३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

कांग्रेससँग तर्क छैन

कांग्रेसको तेह्रौँ महाधिवेशनको मूल प्रश्न के हो ? मिडियामा चलेका बहस र चर्चा सुन्दा खास गरी दुइटा प्रश्न उठेका देखिन्छन् । पहिलो, कांग्रेस हाँक्ने नयाँ नेतृत्व को हुने ? दोस्रो, युवा नेतृत्वले यो महाधिवेशनमा हस्तक्षेपकारी भूमिका खेल्न सक्छ कि सक्दैन ?


कोइराला 'डाइनेस्टी'को विरासत धान्ने दाबीसहित मैदानमा उत्रिने उम्मेदवार तीनजना देखिए– रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइराला । आफूलाई सभापतिको स्वाभाविक दाबेदार ठान्ने शेरबहादुर देउवा स्वतः उम्मेदवार हुने नै भए । कोइराला 'डाइनेस्टी'का सदस्यहरू पनि खेलको रिङभन्दा बाहिर छैनन् । डा. शशांक कोइराला र डा. शेखर कोइरालाको साथ पाएर रामचन्द्र पौडेल आफू संस्थापन गुटको आधिकारिक उम्मेदवार भएको आत्मविश्वास प्रदर्शन गरिरहेका छन् । उता कृष्ण सिटौला र सुजाता कोइरालाको दाबी पनि छ"दै छ । स्पष्ट छ, यिनैमध्ये एकले कांग्रेसको भविष्य हाँक्ने जिम्मेवारी पाउनेछन् ।

बूढाहरूले मृत्युपर्यन्त पार्टी ओगट्ने पद्धतिको विरोध गर्दै युवा नेतृत्वले पार्टी हाँक्नुपर्ने दाबी प्रस्तुत गर्ने युवा नेताले पनि यो महाधिवेशनमा भिन्न खालको आत्मविश्वास प्रदर्शन गरेका छन् । गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेलले त वैचारिक अवधारणा नै अघि सारे । झापाका विश्वप्रकाश शर्माले पनि आफ्ना धारणा अखबारमार्फत सार्वजनिक गर्दै महाधिवेशनमा वैचारिक बहस छेडेका छन् । त्यसैगरी चन्द्र भण्डारी र बद्री पाण्डेले गुटगत लडाइँको विरोधमा स्वतन्त्र राजनीतिक संघर्ष गर्ने उद्घोष गरेका छन् । उमेरले युवा तर विचारले बूढाहरूकै परम्परावादी विचारको ढ्वाङ्ग्रोमा पसेर बेपत्ता हुने रोगले धेरै कथित युवा नेतालाई बूढो तुल्याएको इतिहास कांग्रेसमा छ । अहिले पनि युवा नेता कुनै न कुनै गुटको लिस्नोबाट शक्तिमा उक्लने दौडमा छन् । के उनीहरूले आफ्नै गुटको नेतालाई वैचारिक रूपमा नेतृत्व गर्न सक्छन् ?

कांग्रेसभित्र दार्शनिक ठानिने नेता प्रदीप गिरिले भर्खरै भनेका छन्, 'कांग्रेसमा गुट होइन, गिरोहहरू छन् ।' कांग्रेसको वैचारिक स्खलनका सवालमा यो निकै नै कडा अभिव्यक्ति हो । सभापतिको रेसमा रहेका कुनै पनि नेताले नेपालको वर्तमान अवस्था, जटिलता र ती चुनौती सामना गर्ने राजनीतिक वैचारिक रणनीतिका बारेमा कुनै विचार पस्केका छैनन् । आफ्नो आधिकारिक वैचारिक लाइन प्रजातान्त्रिक समाजवाद हो भन्ने कांग्रेसले विगतमा नवउदारवाद र खुला बजार अर्थतन्त्रलाई आधिकारिक अर्थनीति बनाएको सर्वविदितै छ । यो वैचारिक विरोधाभासलाई चिर्ने कुनै तर्क यतिखेर कांग्रेससँग छैन । मधेश, थरुहट, जनजाति, आदिवासी, दलित, महिलाका सन्दर्भमा उसले विगतमा लिएको प्रतिगामी अडानका सन्दर्भमा कांग्रेसमा कुनै बहस देखिँदैन । संविधान कार्यान्वयन गर्ने क्रममा आउने अनेक बाधा र तिनलाई पार लगाउने वैचारिक हतियारका बारेमा पनि कांग्रेसमा बहस छैन । गगन थापा, विश्वप्रकाश शर्माहरूले केही वैचारिक कुरा गर्ने कोसिस अवश्य गरे तर कांग्रेसभित्र ती कुराले बहसको रूप लेलान् भन्नेमा शंका छ ।

आखिर देश हाँक्ने भविष्य बोकेको पार्टी वैचारिक बहसबाट कोसौँ पर भएपछि नेतृत्वको लडाइँ पनि कतै गिरोहकै लडाइँ त हुने होइन ? शंका गर्ने ठाउँ प्रशस्त छ ।

(अम्मर जिसीको कुराकानीमा आधारित)

प्रकाशित: २१ फाल्गुन २०७२ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App