पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झन्डै साढे नौलाख हवाई यात्रु ओहोरदोहोर गरेका छन। पोखरासम्मको स्थलमार्ग सहज बन्दै गएपछि सन् २०२५ मा पोखराका हवाई यात्रु भने अघिल्लो वर्षको तुलनामा घटेका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुको आकार भने निकै नै कम रहेको छ।
विमानस्थलका अनुसार २०२५ का अन्तर्राष्ट्रिय उडानका यात्रुसंख्या जम्मा २ हजार ८ सय ८० जना रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सन् २०२५ मा सबैगरि ९ लाख ४६ हजार ७ सय ४५ जना यात्रुले विमानस्थल प्रयोग गरेका छन। यो मध्ये विदेशी यात्रुको संख्या भने जम्मा १ लाख ७६ हजार ५ सय ६७ रहेको छ। विदेशी यात्रुको संख्यामध्ये यो नै अहिलेसम्मको बढि हो।
विमानस्थलका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा सबैगरि १० लाख १९ हजार ९ सय १९ जना यात्रुलाई ओहोरदोहोर गरेका थिए। सन् २०२३ मा पोखराबाट ८ लाख ८२ हजार १ सय ५२ जना यात्रु ओहोरदोहोर गरेका थिए। ती सबै यात्रु आन्तरिक उडानका मात्र हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरी १ देखि संचालनमा आएको थियो। सन् २०२४ मा यात्रा गरेका १० लाख १९ हजार यात्रुमध्ये १ लाख ७३ हजार भने विदेशी यात्रु छन। २०२३ का यात्रु मध्ये १ लाख २५ हजार विदेशी यात्रु थिए।
पोखरामा अहिले दुइवटा विमानस्थल संचालनमा छन्। पोखराको पुरानो विमानस्थलबाट पनि उडान संचालन भईरहेको छ। तर पुरानो विमानस्थलबाट हुने उडान भने सीमित छ। पोखराको पुरानो विमानस्थलबाट जोमसोमको उडान मात्र संचालन हुन्छ। त्यस्तै हेलिकप्टर र अल्ट्रालाईट जहाज पनि पुरानै विमानस्थलबाट संचालन हुने गरेको छ।
विमानस्थलका प्रबन्धक सुर्य खत्रीले सन् २०२४ को तुलनामा २०२५ मा पोखराका हवाई यात्रुको आकार कम भएको बताए। ‘सन् २०२४ को तुलनामा २०२५ मा हवाइ यात्रु केही घटेका छन । पोखरासम्मको स्थलमार्ग सहज बन्दै जाँदा त्यसको प्रभाव हवाई यात्रामा देखिएको हो,’ खत्रीले भने, ‘पोखरा–काठमाडौंसम्मको स्थलमार्गको यात्रा अघिल्लो वर्षसम्म साह्रै सकसपूर्ण थियो । अहिले भने केही सहज बनेको छ।’
स्थलमार्ग सहज नहुँदा पोखरा आउने यात्रुहरुले सकसपूर्ण यात्रा गर्नुपरेको थियो। स्थलमार्ग सहज नभएपछि हवाई यात्राका यात्रु बढी भएको उनले बताए। ‘निर्माणाधिन पोखरा–मुग्लिन सडक अहिले सहज बनेको छ। मुग्लिन–काठमाडौंसम्मको बाटो सहज हुने हो भने हवाई यात्राका यात्रु अझै कम हुन सक्छन,’ उनले भने।
विमानस्थल संचालनमा आएको १५ दिनमै पोखरामा भएको जहाज दुर्घटनाका कारण सन् २०२३ मा पोखराको हवाई यात्रा केही खल्बलिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छोटो समयमै भएको दुर्घटनापछि पोखरासम्मको हवाई यात्राप्रति अविश्वास जनाउँदै यात्रुले यात्रा गरेका थिएनन्। तर केही महिनापछि गति लिँदै जाँदा हवाई यात्रु पनि थपिएका थिए।
बिस्तारको क्रममा रहेको पोखरा–मुग्लिन राजमार्गले पनि अघिल्ला वर्ष हवाई यात्रु बढाएको थियो। पोखरा–काठमाडौंसम्मको सामान्य अवस्थामा ६ घण्टामा पुरा हुने यात्रा राजमार्गको सास्तीका कारण १५–१६ घण्टासम्म लाग्ने गरेको थियो। तर, अहिले त्यो यात्रा अवधि झनै कम भएको छ।
पोखरा–मुग्लिन ९० किलोमिटर यात्राको अवधि बढीमा ३ घण्टामा पुरा हुनेमा बिस्तार चलिरहँदा ७–८ घण्टासम्म पनि लाग्ने गरेको थियो। त्यही सास्तीपूर्ण यात्राका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकतामा राखेका थिए। तर, अहिले राजमार्ग पुरा भएपछि पोखरा–मुग्लिन राजमार्गको यात्रा डेढघण्टामै पुरा हुने अवस्था आएको छ।
‘पोखरा पर्यटकीय सहर भएकोले पनि यात्रु संख्या धेरै छ। आन्तरिक पर्यटकको पोखरामा बाक्लै आउजाउ हुन्छ। काठमाडौपछि सबैभन्दा धेरै उडान र यात्रु पोखरासँग आउजाउ गर्छन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान पनि अझ बढाउन सक्ने हो भने पोखरासँगको यात्रुसंख्या अहिले भन्दा पनि निकै नै बढी हुनेछन।’
पोखरामा आन्तरिक उडान पछिल्लो समय निकै नै बढेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल भएकोले प्रविधिक रुपमा विमानस्थल आवश्यक परेमा कुनैपनि बेला संचालन गर्न सकिने अवस्था छ। पर्याप्त पूर्वाधारयुक्त विमानस्थल भएकोले राती अबेरसम्म र बिहान सबेरै पनि उडान हुने गरेका छन। ‘यात्रामा अप्ठेरो परेको बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राती २ बजेसम्म पनि उडान भयो। पुरानो विमानस्थलबाट राती अबेरसम्म उडान सम्भव थिएन,’ एकजना पर्यटन व्यावसायी भन्छन, ‘अन्तर्राष्ट्रिय उडानको आकार ठूलो नभएपनि स्तरीय आन्तरिक उडानको लाभ अहिले पोखराले लिएको छ। ’
अहिलेसम्म दिनहुँ जसो तालिका बनाएर अन्तर्राष्ट्रिय उडान त भएकै छैन, तर, आन्तरिक उडानमा भने पोखराले निकै नै फड्को मारेको ती व्यावसायीले बतए। पोखरासँगको हवाई सञ्जाल अन्तरिक रुटमा पनि बिस्तार भएको छ। विमानस्थलका अनुसार सिजनका बेला एकैदिन ४३ सयजति यात्रु ओहोरदोहोर गर्ने गरेका छन।
अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्जसम्म नियमित उडान भईरहेका छन्। पोखरामा अहिले यती र बुद्ध एयरले नियमित उडान गरिरहेका छन्। बुद्धले पोखराबाट काठमाडौं बाहेक नेपालगञ्ज, भैरहवा र भरतपुर नियमित उडान गरिरहेको छ। यतीले भने पोखराबाट काठमाडौंका लागि नियमित उडान गर्छ।
प्रकाशित: ३० पुस २०८२ १७:४३ बुधबार





