३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

विचलित कांग्रेस चुनाव र चरित्र

दिग्भ्रमित र विचलित नेपाली कांग्रेसको अर्को महाधिवेशन सम्पन्न भएको छ। सिद्धान्तच्युत प्रकृतिबीच निर्वाचन पनि भयो। केहीले जिते, धेरैले हारे। कुनै मुद्दा र विचारबिना उम्मेदवार बनेका थिए। प्रभाव र पहुँच, पैसा र शक्तिजस्ता आधारमा फैसला भएको छ। कोइराला र गैरकोइराला परिवार भन्ने मुद्दा सीमित मात्रामा उठ्यो। बीपी पुत्र डा. शशांक कोइराला महामन्त्रीमा विजयी भए। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको उनले विरोध गरे। उनको विरोधप्रति कांग्रेस प्रतिनिधि मतदाताको चासो रहेन। उम्मेदवारले वैचारिक बहसका लागि बाटो खुला गरे पनि अधिकांश (सबैजसो) प्रतिनिधि मतदाताले त्यसप्रति उदासीन भाव प्रकट गर्ने कांग्रेस चरित्र मुलुक र जनताका लागि कति लाभदायक होला? खुला प्रश्न छ।राजतन्त्र, एकात्मकता र हिन्दुत्व अनि मधेशको आवाज र नाकाबन्दी कांग्रेस महाधिवेशनमा मुखर भएर उठेनन्। कांग्रेसका महाधिवेशन प्रतिनिधिले यस्ता मुद्दालाई शक्ति केन्द्रहरूको जिम्मामा छाड्न नै उचित मानेको हुनुपर्छ। शक्तिकेन्द्रले नेतृत्वसँग 'डिल' गरेर फैसला लिने यस्ता मुद्दा वा कुनै पनि विचारधाराबारे कार्यकर्ता पंक्तिलाई कुनै चासो छैन भन्ने प्रकट भयो यसपटक पनि। वैचारिक बहसबाट टाढै रहने र शक्ति वा सत्ता हासिल गर्ने खेल महोत्सव बन्यो, कांग्रेसको तेह्रौँ महाधिवेशन। यसअघिका महाधिवेशन पनि फरक थिएनन्। यसपटकको महाधिवेशन कांग्रेस कार्यकर्ताको चरित्र उजागर गर्न फेरि सहायक बन्यो।

कांग्रेस कार्यकर्ताको हातमा देशको भविष्य (एमाले, एमाओवादी पार्टी कांग्रेसकै अनुसरणकर्ता हुन्) छैन। यो देशको भविष्य छिमेकी र विदेशी लगानीकर्ता, सुरक्षा संयन्त्रको हातमा रहेको प्रस्ट भएको छ। सन् १९९० पछि विश्वमा विचारधारा, सिद्धान्त वा दर्शन (साम्यवाद) को अन्त्य भयो भनिएको छ। वैकल्पिक विचारधारको अन्त्य भएकै हो र पुँजीवाद वा उदारवादको एकछत्र राज चलिरहेको छ। नेपालमा पनि यही भयो र यसकै प्रतिविम्ब कांग्रेसमा प्रकट भइरहेको छ बारम्बार तर पिछडिएको नेपाली समाज हुनाले विकृत रूपमा। पहिले प्रजातान्त्रिक र अहिले लोकतान्त्रिक समाजवाद प्रदीप गिरिको जिम्मामा छाडिएको छ। गिरिलाई केन्द्रीय नेतृत्वमा छनोट गरेर कांग्रेसजनले समाजवादलाई पनि 'स्पेस' दिएका छन्। रमाइलो विडम्बना के छ भने कांग्रेस पार्टीमा उदारवाद र समाजवाद, राजतन्त्र र गणतन्त्र, संघीयता र एकात्मकता, धर्मनिरपेक्षता र हिन्दुवाद सबैले स्पेस पाएका छन्। यही हो लोकतन्त्र! नवनिर्वाचित शेरबहादुर देउवा, लोकतन्त्रका नेपाली व्याख्याता रामचन्द्र पौडेलका निम्ति गर्व गर्ने विषय यही भएको छ। कांग्रेसजनको दायित्व वर्तमान सन्दर्भमा यति नै तोकिएको हुनुपर्छ, सो उनीहरूले पूरा गरिदिएका छन्।

वास्तवमा डा. शशांक कोइराला र खुमबहादुर खड्काले उठाइरहेका वा उठाउन खोजिरहेको बहस बढी महत्वपूर्ण छ। अन्य सदस्य पनि छन्, जो जुनसुकै प्यानलबाट र पराजित वा विजयी जो हुन्, यस्ता बहस चलाइरहेका छन्। ती विचार वा मुद्दाको फैसला कांग्रेसजन र महाधिवेशनले गर्दैनन्। फैसला गर्ने थलो कहाँ हो? यसको खोजी गर्नुपर्ने भएको छ। एमाले पार्टी देशमा विचारधाराको फैसला भइसकेको मुडमा छ। माओवादी आफ्ना भग्नावशेष जोड्नमै व्यस्त छ। यस अवस्थामा कांग्रेसभित्र विविध विचार उठिरहेका छन्। यिनको छिनोफानो छिट्टै हुनु जरुरी छ।

माओवादी वा कम्युनिस्ट एजेन्डा परित्याग गर्नुपर्ने आवाज कांग्रेसमा मसिनो स्वरमा सदैव उठिरहेको छ ०६३ सालपछि। यद्यपि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लोकतन्त्रकै एजेन्डा हुन् र त्यो कांग्रेसको नेतृत्वमै मुलुकमा स्थापित भएको भन्नेमा कांग्रेस मूल–प्रवाह विश्वस्त हुन चाहन्छ। २०६२/०६३ मा भूल भएको भन्नेमा माओवादीका वैद्य र विप्लव पक्षदेखि राजावादीका राप्रपा नेपालसम्मको स्वीकारोक्ति देखिन्छ। अग्रणी पार्टी भएको नाताले कांग्रेसमा त यो मुखर हुने भइहाल्यो। भूल कहाँ र कसरी भयो? अब त्यसलाई कसरी सच्याउन सकिन्छ? यस्तो बहस कांग्रेस महाधिवेशनमा पनि नहुने भएपछि मधेश आन्दोलन र नाकाबन्दी, सेना परिचालन हुन तयार रहेको सन्देश र विप्लव माओवादीको सशस्त्र आन्दोलनको धम्कीबीच समाधान खोजिन सक्छ। यी विकल्पहरू मूलधारका लागि अत्यन्त अप्रीतिकर छन्। त्यसैले मूलधारको पुरानो पार्टी कांग्रेसको नेतृत्वले विकल्प दिए लोकतन्त्रको जीवन धरापमा पर्ने थिएन। आम कांग्रेसजनले मतदान गर्ने कर्तव्य पूरा गरे। अब त्यो मतदानबाट आएको नेतृत्वले दायित्व लिनुपर्ने भएको छ।

गिरिजाप्रसाद कोइरालाको निर्णय उहाँकै भतिज डा. शशांकलाई बिलकुल अपाच्य रहेछ। कांग्रेस पुरानै ठाउँमा फर्कन चाहन्छ। ज्ञानेन्द्रले नयाँ ठाउँमा आउन बाध्य पारेको कांग्रेस पार्टी क्रमशः २०४७ सालको संविधानको भावनामा फर्किन चाहन्छ। ज्ञानेन्द्रले पारेको बाध्यता समयसँगै निर्मूल हुँदो छ एवं प्रचण्ड र ओलीहरू क्रमिक रूपले कमजोर हुँदै छन्। अन्ततः मौका अनुकूल पारेर कांग्रेस आफ्नै एजेन्डामा फर्किनुपर्छ। १३ औँ महाधिवेशनले परोक्ष सन्देश यही दिएको हो कि? जति नै विचलनमा परे पनि अन्ततः व्यक्ति, पार्टी, देश र दुनियाँ सिद्धान्तमै फर्कन्छन्। उदारवादी सिद्धान्तमा चलिरहेका अमेरिका, युरोपदेखि छिमेकी भारतसम्म र हाम्रै मधेशदेखि अन्य मुद्दा सिद्धान्तभित्रै समाधान भइरहेका छन् र हुनेछन्। नेपालमा वा कांग्रेस पार्टीमा भएजस्तो दिग्भ्रमले समस्या सिर्जना गरेको छ। वैकल्पिक विचारधारा साम्यवाद ओझेलमा परेको हो। स्वयं विचारधाराको अन्त्य मानव समाज रहेसम्म कहिल्यै हुने छैन। आम कांग्रेसजनले जस्तो निर्णय दिए पनि कांग्रेस नेतृत्वले देशलाई संकटबाट पार लगाउँदै सुस्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा राखिएको छ।

प्रकाशित: ४ चैत्र २०७२ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App