ठाडी गाउँदै पिडालाई शक्तिमा वदल्न उद्दत रहन्छन्।

सधैँ चर्चामा रहने शहरलाई उनले "क्रोधपुर्ण ध्वनी निकाल्ने" अहंकारको नरसिंहा बजाउने एक विकृत आकृतिको रुपमा चित्रण गरेका छन। प्रेमदिवसलाई धनी र सभ्य कहलिएका सहरियाको दिवसका रुपमा चित्रण गर्दै स्थानिय रितिरिवाज हाम्रा गहना भएको तर्फ आवाज उठाएका छन्। विशेष धार्मीक, सास्कृतिक तथा ऐतिहासिक शब्दावलीको अर्थ सहित लेखिएका कविता नेपाली माटो र विशेषतः सुदुरपश्चिमका परिचायक कविता हुन्। उनका धेरैजसो कविता सिमान्तकृत वनाइएका कथा हुन्। उनका कविता आवाजविहिनहरूका पक्षमा उठाइएका आवाज हुन्ः हलीका, परिश्रमी बाबाका, देउकीका, कमलरीका, आमाका, बझाङ्गका, कर्णालीका अनि सैपालको आँगनका। सीमामा उभिएको मानिसले केन्द्रलाई दिने एउटा विनित र अहंकाररहित चेतावनी उनको कविताको मूल स्वर हो, जसको उत्कृष्ट उदाहरणका रुपमा यी हरफहरूलाई लिन सकिन्छः

मलाई थाह छ

माथि, महलबाट

तल, माटोमा उभिएको म हलीलाई

त्यति सजिलै देख्नुहुन्न

आखिर जेसुकै भए पनि

हजुरको गगनचुम्बी महल पनि त

माटोमै उभिएको छ।

भावना प्रधान विवशका कविताहरु दर्जनौं 'उपमा'ले भरिपूर्ण छन। समाजको पूर्ण चित्रण सम्भ्रान्तको दृष्टिकोण समेतबाटमात्र पूरा हुन्छ भन्ने सत्यतालाई आत्मसात गर्न सकेका भए सुनमा सुगन्ध हुने थियो कि? यपद्यी केन्द्रका बिरुद्वका सूदुरबाट गरिएको बिनित बिद्रोहको संग्रह अवस्य नै एक संग्रहणीय पुस्तक हो।

कृति : सैपालको आँगन

विधाः कविता

कृतिकार : हेमन्त विवश

प्रकाशकः स्कलर्स पब्लिकेशन 

प्रकाशित: ५ चैत्र २०७२ २१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App