नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा कार्यकर्ताहरूले संस्थापन पक्षविरुद्ध चर्को नाराबाजी गरेका छन्।
उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यालय सानेपा खाली गर्न चेतावनी दिँदै ‘सानेपा खाली गर, गगन दाई आउँदैछन्’ भन्ने नारा लगाएका हुन्।
संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको खबर सार्वजनिक भएसँगै विशेष महाधिवेशन स्थलको माहोल तातिएको छ।
आक्रोशित तथा उत्साहित कार्यकर्ताहरूले देउवा पक्षको निर्णयलाई चुनौती दिँदै गगन थापाको पक्षमा समर्थन जनाएका हुन्।
विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएसँगै हलमा नाराबाजी तीब्र भएको थियो।
महामन्त्री थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएको जानकारीपछि कार्यकर्ताहरूले अबको नेतृत्व गगन थापा भन्दै सानेपामा पुरानो नेतृत्वको दिन सकिएको सन्देशसहित नारा घन्काएका थिए।
कार्यकर्ताहरूले संस्थापन पक्षको कारबाहीलाई अस्वीकार गर्दै भृकुटीमण्डपबाटै नयाँ कांग्रेसको उदय भएको दाबी समेत गरेका छन्।
प्रकाशित: ३० पुस २०८२ १८:०३ बुधबार





