दाङ– उधारो रक्सी नदिएको झोकमा रुकुममा एक युवतीको हत्या भएको छ। रक्सी नदिएको झोकमा बलात्कारको योजना बुनेका स्थानीय तीन युवाले रुकुम खालागाउँ ५ की १७ वर्षीया सुस्मीता शाहीको हत्या गरेका हुन्।

यस्तो थियो घटना
गत माघ १० गते घर नजिकैको सामुदायिक वनबाट दाउरा लिएर फर्किंदै गरेकी रुकुम खारागाउँ ५ की १७ वर्षीया सुस्मीता शाही मृत भेटिइन्। छाँगोबाट घिसँ्रदै तल खसेको अवस्थामा शव भेटिनु प्रहरीले हत्या आशंका ग¥यो। सोही अनुसार अनुसन्धान कार्य अघि बढायो । झण्डै डेढ महिनापछि प्रहरीले अनुसन्धान पुरा गर्यो, 'उधारो रक्सी नदिएका कारण पसल साहुनी सुस्मीताको हत्या भएको रहेछ।'
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी रुपेश खड्काका अनुसार १० माघ गते दिउँसो सुस्मीताको पसलमा गाउँकै तीनजना युवा रक्सी पिउँदै थिए । उनीहरुले पोकामा पाईने रक्सी ६, ७ पोका पिइसकेका थिए। उनीहरुले रक्सी थप्न खोजे। तर, पैसा थिएन। रकम नभएकाले उनीहरुले थप रक्सी उधारोमा मागे। तर सुस्मीताले उधारो दिन मानिनन् । त्यसैको रिसमा ती युवाहरुले उनको हत्या गरेको खड्का बताउँछन्।
'रक्सी उधारो नदिएका कारण युवतीको हत्या भएको रहेछ,'उनले नागरिकसंग भने 'रक्सीले मातेका उनिहरुले थप रक्सी मागेपछि युवतीले नदिएको भनेर अभियुक्तहरुले बयान दिएका छन् ।'
सुस्मीताले उधारोमा रक्सी नदिएपछि ती युवाहरुले उनको पीछा गरे । सोही दिन बेलुकी सात बजेतिर जंगलबाट दाउरा लिएर आउँदै गरेकी सुस्मीता बाटोमै रहेको रुखमा बिसाईन् । त्यही बेला ती युवाहरुले घाँटीमा बेरिएको सल समातेर ताने। सुस्मीता छाँगाबाट तल खसिन् । 'बाटोमा रहेको एउटा रुखमा बिसाइरहेको बेला ती केटाहरुले दुपट्टा समातेर तान्दा उनी छाँगाबाट खसिछन्,' खड्काले भने ।
डिएसपी खड्काका अनुसार ती युवाहरुको उद्देश्य हत्याभन्दा बलात्कार गर्ने थियो । उनीहरुले दिएको बयान उदृत गर्दै खड्काले भने, 'हामीहरु बलात्कार गर्ने योजनाका साथ पिछा गरेका थियौ,ँ तर केटी बेहोस भएपछि बलात्कार गरेनौ भनेका छन्।' छाँगाबाट तल खसेकी सुस्मिता बेहोस अवस्थामा भएपछि उनिहरुको बलात्कार गर्ने योजना तुहिएको खड्का बताउँछन्। बेहोस भएको देखेर अत्तालिएका उनीहरुले आफुहरु फस्ने डरले मारेर सिध्याऔँ भन्ने योजनामा पुगेका थिए। 'ती युवती बेहोस भएपछि फस्ने डरले उनीहरुले मारेरै घटना खत्तम पारौँ भन्ने योजना बनाएका रहेछन्,' खड्का भन्छन्, 'त्यसपछि उनीहरुले त्यही सलले घाँटी कसेर मारेका रहेछन्।'
ती युवतीको हत्यामा संलग्न तीनै जना घटनापश्चात फरार थिए। घटनाका मुख्य अभियुक्त यमबहादुर नेपालीलाई उनकै ससुरालीमा लुकेर बसेको अवस्थामा फेला पारेपछि प्रहरीले उनीसँगकै अनुसन्धानका क्रममा थप दुईजनालाई नियन्त्रणमा लिएको थियो । 'घटना भएपछि उनीहरु फरार थिए,' डिएसपी खड्का भन्छन् 'रुकुममै आफन्तीको घरमा लुकेर बसेको अवस्थामा तीनैजनालाई समात्न सफल भयौँ ।'
प्रहरीले उनीहरुलाई सर्वश्वसहित जन्मकैदको सजायका लागि मुद्दा दर्ता गर्न लागेको पनि उनले जानकारी दिए ।
प्रकाशित: १८ फाल्गुन २०७२ ०७:११ मंगलबार





