ललितपुर—प्रहरीले महिला दिवसका दिन एक विदेशी नागरिकको निवासमा मादक पदार्थ सेवन गरी तोडफोड गरेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चितवन घरभई भनिमण्डलमा बस्ने कुसुम लामालाई नियन्त्रणमा लिएर थुनामा राखेको हो।परिसरका अनुसार कुसुमका पति अनुप गुरुङ अमेरिकी नागरिक क्लिम एन्चेनको घरमा निम्तालु भएर गएका थिए। एन्चेनको घरमा कार्यक्रम भइरहँदा अत्यधिक मादक पदार्थ सेवन गरी पुगेकी कुसुमले श्रीमान् अनुपसँग झगडा गर्न सुरु गरेकी थिइन्। झगडाले उग्ररुप लिएपछि एन्चेनले अनुपलाई एउटा कोठामा बन्द गरेर प्रहरीलाई खबर गरेका थिए। कोठाभित्र थुनिएकी उनले प्रहरी पुग्ने समयसम्म कुसुमले इँटाले घरका विभिन्न स्थानमा तोडफोड गरिसकेकी थिइन्।
परिसर प्रमुख पिताम्बर अधिकारीले विदेशी नागरिकको निवेदनमा प्रहरी घटनास्थल पुगेर ती महिलालाई नियन्त्रणमा लिएको बताए। उनले श्रीमान्–श्रीमतीबीच समस्या भए शान्त भएर घरका कोठामा सुल्झाउनु पर्नेमा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गरेकाले कारबाही गरिएको बताए।
प्रकाशित: २६ फाल्गुन २०७२ ०४:३५ बुधबार