२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गगन र विश्वले कांग्रेसलाई खरानी बनाउने बाटो रोजे: महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनप्रति टिप्पणी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोजेको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक भएको बताएका हुन्।

उनले लोकतन्त्रको मर्म जोगाउन एकजुट हुनुपर्ने समयमा कांग्रेस विभाजित हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्। बस्नेतले लेखेका छन्, ‘लासहरूको पार्टी हैन कांग्रेस भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण छ।’

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्दै कांग्रेसमा बलियो अभिभावकत्वको अभाव खड्किएको औंल्याएका छन्।

‘केपी शर्मा ओलीले निरंकुशताको आरोप खेपेर भए पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय छ,’ उनले भनेका छन्, ‘बलियो एमाले र केपी ओलीजस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी नभएको अवस्थामा कांग्रेस विभाजनतर्फ धकेलिएको हो।’

लोकतन्त्र धरापमा परेको र विदेशी चलखेल बढेको अवस्थामा गगन थापा र विश्वप्रकाश शर्माको भूमिकाले स्थितिलाई सच्याउँछ कि अझै जटिल बनाउँछ भन्ने विषयमा इतिहासले समीक्षा गर्ने बस्नेतको भनाइ छ।

उनले आज कांग्रेसभित्र घटेको घटना लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक बनेको टिप्पणी गरेका छन्।

प्रकाशित: ३० पुस २०८२ १७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App