२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:९ पूर्वाह्न
अन्य

अर्कैको जग्गा बेच्नेलाई ६ वर्ष कैद

पोखरा– अर्कैको जग्गा आफ्नो भनी झुक्याएर बेचेको आरोप लागेका कृष्णबहादुर श्रेष्ठलाई दोषी ठह¥याउँदै कास्की अदालतले ६ वर्ष कैद र ४ लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।श्रेष्ठलाई सहयोग गरेकी अनीता शर्मा १ वर्ष कैद र ४ लाख ७५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको न्यायाधीश नरिश्वर भण्डारीको इजलासले मालपोत र नगरपालिकाका कर्मचारीलाई सजाय सुनाएको छ।

जिल्ला मालपोत कार्यालय कास्कीका तत्कालीन अधिकृत केशव भट्टराई, कर्मचारीहरु लक्ष्मी पौडेल, खेमनारायण पौडेललाई १ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना भएको अदालतका से्रस्तेदार दीनबन्धु बरालले जानकारी दिए । उनका अनुसार किर्ते नागरिकता र लालपुर्जा बनाउन सिफारिस गरेको हुँदा पोखरा उपमहानगरपालिका – ८ का वडा सचिव दीपबहादुर कोइरालालाई ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला भएको छ।

केही कर्मचारीले भने सफाई पनि पाएका छन् । पोखरा उपमहानगरपालिकाकी अधिकृत कल्पना बरालसहित १० जनाले भने सफाई पाएको स्रेस्तेदार बरालले जानकारी दिए । सीता गुरुङ, मञ्जु गुरुङ, नीलबहादुर कार्की, हेमकुमार तिमिल्सिना, मदनकुमार पौडेल, कृष्ण पनेरु, शिवप्रसाद पौडेल, दीपक शर्मा र ईन्द्र शर्माले सफाइ पाएका हुन् ।

कृष्णबहादुर श्रेष्ठ र उनकी सहयोगी अनीता जिल्ला अदालतको २०७० मंसिर १४ को आदेशले पुर्पक्षका लागि थुनामै थिए। स्याङ्जा जगतभन्ज्याङका रंगप्रसाद श्रेष्ठको पोखरा–८ जाल्पारोडस्थित ११ आना जग्गा कृष्णले आफू रंगप्रसाद बनी पर्वत तिलहारका रत्नबहादुर खत्रीलाई असोज २१ गते बिक्री गरेका थिए। कृष्णबहादुरलाई प्रयोग गरी ठग योजनाकारले ९५ लाख रुपैयाँमा जग्गा बेचेका थिए। मालपोतको रेकर्डमा भने २७ लाख रुपैयाँमा जग्गा किनबेच भएको देखिन्छ। २०७० असोज २१ गते किनेको जग्गामा ठगी भएको भेउ पाएपछि क्रेता रत्नबहादुरले कात्तिक १५ गते वास्तविक धनीका नाममा फिर्ता गरिदिएका थिए। उनैले आफू ठगिएको थाहा पाएपछि खोजबिन गर्दै जाँदा वास्तविकता सार्वजनिक भएको थियो।

रंगप्रसादकै नाममा नागरिकता बनाई जग्गा बिक्री गरेको थाहा भएपछि प्रहरीले २१ जनाविरुद्ध मुलुकी ऐन ठगीको १ र ४ महलअनुसार हदैसम्मको कारबाही माग गर्दै २०७० मंसिर ११ मा मुद्दा दायर गरेको थियो। काठमाडौंमा मजदुरी गरी जीवनयापन गर्दै आएका काभ्रे बन्थलीका कृष्णबहादुरलाई जग्गाधनी रंगप्रसाद बनाई भएको ठगीका वास्तविक योजनाकारलाई भने प्रहरीले पक्रिसकेको छैन। मुख्य योजनाकारहरुले जग्गाधनी रंगप्रसाद श्रेष्ठले स्याङ्जाबाट २०३६ सालमा लिएको नागरिकता बनाई रंगप्रसादको नाममा कृष्णबहादुरको फोटो टाँसेर जग्गा कारोबार गराएका थिए।

जग्गाधनी रंगप्रसाद नेपालमा नभएको सुइँको पाएको ठग गिरोहले मजदुरी गर्ने कृष्णलाई प्रयोग गरेको हो। तर, प्रहरीले गिरोहको सट्टा गठीमा प्रयोग भएका कृष्णबहादुलाई मात्रै पक्रन सक्यो। फोटोबिनाको लालपुर्जा भए जग्गा कारोबार गर्न मालपोतले स्थानीय निकायबाट पहिचान खुलाएको सिफारिस माग्ने गरेको छ। पोखरा–८ को वडा कार्यालयले कृष्णबहादुर श्रेष्ठको फोटो टाँसी उनलाई रंगप्रसाद भनी नगरपालिकामा सिफारिस गरेको थियो। त्यसकै आधारमा नगरपालिकाबाट सिफारिस भई आएका कागजात र नागरिकता हेरी मालपोतले जग्गा पास गराएको थियो। वडा कार्यालयले जग्गाको हालसाविक मुचुल्का तयार पर्दा राखेका ६ जना साक्षी पनि यो मुद्दामा तानिएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७२ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App